उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण

Read Time = 3 mins

सोल । उत्तर कोरियाले पुनः लामो दूरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृंखला जारी राखेको छ । पाँच दिनको अन्तरालमा बिहीबार गरिएको प्रक्षेपण तेस्रो हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरेको ठानिएको छ ।

‘हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्र वरपरबाट प्रक्षेपण गरिएको एउटा लामो दूरीको ब्यालिस्टिक मिसाइल पत्ता लगाएको छ’, दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एएफपीलाई भन्नुभएको छ । उहाँका अनुसार बिहीबार प्रक्षेपण गरिएको क्षेप्यास्त्र इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल हो । उक्त क्षेप्यास्त्रलाई उच्च गतिमा प्रक्षेपण गरिएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा राष्ट्रपति युनले जापान र संयुक्त राज्य अमेरिकासँग त्रिपक्षीय सहयोग सुदृढ गर्न आहृवान गर्दै उत्तर कोरियाले विवेकहीन गतिविधिको मूल्य चुकाउनुपर्नेछ बताउनुभयो । जापानको मन्त्रिपरिषद् कार्यालयले उक्त क्षेप्यास्त्र छ हजार किलोमिटरभन्दा बढी उचाइमा पुगेको जनाएको छ । प्रधानमन्त्री फुमियो किशिदाले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वको अपरिहार्यतामा जोड दिँदै पछिल्लो घटनाक्रमबारे राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीसँग परामर्श गर्ने बताउनुभएको छ ।

जापानमा कोरियाली नेताले लामो समयदेखिको दुई देशबीचको तनावपूर्ण कूटनीतिक सम्बन्ध सुधारको प्रयास गर्नुहुने बताइएको छ । पैँतीस वर्ष लामो औपनिवेशिक शासनमा जापानी पक्षबाट भएका अत्याचारका कारण सोल र टोकियोबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन । रासस÷एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?