रवि सूर्य नेपाल च्यालेन्जको शीर्षस्थानमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको छैटौँ प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जमा रवि खड्का शीर्षस्थानमा उक्लन सफल हुनुभएको छ । प्रतियोगिताको तेस्रो दिन उहाँ १-अण्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३-अण्डर २०१ सहित शीर्षस्थानमा उक्लिनुभएको हो ।

पहिलो दिनका लिडर उहाँले साबिक विजेता भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्नुभएको छ । १-अण्डर ६७ सहित समग्रमा १-अण्डर २०३ को स्कोरमा भुवन दोस्रो स्थानमा रहनुभएको छ । २-ओभर ७० मा तेस्रो दिनको खेल सक्नुभएका भुवनकुमार रोक्का समग्रमा इभन-पार २०४ सहित तेस्रो स्थानमा हुनुहुन्छ । एमेच्योर खेलाडी सद्भाव आचार्यले २-ओभर ७० मा खेल सक्नुभयो । समग्रमा १-ओभर २०५ को नतिजामा उहाँ चौथो स्थानमा रहनुभयो । एमेच्योरतर्फ उहाँ शीर्षस्थानमा रहनुभएको छ ।

दिनेश प्रजापती समग्रमा २-ओभर २०६ सहित पाँचौँ स्थानमा रहनुभएको छ । उहाँले ३-ओभर ७१ मा खेल सक्नुभयो । नेपालको नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले खराब प्रदर्शन गर्दै ४-ओभर ७२ मा खेल समाप्त गर्दा समग्रमा ३-ओभर २०७ सहित छैटौँ स्थानमा झर्नुभयो । एमेच्योरतर्फ सुवास सद्भावभन्दा दुई स्ट्रोकले पछि पर्नुभएको छ ।

समग्रमा ६-ओभर २१० स्कोर जोडेका दीपक मगर र धनबहादुर थापाले संयुक्तरूपमा सातौँ स्थान बाँड्नुभयो । दीपकले ७-ओभर ७५ र दोस्रो दिनका लिडर धनले ९-ओभर ७७ को बिर्सनलायक प्रदर्शन गर्नुभयो । यसैगरी जयराम श्रेष्ठ (६७), सञ्जय लामा (७०), शिवराम पौडेल (७२) र एमेच्योर खेलाडी युवराज भुजेल (७२) संयुक्तरूपमा नवौँ स्थानमा हुनुहुन्छ । उहाँहरूले समग्रमा ८-ओभर २१२ स्कोर गर्नुभयो ।

रविले फ्रन्ट नाइन इभन-पार ३४ मा सक्नुभयो । उहाँले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्दा आठौँ र नवौँ होलमा बोगीको सामना गर्नुभयो । यसपछि १०औँ, १३औँ र १७औँ होलमा एक-एक सट बचाउनुभयो । तर, ३-पारको १२औँ होलमा डबल बोगी खेप्दा ब्याक नाइन १-अण्डर ३३ मा सक्नुभयो ।

भुवनले चौथो र आठौँ होलमा बर्डी प्रहार गर्नुभयो । सातौँ र नवौँ होलमा एक–एक सट खेर फाल्दै फ्रन्ट नाइन इभन-पार ३४ मा सक्नुभयो । ब्याक नाइन १-अण्डर ३३ मा पूरा गर्ने क्रममा १०औँ, १२औँ र १४औँ होलमा तीन बर्डी प्रहार गर्नुभयो । यस्तै, ११औँ र १७औँ होलमा एक-एक सट प्रहार गर्नुभयो ।

सद्भावले पहिलो होलमा बर्डी प्रहार गर्नुभयो । नवौँ होलमा एक सट खेर फालेर फ्रन्ट नाइन इभन-पार ३४ मा सक्नुभयो । ब्याक नाइन भने नाटकीय बन्यो । ११औँ होलमा एक सट खेर फाल्दा ५-पारको १३औँ होलमा इगलको सफलता प्राप्त गर्नुभयो । तर, ३-पारको १५औँ होलमा ट्रिपल बोगी खेप्नुभयो । १७औँ होलमा एक सट बचाए पनि १८औँ होलमा बोगी प्रहार गर्नुभयो ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० प्रोफेसनल र ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । कुल पाँच लाख ४५ हजार नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले उपाधिसँगै एक लाख प्राप्त गर्नेछ । दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?