भृकुटीमण्डपमा पुष्पमेला

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा पुष्पमेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल(फयान)को आयोजनामा सुरु भएको २४ औँ फ्लोरा एक्स्पो शुक्रबार उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र यथास्थितिमा रहन नसक्ने भन्दै सुधारका लागि सरकारले गृहकार्य सुरु गरिसकेको बताउनुभयो ।

अहिलेको राष्ट्रिय कार्यभार मुलुकलाई समृद्ध र विकासशील बनाउने रहेकाले त्यसका लागि सरकार, निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रको उत्तिकै भूमिका रहने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘तीनखम्बे अर्थ नीतिअनुसार सबै क्षेत्रलाई समेटेर अघि बढ्न सरकार तयार छ । अहिलेको आर्थिक समस्यालाई सरकारले निजी क्षेत्रको मात्र समस्याका रूपमा लिएको छैन । यो समग्र देशकै समस्या हो । यसलाई सबैले मिलेरै समाधान गर्नुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले उठाएका विषय र सरकारलाई दिएका सुझाव समयमै कार्यान्वयन हुन नसक्दा समस्या आएको बताउनुभयो । फयान नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएकाले आयात बढ्न गएको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको भन्दै उहाँले परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि बिनाधितो कर्जाको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

२० गतेसम्म सञ्चालन हुने एक्स्पोमा व्यावसायिक स्टल ६२, ल्याण्डस्कोपिङ स्टल तीन, अफिसियल स्टल १०, प्रतियोगितात्मक स्टल तीन र दुईवटा फुडसहित ८० स्टल रहेको आयोजकले जनाएको छ । एक्स्पोमा मौसमी फूल, फुल्ने तथा नफुल्ने आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबीजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ सामग्रीलगायतका स्टल रहेको एक्स्पो संयोजक शिवबहादुर खड्काले बताउनुभयो । नर्सरी व्यवसायीद्वारा उत्पादित आलंकारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैंचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट आठ विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?