बारा-२ उपनिर्वाचनः जितको खोजीमा पराजितहरू

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा रोचक भिडन्त हुने भएको छ । वैशाख १० मा हुने उपचुनावमा ‘हेभिवेट’ मानिएका उम्मेदवारहरूबीच बारामा रोचक भिडन्त हुने भएको हो । बारा-२ बाट प्रतिनिधीसभा सदस्य निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो । बारा-२ सहित चितवन-२ र तनहुँ-१ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।

बाराको उपचुनावमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि उम्मेदवार हुने चर्चा छ ।

त्यस्तै, जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने भएको छ । उहाँ बिहीबारमात्रै नेकपा (माओवादी केन्द्र)बाट जनमत पार्टीमा प्रवेश गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । रोचक त के छ भने बारा-२ मा उम्मेदवार बन्ने लगभग तय भएका यी चारैजना गत मंसिरमा भएको निर्वाचनमा पराजित भएका थिए । आ–आफ्नो निर्वाचन क्षेत्रमा पराजित चारैजना संसद् छिर्ने छाउमा बारातिर लागेका छन् ।

कुशवाहा सोही क्षेत्रमा, यादव सप्तरी-२ र महतो सर्लाही-२ बाट पराजित हुनुभएको थियो । रास्वपाबाट उम्मेदवार हुने सूचीमा रहनुभएका खरेल पनि गत निर्वाचनमा काठमाडौं-१ बाट पराजित हुनुभएको थियो ।

यादव मंसिर ४ को निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग झण्डै दोब्बर मतान्तरले पराजित हुनुभएको थियो । महतो गत निर्वाचनमा माओवादी केन्द्रको हँसिया हथौडाबाट चुनाव लड्नुभएका नेपाल समाजवादी पार्टीका एक अध्यक्ष महिन्द्रराय यावदसँग पराजित हुनुभएको थियो भने कुशवाहा गत निर्वाचनमा जसपा नेता रामसहाय यादवसँग पराजित हुनुभएको थियो । खरेल भने काठमाडौं–१ मा चौथो हुनुभएको थियो ।

एमालेले उम्मेदवार तय गरिसकेको छैन भने नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले जसपालाई समर्थन गर्ने सम्भावना छ । गत निर्वाचनमा बारा–२ मा कांग्रेसले माओवादी उम्मेदवारलाई सघाएको थियो । यसपाली कांग्रेसले जसपा अध्यक्ष यादवलाई सघाउने निश्चित छ । यसबारे आधिकारिक निर्णय हुन भने बाँकी छ । तर, कांग्रेसका एक केन्द्रीय पदाधिकारी बारा–२ मा कांग्रेसले यादवलाई सघाउने बताउनुहुन्छ । उहाँका अनुसार केन्द्रीय गठबन्धनअनुसार बारामा कांग्रेसले जसपालाई सघाउने भएको हो । उपनिर्वाचन हुन लागेका चितवन–२ र तनहुँमा भने कांग्रेसले उम्मेदवार तय गरिसकेको छ ।

कसलाई कति सहज ?
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार बारा-२ मा कुल एक लाख पाँच हजार २४८ मतदानमा छन् । जुन गत निर्वाचनको भन्दा २३७ मतदाता बढी हो । आगामी वैशाख ९ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिले उपनिर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
गत मंसिरमा भएको निर्वाचनमा बारा-२ मा २१ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये चारजनाले १० हजार बढी, एकजनाले सात हजार र दुईजनाले हजार मत कटाएका थिए । बाँकीले हजार मतसमेत कटाउन सकेनन् ।

विजयी जसपाका रामसहाय यादवले १३ हजार ८२२ मत प्राप्त गर्नुभएको थियो । उहाँलाई नेकपा (एमाले)को साथ थियो । उहाँका निकटतम् माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहा (जो हाल उम्मेदवार हुँदै हुनुहुन्छ)ले १३ हजार ४६८ मत प्राप्त गर्नुभएको थियो । यादव र कुशवाहाबीच जम्मा ३५४ को मतान्तर थियो । कुशवाहालाई कांग्रेसको पनि साथ थियो । बाराका कांग्रेस नेताहरूका अनुसार कुशवाहाले पाएको मतमा माओवादीको भन्दा कांग्रेसको मत धेरै थियो । कांग्रेसबाट विद्रोही उम्मेदवार बन्नुभएका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५० र अरुणकुमार ज्ञवालीले ६९८ मत ल्याउनुभएको थियो । जनमत पार्टीका उम्मेदवार राजेश साहले दुई हजार ७२५ मत प्राप्त गर्नुभएको थियो ।

गत निर्वाचनको मत परिणाअनुसार जसपा अध्यक्ष यादव बलियो दाबेदार देखिनुभएको छ । उहाँलाई कांग्रेसको समेत साथ रहनेछ । जसपाले गत चुनावमा पाएको मत (एमालेबाहेक) र कांग्रेसको मत जोड्दा उहाँको बलियो सम्भावना छ । तर, सप्तरीबाट पराजित भएको पाँच महिनामै बारा छिर्नुभएका यादवलाई मतदाताले कसरी लिन्छन् भन्ने कुराले धेरै कुरा निर्धारण गर्नेछ । गत चुनावमा दोस्रो हुनुभएका कुशवाहा यादवको मुख्य प्रतिस्पर्धी हुने गत निर्वाचनको परिणामले देखाउँछ । तर, लोसपा वरिष्ठ नेता महतो पनि मधेशमा ‘हाइप्रोफाइल’ नेता भएकाले उहाँको मतले पनि प्रभाव पर्नेछ । अर्को कुरा एमालेले उम्मेदवार चयन गर्नै बाँकी छ । एमालेले कस्तो उम्मेदवार उठाउँछ भन्ने कुराले पनि निर्वाचन परिणाम निर्भर रहनेछ । स्वतन्त्र पार्टीका उम्मेदवार खरेल पनि राजनीतिकरूपमा राम्रै छवि भएको हुनाले उहाँको ‘इन्ट्री’ले चुनावी प्रतिस्पर्धा थप रोचक हुने विश्वास गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?