पुस्तक : राधादेवीको ‘समय चक्र’

Read Time = 8 mins

✍️ सुशीला घिमिरे

जेपी मैत्री सेवाआश्रमबाट सेवा लिइरहेकाहरूमध्ये मैले एकजना महिलालाई पनि देख्ने गरेको थिएँ । उहाँको अनुहार मेरो सम्झनामा आइरहेकै थियो । यस्तै बेला मेरा हातमा एउटा पुस्तक पर्‍यो, त्यो फोटो देख्दा मैले उहाँ आश्रममा बसिरहनुभएकी महिला भएको थाहा पाइहालेँ । प्राध्यापनबाट सेवानिवृत्त बहुमुखी व्यक्तित्व हुनुहुँदो रहेछ उहाँ भन्ने जानकारी पनि मैले यही पुस्तक पढेपछि थाहा पाएँ । राधादेवी शर्मा चालिसेको यो पुस्तक संस्मरण विधा हो र पुस्तकको शीर्षक रहेको छ ‘समय चक्र’ । घोस्टराइटिङ नेपाल नयाँ बानेश्वर काठमाडौं प्रकाशक रहेको यस पुस्तकको सम्पादन गर्नुभएको छ यशोदा तिम्सिनाले ।

पुस्तकको यो पहिलो संस्करण हो जुन २०७९ साल कात्तिकमा प्रकाशित भएको छ । अर्थात् पुस्तक केही महिनाअघि मात्र छापिएको हो । पुस्तकको सर्वाधिकार लेखिकामै रहेको छ । डिएमआई साइजको यस पुस्तकको लेआउट नरेन्द्र लामा (स्याङ्बो) को रहेको छ भने आवरण तस्बिर विनोद कार्कीले तयार पार्नुभएको छ । पुस्तकको आवरण डिजाइन भने सौरभ सापकोटाको रहेको छ । पुस्तक भूमिकाखण्ड, पाठ्यखण्ड र अन्तिममा राखिएका तस्बिरहरूसमेत २४४ पृष्ठको छ । यस पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ । पुस्तक पहँेलो हलुका कागजमा छापिएको छ । छपाइ स्तरीय छ तर कतै कतै अशुद्धिहरू भने भेटिन्छन् ।

पुस्तकको आवरण पनि सुन्दर छ । पुस्तकको शीर्षकअनुसार माथि गोलाइभित्र विधा सूचक ‘संस्मरण’ भनिएको छ भने आवरणको पृष्ठभूमि गाढा नीलो रङमा छ । बीचमा समयसूचक घडी वा सूर्यजस्तो लाग्ने गोलाकार रहेको छ र यसभित्र ठूला सेता अक्षरमा ‘समय चक्र’ भनिएको छ । तल पुस्तककी लेखिका ‘राधादेवी शर्मा चालिसे’ नाम साना पहेँला अक्षरमा लेखिएको छ । पुस्तकको पृष्ठ आवरण पनि गाढा नीलो छ । माथि लेखिका राधादेवी शर्मा चालिसेको फोटोसहित नाम दिइएको छ भने बीचमा साना सेता अक्षरमा उहाँको एउटा छोटो भनाइ दिइएको छ र तल प्रकाशक संस्था घोस्टराइटिङ नेपालको लोगोसहित नाम दिइएको छ भने यससँगै पुस्तकको बारकोड रहेको छ ।

राधादेवी शर्माले जीवनमा कालो बादलले नपाएको दुःख पाउनुभएको छ र तिनै दुःख र हण्डरहरूको संगृहित पन्तुरो हो यो पुस्तक । यति धेरै दुःखसँग सामना गरेर पनि चौतर्फीरूपमा आफूलाई चिनाउन सक्ने बहुमुखी व्यक्तित्व राधा शर्माको प्रशंसा गर्नैपर्छ ।

भित्र भूमिकाखण्ड र पाठ्यखण्डमा पुस्तक विभक्त छ । समर्पणबाट सुरु भएको भूमिकाखण्डमा त्यसपछि घोस्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल (लेखन कुञ्ज) को ‘समय चक्र’ शीर्षकमा प्रकाशकीय रहेको छ । त्यसपछि केदारभक्त माथेमाको ‘शुभकामना’, प्राडा विद्यानाथ कोइरालाको ‘संघर्ष र पीडामा फक्रिएकी राधा’, महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणाको ‘संघर्षले खारिएकी राधा दिदी’ तथा यस पुस्तककी सम्पादक यशोदा तिम्सिनाको ‘सम्पादकीय’ रहेका छन् । त्यसपछि यस पुस्तकको लेखक राधादेवी शर्मा चालिसेको ‘श्रीमान् मरे जुठो बारूँ कि नबारूँ नानी’ शीर्षकको लेखकीय रहेको छ । त्यसपछि कथाक्रम (विषयसूची) रहेको छ ।

पुस्तक दुई खण्डमा रहेको छ, राधादेवीको विवाहपहिलेको जीवन र विवाहपछिको जीवन । पहिलो खण्डलाई बिहेअघि भनिएको छ र दोस्रो खण्डलाई बिहेपछि भनिएको छ । वास्तवमा राधादेवीको जीवनका यी दुवै खण्ड सुखद् छैनन् तर तुलना गरेर हेर्दा विवाहपछिको जीवनभन्दा विवाहपहिलेको जीवन अलिक सुखद् छ । पुस्तकको पछाडि उहाँको जीवनसम्बद्ध धेरै फोटाहरू दिइएको कारण यसलाई तेस्रो खण्ड भनिएको भए पनि अस्वाभाविक हुने थिएन । यसलाई दोस्रो खण्डमै समावेश गरिएको छ । पहिलो खण्डमा २१ र दोस्रो खण्डमा २६ वटा गरी पुस्तकमा उहाँका ४७ वटा संस्मरणात्मक लेखहरू समावेश भएका छन् । समग्रमा लेखका शीर्षकहरू छोटा र आकर्षक देखिन्छन् ।

एक शब्दका १०, दुई शब्दका २०, तीन शब्दका १०, चार शब्दका ३, पाँच शब्दका ३ र छ शब्दका एउटा लेखहरू पुस्तकमा रहेका छन् । लेखहरू फैलावटका आधारमा पनि त्यति लामा छैनन् । एक पृष्ठका ५, दुई पृष्ठका ९, तीन पृष्ठका १३, चार पृष्ठका ७ र पाँच पृष्ठका ५ वटा संस्मरणात्मक लेखहरू पुस्तकमा रहेका छन् । यसैगरी छ पृष्ठको फैलावटमा २, सात पृष्ठमा २, आठ, नौ, बाह्र र तेह्र पृष्ठको फैलावटमा १/१ वटा लेखहरू रहेका छन् ।

पुस्तक पढ्दा थाहा हुन्छ राधादेवी शर्माले जीवनमा कालो बादलले नपाएको दुःख पाउनुभएको छ र तिनै दुःख र हण्डरहरूको संगृहित पन्तुरो हो यो पुस्तक । यति धेरै दुःखसँग सामना गरेर पनि चौतर्फीरूपमा आफूलाई चिनाउन सक्ने बहुमुखी व्यक्तित्व राधा शर्माको प्रशंसा गर्नैपर्छ । एकजना शिक्षित मानिससँग बिहे भएर पनि शारीरिक र मानसिक यातना निरन्तर भोगेकी राधा शर्माको श्रीमान्सँग सुखद् सम्बन्ध रहन नसकेको देखिन्छ । यति भएर पनि एक्लै संघर्ष गरेर प्राध्यापक भएकी राधा शर्माको जीवन वास्तवमै संघर्षै संघर्षले खारिएको देखिन्छ ।

पढेलेखेकी, देशविदेश घुमेकी र अधिकारवादी आन्दोलनमा लागेकी उहाँ आफैंले भने जीवन कष्टका साथ बिताउनुभएको छ । उहाँ यी कुरा यस पुस्तकमा लेख्न वा अन्य कुनै कारणले जेपी मैत्रीसेवाश्रमको सेवा लिन पुग्नुभयो र हाल परिवारसँगको सम्बन्ध कस्तो छ त्यो पाटो पनि पुस्तकमा राम्ररी खुलेको भए उचित हुन्थ्यो । पुस्तकका लागि राधा शर्मालाई बधाई छ र उहाँबाट अरू पनि पुस्तकहरू यसरी नै आउन सकून् भन्ने शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?