कथा : भुस्याहा कुकुर

हिमालय टाइम्स
Read Time = 18 mins

✍️ सपूत कार्की

आज साँझदेखि नै कुकुरहरू भुक्न थालेका छन् । उनीहरूलाई संसारसँग कुनै मतलब छैन । भुक्नु नै उनीहरूको दैनिकी हो । समयको कुनै सीमा छैन । रात, दिन, बिहान, साँझ सबै उनीहरूका लागि अनुकूल छ । कहिले रातमा जून हेरेर भुक्छन् र शान्ति खलबल्याउँछन् । कहिले दिनमा सूर्य हेरेर भुक्छन् र मान्छेहरूको दैनिकीमा खलल पुर्‍याउँछन् । वर्षातको समयमा पनि भुक्छन् र वर्षातको आनन्दलाई आघात पुर्‍याउँछन् । यस व्यवहारबाट कुकुरका मालिक हैरान छन् । अब त हुँदाहुँदा भनेको पनि टेर्न छाडिसके । उनीहरूका आफ्नै नेता छन् । ठूलो डाँगो कुकुर कतैबाट खोजेर ल्याए । उसले ङ्यार्र गर्‍यो भने सबै चुप हुुन्छन् । मालिकलाई भन्दा डाँगोलाई बढी आदर-सत्कार र महत्व दिन्छन् ।

मालिक पुराना दिनहरूमा फर्किन्छन् । गाउँभरिमा भुस्याहा कुकुरको बिगबिगी । टोक्यो कि रेविज लाग्ने डर । मानिसहरूको डरैडरमा बाँच्नुपर्ने अवस्था । आफ्नै समाजमा पनि कुकुरहरूको डर, त्यो पनि भुस्याहा कुकुरहरूको । समाजमा एक किसिमको आतंक नै फैलियो । गाउँलेहरूले भेला गरे- अब त केही गर्नैपर्ने भयो यसको निराकरण र निर्मूलन गर्नका लागि । गाउँभरि नै सूचना प्रसारण गरियो । सामाजिक भेलामा सबै तहका मानिसहरूको भेला भयो । कुनै पनि घरका व्यक्तिहरू सायद छुटेनन् होला । यस भेलामा विशेष गरेर महिला र केटाकेटीहरूको उपस्थिति बाक्लो थियो । वास्तवमै सबैभन्दा बढी पीडित कोही थिए भने महिला र केटाकेटी नै थिए ।

उनीहरूलाई अन्य सबल पक्षहरूको दाँजोमा अलि बढी नै आक्रमण हुन्थ्यो । गाउँकोे सबैभन्दा बुज्रुक व्यक्तिको अध्यक्षतामा सामाजिक भेलाको सुरुवात भयो । सबै व्यक्तिले पालैपालो गाउँमा भएका भुस्याहा कुकुरको आतंकका सम्बन्धमा तर्कहरू पेश गरे । यस समस्याको निराकरण र निर्मूलनका लागि सुझावहरू पेश भए । गाउँबाट कुकुर निकाला गर्नेदेखि कुकुर मार्ने र उपचार गर्ने लगायतका एक दर्जनभन्दा बढी सुझाव र सल्लाहहरू प्रस्तुत भए । सबै सल्लाह र सुझावमा उत्तिकै दम थियो । किनकि त्यस आतंकबाट सबै बच्न चाहन्थे । तर, भेला एकपक्षीय थियो । किनभने कुकुरहरूको पक्षबाट बोल्ने र बचाउ गर्ने कोही थिएनन् । भेला धेरै लामो समयसम्म चल्यो । तर, कुनै पनि निष्कर्षमा पुग्न सकेन ।

एउटा सुझावलाई अर्को सुझावले काट्थ्यो । भेलामा विभिन्न पक्षका विचारहरूको प्रस्तुतिले भेला भाँडिन सक्ने अवस्थामा पुग्यो । भेलामा उपस्थित भएका व्यक्तिहरूका बीच नै असमझदारी झन्-झन् बढ्दै गयो । निचोड निस्कने सम्भावना कम देखिँदै गयो । केटाकेटी र महिलाहरूको उपस्थिति बाक्लो भए तापनि उनीहरूको विचारले भने खासै प्राथमिकता पाएको थिएन । भेलामा बढ्दै गएको असमझदारी र निस्कन नसकेको निचोडले गर्दा महिला र केटाकेटीहरू भने अझ बढी चिन्तित थिए । भेलाका प्रमुख पनि निचोड निस्कन नसकेकोमा चिन्तित थिए । भेला चलिरहेको अवस्थामा एक्कासि उनी कड्किए- ‘अब यसरी व्यक्ति-व्यक्तिले दिएको विचारबाट भेला निचोडमा पुग्न सक्तैन । भेला सुरुवात भएको पनि धेरै समय भयो । तसर्थ अब म एउटा पाँच सदस्यीय समिति बनाउँछु । त्यसको सिफारिसबाट यस भेलाको निचोड निकालिनेछ । यो नै सबैका लागि मान्य हुनेछ । के छ यसमा सबैको विचार ?’

सबै व्यक्तिले पालैपालो गाउँमा भएका भुस्याहा कुकुरको आतंकका सम्बन्धमा तर्कहरू पेश गरे । यस समस्याको निराकरण र निर्मूलनका लागि सुझावहरू पेश भए । गाउँबाट कुकुर निकाला गर्नेदेखि कुकुर मार्ने र उपचार गर्ने लगायतका एक दर्जनभन्दा बढी सुझाव र सल्लाहहरू प्रस्तुत भए ।

भेला लामो भएकाले सबै दिक्क र आजित भइसकेका थिए । तसर्थ सबैले यस कुरामा सहमति जनाए । पाँच सदस्यीय समिति बन्यो । भेलाभन्दा अलि पर गएर छलफल गर्न र निचोडका लागि सिफारिस गर्नका लागि समयसीमा पनि तोकियो ।

भेलाले सिफारिस गरेको समितिको बैठक सुरु भयो । बैठकमा सबैले आ-आफ्ना जोडदार तर्कहरू प्रस्तुत गरे । यहाँ पनि एकमत हुने कुनै सम्भावना देखिएन । समितिमा भएको तर्क र सुझावले विस्तारै-विस्तारै उग्र रूप लिन थाल्यो । सबैजना आफ्नो तर्क नै सबल भएको र आफ्नो सुझाव नै लागू हुनुपर्ने कुरामा अडिग भए । उता भेलामा रहेका अन्य व्यक्तिहरू भने व्यग्रताका साथ राम्रो सुझाव र सल्लाह पाउने कुरामा ढुक्क भएर बसेका थिए । तर, समितिमा निष्कर्ष आउनुको सट्टा समिति नै भाँडिने अवस्थामा पुग्ने जस्तो देखिन थाल्यो । भेलामा भएका अन्य व्यक्तिहरूको धैर्यको बाँध टुट्न लाग्यो । चाँडो गर्नुपर्‍यो भन्ने दबाब आउन थाल्यो । तर, यता भने कोही कसैसँग गल्ने अवस्थामा थिएनन् । अन्त्यमा समितिका पाँचजनाबीच एउटा सहमति बन्यो- भेला प्रमुखले जे निर्णय दिन्छन्, त्यो सबैका लागि मान्य हुने ।

भेला भएको स्थानमा समितिका पाँचैजना आएर आफ्नो निर्णय सुनाउन लागे । सबै व्यक्तिहरू खुसी भए राम्रो सुझाव आउन लाग्यो भनेर । त्यसमध्ये एउटा पाको व्यक्तिले पाँचैजनाको समितिको निर्णय वाचन गर्न लाग्यो-‘हामी पाँचजना भए तापनि दस प्रकारका विचारहरू आए । सबै विचारहरू उत्तिकै महत्वका र विचारयोग्य थिए । त्यसैले हामी एउटामात्र विचारको नजिक पुग्न सकेनौँ । अन्त्यमा हामीले एउटा निर्णय भने सर्वसम्मत तरिकाले गर्‍यौँ । यो निर्णय नै हामीलाई उचित लाग्यो । यसमा भने हामीले एकमत भएर सहमति जनायौँ र त्यो निर्णय भेलालाई सुनाउन आयौँ ।’

त्यस कुराले भेलामा राम्रो उत्सुकता जाग्यो । सबै मुखामुख गर्न लागे । सबैको अनुहारमा खुसी फैलियो । चारैतिरबाट आवाज आयो- ‘लौ चाँडै निर्णय सुनाउनुपर्‍यो ।’

सबैजना निर्णय सुनाउन लागेको व्यक्तिको अनुहारतर्फ हेर्न थाले । वाचनकर्ताले फेरि थोरै भूमिका बाँध्दै भन्यो- ‘मैले अघि नै पनि भनिसकेँ हामी पाँचजना भए तापनि विचारहरू दस प्रकारका आए । तसर्थ निचोडमा पुग्नैपर्ने बाध्यताले गर्दा हाम्रो समितिले भेलाप्रमुखलाई नै निर्णय गर्ने अधिकार दिने र भेलाप्रमुखले गरेको निर्णय नै अन्तिम हुने भन्ने कुरा सिफारिस गरेका छौँ ।’

यस कुराले भेलामा आएका सबैजना खिस्रिक्क भए । भेलामा एकछिन मौनता छायो । सबैजना एक-अर्काको मुख हेर्न लागे । भेलामा छलफल अगाडि बढ्न सकेन । चिन्ताको कालो बादल मडारिन थाल्यो । मौनतालाई भंग गर्दैै भेलामध्येका समितिको पाको व्यक्तिले उठेर भेलाप्रमुखलाई ढिलो नगर्न र आफ्नो निर्णय सुनाउन अनुरोध गर्‍यो र आफूहरूले एकै मतले कुनै सुझाव दिन नसकेकोमा माफीसमेत माग्यो । चारैतिरबाट आवाज आयो- ‘हो हो, ढिलो नगरौँ । अब निर्णय सुनाउनोस् ।’

समय धेरै ढिलो भएकाले भेलाप्रमुख उठे । उनले भेलाको चारैतिर हेरे, सबैसँग आँखा जुधाए र सबैले मौन स्वीकृति दिएको अनुभव गरे । भने– ‘मलाई एकल निर्णय सुनाउने इच्छा त थिएन तर भेलाको चाहना र पाँच सदस्यीय समितिको सिफारिसका कारण यो एकल निर्णय सुनाउन बाध्य भएको छु । आशा छ यसमा सबैको स्वीकृति हुनेछ ।’
भेलाबाट एकै स्वरमा आवाज आयो- ‘हो हो, हाम्रो स्वीकृति नै छ ।’

त्यसपछि उनले कुनै लामो भूमिका नबाँधी भने- ‘हाम्रो समाजमा भुस्याहा कुकुरहरूले निकै दुःख दिए । साँच्चै भनौँ भने भुस्याहा कुकुरहरूको यहाँ बिगबिगी नै छ । तसर्थ मैले सबै भुस्याहा कुकुरहरूलाई गाउँ निकाला गर्ने निर्णय गरेको छु ।’

सबैले जोडदार ताली पिटे । ‘राम्रो निर्णय आयो’ भनेर खासखुस गर्न थाले । एकछिन राम्रो निर्णय आएको खुसियालीमा मौनता छायो । त्यही मौनताबीच एकजना व्यक्ति उभिएर भन्यो- ‘यो निर्णयमा मेरो सहमति छैन । एकपक्षीय निर्णय गर्न पाइँदैन । कुकुरहरूको पक्षमा बोल्ने कोही छैन भन्दैमा गाउँ निकाला जस्तो अव्यावहारिक निर्णयप्रति म घोर आपत्ति जनाउँछु र असहमति जाहेर गर्दछु । म यस निर्णयको पक्षमा छैन । यो निर्णय लागू गर्ने हो भने म कुकुरहरूको पक्षबाट लड्नेछु । गाउँ निकाला भने हुनै दिन्नँ ।’

सबैले उसलाई सम्झाउने कोसिस गरे । तर, ऊ टसको मस भएन । आखिरमा भेलाले एकै मतको निर्णय पाउन सकेन । भेला भाँडिने अवस्थामा पुग्यो । भेलाप्रमुखले भोलि पुनः यसै स्थानमा जम्मा हुने र छलफल अगाडि बढाउने निर्णयसहित आजको भेला समाप्त गरे ।
भोलिपल्ट फेरि हिजोको सहमतिअनुसार भेला बस्यो । सबैले हिजो भेलाप्रमुखले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए । सबैजना एकातिर र ऊ एक्लै अर्कातिर भए तापनि ऊ गलेन । आज पनि भेलाले लामो समय लियो तर उसले आफ्नो हठ छाडेन । सबैले बारम्बार सम्झाउँदा–बुझाउँदा र धम्की दिँदासमेत पनि उसले टेरेन । अन्त्यमा लाचार भएर सबैले भने- ‘त्यसो भए यसको जिम्मा तिमीले लिनुपर्दछ । सबै भुस्याहा कुकुर तिमीले पाल्नुपर्दछ । समाजमा कुनै घटना घटे त्यसको जिम्मेवार तिमी हुनुपर्दछ । के यसमा तिम्रो मञ्जुरी छ ?’

उसले गर्वका साथ भन्यो- ‘हो, मेरो मञ्जुरी छ । सबै कुकुरहरू म पाल्छु । सबैको उपचार म गर्छु । समाजमा कुनै नराम्रो घटना घट्न दिन्नँ । यो मेरो पूर्ण जिम्मेवारी भयो । म यस कुराको ग्यारेन्टी गर्दछु ।’

यी कुराहरू भनिरहँदा ऊ अलि आवेशमा र भावनात्मक पनि थियो । उसका कुराहरू सिद्धिएपछि सबैले सहमति जनाए । त्यस दिनदेखि सम्पूर्ण कुकुरहरूको जिम्मेवारी उसैकोमा गयो । त्यसपछि भेला समाप्त भयो । उपस्थित भएकाहरूमध्ये कसैले शंका र कसैले सन्तोष व्यक्त गरे । जे होस्, भेलाले अन्तिम निर्णय भने पायो ।

त्यस दिनदेखि उसको सामाजिक जिम्मेवारी बढ्यो । सबै भुस्याहा कुकुरहरूलाई उसले बास बस्ने व्यवस्था गर्‍यो । दैनिक खानेकुराको जोहो गर्न थाल्यो । उपचारको वातावरण मिलायो । अब भुस्याहा कुकुरको स्याहारसुसार र खानपिनको व्यवस्था नै उसको दैनिकी बन्यो ।

समय बित्दै गयो । भुस्याहा कुकुरहरू पनि उचित व्यवस्थापन, खानपिन र उपचारले हृष्टपृष्ट हुँदै गए । हिजोसम्म भुस्याहा भनिएकाहरू अब कोको, लोमा, बेन्जी जस्ता नामले पुकारिन थाले । समयका साथसाथै भुस्याहाहरू भुस्याहा रहेनन्, उच्च जातका डाँगाहरू बन्न पुगे । यसबाट मालिक पनि पूर्णरूपमा सन्तुष्ट र खुसी थियो । चारैतर्फबाट उसको प्रशंसा हुन थाल्यो ।

तर, विस्तारै समयचक्रसँगै कुकुरहरूको व्यवहारमा परिवर्तन आउन थाल्यो । मालिकसँगको कुकुरहरूको सम्बन्ध चिसो हुँदै गयो । मालिकले भनेको कुरा कुकुरहरूले टेर्न छाडे । एक दिन त मालिक अचम्म नै पर्‍यो । कुकुरहरूको हुलमा अपरिचित एउटा डाँगो कुकुर देखा परेको थियो । हिजोसम्म मालिकसँग लुटुपुटु गर्ने कुकुरहरू अब डाँगोसँग लुटुपुटु गर्न थाले । पहिले मालिकसँग डराउँथे, अब डाँगोसँग डराउन थाले ।

मालिकले ती कुकुरहरूलाई पुरानै अवस्थामा ल्याउन निकै प्रयास गर्‍यो तर कुकुरहरू मालिकको खाना खान्थे, त्यहीँ बस्थे, इशारामा चल्थे र खुसी भने डाँगोसँग हुन्थे । जतिसुकै प्रयास गर्दा पनि मालिक असफल भयो ।

एक दिन उसले सबै कुकुरहरूलाई भेला गर्‍यो र भन्यो- ‘आजदेखि तिमीहरू स्वतन्त्र भयौ । अब तिमीहरूप्रति मेरो कुनै दायित्व रहेन । तिमीहरू आफूखुसी जेसुकै पनि गर्न सक्छौ ।’

यसो भनेर उसले सार्वजनिक स्थलमा ल्याएर कुकुरहरूलाई छाडिदियो । डाँगोको नेतृत्वमा सबै कुकुरहरू पछिपछि लागे । ऊ दुखित मन लिएर घर फर्कियो । उसले एउटा जिम्मेवारीबाट मुक्ति त पायो तर पनि ऊ दुखी थियो ।

विस्तारै खानपिन, स्याहारसुसार र उपचारको कमीले कुकुरहरू पुरानै अवस्थामा पुगे । कोको, लोमा, बेन्जी आदिबाट भुस्याहा कुकुरमा परिणत भए । फेरि समाजमा भुस्याहा कुकुरको आतंकको सुरुवात भयो । मालिकका बारेमा चारैतर्फबाट विरोध सुरु भयो । एक दिन फेरि समाज भेला भयो । यसपटकको भेलामा धेरै विचारहरू आएनन् । छोटै समयमा भेला सकियो र एउटै विचार आयो- कुकुरको मालिकलाई कारबाही गर्ने ।

भेलापछि सबैजना कुकुरका मालिकको घरमा गए । सबैमा एक किसिमको आक्रोश थियो । घरमा ढोका लागेको थियो । सबैले बोलाए । कुनै आवाज आएन । ढोका फोरेर भिड घरभित्र पस्यो । कोठा खाली थियो । एउटा कागजमा ठूलो अक्षरमा लेखिएको थियो– ‘भुस्याहा कुकुरलाई सुधार्न खोज्नु मेरो भूल थियो । मैले गाउँ छाडिसकेँ । त्यसका लागि क्षमा चाहन्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?