कांग्रेस नेता निधीको प्रश्न : निजामती कर्मचारीकोे ठाउँमा लोकसेवा कर्मचारी किन नभन्ने ?

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले निजामती सेवाको नाम फेर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित स्थानीय तह कर्मचारी युनियन, नेपालको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता निधीले निजामती सेवाको नाम फेर्नुपर्ने बताउनुभएको हो ।

उहाँले आफू सामान्य प्रशासनमन्त्री भएको बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएको बताउनुभयो । लोकसेवा आयोगले कर्मचारी भर्ती गर्ने हुँदा लोकसेवा कर्मचारी भन्न सकिने उहाँको भनाइ थियो । ‘मैले मन्त्रालयमा कार्यभार सम्हाल्दा ऐन बनाउने बेलामा दुईवटा कुराको चर्चा गरेको थिएँ । निजामती शब्द किन राख्ने ? म त देशको प्रशासन प्रणाली र कानुनबाट निजामती शब्द नै हटाउन चाहन्थेँ,’ उहाँले भन्नुभयो, ‘लोकसेवा आयोगको नाम निजामती सेवा आयोग किन छैन ? मेरो प्रश्न छ । यदि लोकसेवा आयोग पनि राष्ट्रसेवक कर्मचारीहरूकै लागि हो भने निजामती सेवाको ठाउँमा लोकसेवा कर्मचारी किन नभन्ने ? सार्वजनिक सेवा किन नभन्ने ? मैले सामान्य प्रशासनमन्त्री हुँदा चेन्ज गरौँ भनेँ । मैले भनेँ, प्रशासनविद्हरूलाई आफ्नो नाम चेन्ज गर्नुस् । मर्यादित नाम खोजौँ ।’

उहाँले निजामती शब्द उर्दूबाट आएको उल्लेख गर्दै निजामको अर्थ ‘राजा’ हुने बताउनुभयो । राजाको सेवामा खटिनेहरूलाई ‘निजामती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएको उहाँले उल्लेख गर्नुभयो । ‘निजामती उर्दूबाट आएको हो । फारसीबाट आएको हो । अरबबाट आएको हो । निजाम भनेको पहिले-पहिलेको जमानामा राजालाई भनिन्थ्यो । निजाम भनेको शासक हो । हैदराबादमा मुस्लिम शासनको बेलामा निजामको शासन थियो,’ उहाँले भन्नुभयो, ‘राजाका लागि खटिने कर्मचारीहरू र कारिन्दाहरू क्रमशः विकसित हुँदै त्यो निजामती सेवा भयो । निजामती होइन, ‘निजामती’ उच्चारण त्यो हो ।’ नेता निधीले राजनीतिज्ञ र कर्मचारीहरूको सहकार्य सफल भए देश र जनताले प्रगति गर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थिरताका लागि पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेता निधीले स्थानीय तहका कर्मचारीहरू र निजामती सेवाबाट आएका कर्मचारीहरूबीचमा द्वन्द्व देखिएको गुनासो आएको भन्दै द्वन्द्वको निराकरण गर्न राजनीतिक तह प्रतिबद्ध रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?