गभर्नरसँग पूर्वाग्रह नराखी काम गर्ने अर्थमन्त्रीको भनाइ

Read Time = 3 mins

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाहको विषयमा विश्लेषण गर्न नगद प्रवाह योजना तर्जुमा समिति बनाउने निर्णय गर्नुभएको छ । शुक्रबार पद तथा गोपनीयताको शपथसँगै मन्त्रालयमा अर्थमन्त्रीको कार्यभार सम्हाल्दै उहाँले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को व्यवस्थाअनुसार नगद प्रवाह योजना तर्जुमा समिति बनाउने पहिलो निर्णय गर्नुभएको हो ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा बन्ने तदर्थ समितिमा महालेखा नियन्त्रण कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख, राजस्व व्यवस्थापन महाशाखा प्रमुख, अन्तर्राष्ट्रिय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सदस्य रहनेछन् । सरकारको कोषको अवस्था र सरकारको नगद प्रवाह विश्लेषण गर्दै सरकारी स्रोतबारे सुझाव दिने काम समितिले गर्नेछ ।

साथै मन्त्री महतले व्यावसायिक वातावरण सुधार गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग कुनै पूर्वाग्रह नराखी काम गर्ने बताउनुभएको छ । पदबहालीपछि मन्त्रालय र मातहतका कर्मचारीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री महतले भन्नुभयो, ‘तपाईंहरू सबैसँग कुनै पूर्वाग्रह नराखी सँगसँगै काम गरौँ भन्ने आग्रह छ, अहिले हामीले व्यक्तिगत लाभ र हानिभन्दा माथि उठ्दै राष्ट्र हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ ।’

अहिले अर्थतन्त्र समस्यामा रहेकाले आमनागरिक, उद्योगी व्यवसायी सबैको मनोबल बढाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । अर्थमन्त्री महतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मिलेर काम गर्न आग्रह गरेलगत्तै गभर्नर अधिकारीसँग बैठक गर्नुभएको छ । महतले अर्थ सचिव, राजस्व सचिव र गभर्नर अधिकारीसँग पछिल्लो आर्थिक अवस्थाका विषयमा छलफल गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?