क्रिकेटरहरू गृहनगरमा सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको छ । विराटनगरस्थित शहीद रंगशालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवैजनालाई जनही एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी मुलुकको गौरव भएकाले उनीहरूको संरक्षण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । महानगरपालिका प्रमुख कोइरालाले खेलको माध्यमबाट विश्वमा मुलुकको नाम राख्न सकिन्छ भन्ने कुरा क्रिकेट खेलाडीले देखाएको उल्लेख गर्नुभयो ।

यस्तै, राष्ट्रिय क्रिकेट टिमका खेलाडीत्रय दीपेन्द्रसिंह ऐरी, भीम सार्की र सन्दीप जोरालाई गृहनगर भीमदत्त नगरपालिकामा सम्मान गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले एक कार्यक्रमबीच खेलाडीलाई जनही एक लाख ५१ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । उहाँले राष्ट्रिय टोलीमा रहेर विश्वकप क्रिकेटको छनोट चरणमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै खेलाडीको प्रोत्साहनस्वरूप नगरपालिकाले सम्मान गरेको बताउनुभयो ।

जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले नगरपालिकाको सहयोगले क्रिकेट खेलाडीलाई क्रिकेटप्रति थप प्रेरित हुन सहयोग पुगेको बताउनुभयो । त्यसैगरी बिहीबार नै खेलाडीलाई यहाँको लिटिल बुद्ध एकेडेमीले पनि नगदसहित सम्मान गरेको छ । विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनी र व्यवस्थापन समितिका अध्यक्ष प्रेम खातीलगायतले खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?