जब कृष्ण लामिछानेहरूले जीवनको विकल्प रोज्छन् !

डा. नारायण चालिसे
Read Time = 14 mins

सृष्टिमा स्त्रीलिंग र पुरुष लिंगका बीच लैंगिक नाताबाहेक प्रेम र सहसम्बन्धको नाता पनि हुन्छ । भाले प्रजाति र पोथी प्रजातिका बीचका विभिन्न सम्बन्धहरूमध्ये पतिपत्नी भन्ने नाताको आफ्नै आदर्श, मर्यादा र मान्यता रहिआएको छ । मानिस जातिका हकमा विवाह महिला र पुरुषको जीवनको टर्निङ प्वाइन्ट हो । कसै-कसैले ठट्टा गरेर विवाह पुरुषको जीवनको स्वतन्त्रता खोसिएको दिन हो पनि भन्छन् । त्यस्तै, महिलाका लागि जीवनको थालनी र पुरुषका लागि जीवनको अन्त्यको प्रारम्भ पनि भनिन्छ । यसो किन भनिएको होला । विवाहले त दुवै पक्षलाई नयाँ जीवन नै दिने हो । समान प्रेम, उत्तरदायित्व र जिम्मेवारीमा बाँधिएर जीवनलाई नयाँ आयाम दिने काम पुरुष र महिला दुवैको हुनुपर्ने हो तर त्यस्तो मात्रै भएको हुँदैन । कतिपयका घरहरू विवाहपछि उजाड भएका दृष्टान्तहरू बाहिर आइरहन्छन् ।

हालसालै यस्तै भयावह घटना अमेरिकामा घटेको समाचार छ । अमेरिकाको टेक्सास शहरमा एकजना नेपालीमूलका नागरिकले आत्महत्या गरेको खबर चर्चामा रहेको छ । कसैको पनि जीवन यसरी स्वेच्छिक अनि असामयिकरूपमा अन्त्य हुनु निश्चय पनि दुःखको कुरा हो । मृत्युको खबरसँगै केही विवादित समाचारहरू पनि बाहिर आएका छन् । पारिवारिक हिंसाका कारण जीवनदेखि विरक्त भएर आत्महत्याको बाटो रोजिएको हुन सक्ने एकथरि समाचार अनि परिवारकै सदस्यहरूले हिंसा गरेको आशंका गरिएका समाचारहरू पनि आइरहेका छन् । आत्महत्या मानवीय दृष्टिले अस्वाभाविक अनि कानुनी दृष्टिले अपराध पनि हो ।

अमेरिकाका निम्ति हिरिक्क भएर बसेकाहरूले पनि बुझ्ने कुरा के हो भने अमेरिकामा पनि हामी आफ्नो सीप, क्षमता, ज्ञान, बुद्धि, व्यवहार, स्वभाव, चरित्र, आनीबानी लिएरै जाने ठाउँ हो । त्यहाँ जाँदैमा हाम्रा व्यवहार र कर्ममा अनौठो परिवर्तन आउने पनि होइन ।

यदि सुनियोजित नै हो र हत्या नै हो भने त्यो झन् ठूलो अपराध हो । मृतकको घरपरिवारमा भएको भनिएको संवादको सन्देश निकै भयावह छ । त्यहाँ एकजना पुरुष मधुरो बोलीमा संयमित कुरा गरिरहेको सुनिन्छ त्यहीँनेर दुईजना महिलाको अलि आवेगपूर्ण कडा अभिव्यक्ति सुनिएको छ । ती दुई महिला ती पुरुषप्रति आक्रामक छन् र त्यसको जड कुरा आर्थिक पक्ष हो भन्ने बुझिन्छ । महिलाले आफ्नो कमाइ जति सबै सिध्याइदिएको, आफूहरूसँग कुनै सञ्चित रकम नरहेको र यसको कारण तिनै पुरुष भएको भन्ने कुरा गरिरहेका छन् । अमेरिकामा डलरको रुख छैन । यता नेपालमा बसेकाहरूले डलरको रुखै छ भनेर सोच्ने गरेको तर आफूहरू उता कति दुःख गरेर बसेको भन्ने आशय त्यो संवादबाट झल्किन्छ ।

मलाई पनि अमेरिका जानुभन्दा पहिले त्यस्तै लाग्थ्यो । एकजना आफूभन्दा पहिले अमेरिका गएका आफन्तले नेपालको तुलनामा अमेरिका त स्वर्ग नै हो भनेको सुन्दा हो न हो स्वर्गै रहेछ कि क्या हो ? भनेर सोच्दै गरेकै बेला भिजिट भिसामा अमेरिका जाने अवसर प्राप्त भयो । झट्ट हेर्दा स्वर्गैजस्तो देखिए पनि त्यहीँ बसेर संघर्ष गरिरहेका नेपालीहरूको अवस्था देखिसकेपछि स्वर्गको परिभाषा फेर्न मन लागेको थियो । अमेरिका त्यही ठाउँ हो जहाँ संसारका नागरिकहरू गएर त्यस्तै प्रकारको स्वर्गको अनुभूति गर्छन् । हिन्दीमा एउटा कथन छ । राम भण्डारका मिडाइ खाए भि पछताए नखाए भि पछताए । अर्थात् खानेहरू पनि पछुताउने र खान नपाउनेहरू पनि पछुताउने थलो हो अमेरिका । अमेरिकामा भौतिक सुखसुविधा त छ तर आत्मशान्ति र सन्तोष छैन ।

नेपालको कुनै गाउँबाट अनगिन्ती सपनाहरू बोकेर अमेरिका छिरेका ती व्यक्तिको बाहिरी बायोडाटा बाहिर आएको छ । जसमा उनी समाजसेवी, सामाजिक अभियन्ता र धेरैका दृष्टिमा सज्जन व्यक्ति भएको भन्ने खबर बाहिर आउनु अनि एउटा पारिवारिक भिडियोमा उनको परिवारका पत्नी र छोरी भनिएका व्यक्तिबाट गरिएका कुरा र भएको संवादमा अलि पृथक् कुराहरू बाहिर आउनाले मानिसको अवस्था र बाध्यताका अन्य विवादित पक्षहरू पनि सार्वजनिक भएका छन् । यो घटनापछि कुरा अमेरिका भनेर पनि भएन, पढेलेखेको भनेर पनि भएन, पैसा कमाएको कुरा गरेर पनि भएन । अमेरिका जाँदा पनि आफ्नो सोच, विचार, व्यवहार, परिवारसँगको सम्बन्ध, परिवारमा हुने अनेक प्रकारका घटनाहरू सँगसँगै जाने हुनाले कुनै देशले होइन जीवन त आफ्नै नियतिले चलाउने रहेछ । आफ्नै कर्म र व्यवहारले चलाउने रहेछ भन्ने सन्देश प्राप्त भएको छ ।

अमेरिकाका निम्ति हिरिक्क भएर बसेकाहरूले पनि बुझ्ने कुरा के हो भने अमेरिकामा पनि हामी आफ्नो सीप, क्षमता, ज्ञान, बुद्धि, व्यवहार, स्वभाव, चरित्र, आनीबानी लिएरै जाने ठाउँ हो । त्यो कुनै अर्को ग्रह होइन र त्यहाँ जाँदैमा हाम्रा व्यवहार र कर्ममा अनौठो परिवर्तन आउने पनि होइन । परिवारमा हुने यस्ता अस्वाभाविक घटनाहरूको यो एउटा कडीमात्र हो । यहाँ दोष कसैको पनि हुन सक्छ । यस घटनाले उब्जाएका प्रश्नहरू धेरै छन् । यो घटनापछि पीडित (मृतक) पुरुषको पक्षमा लागेर कुरा गर्ने हो भने त्यसको उत्तर फरक आउला । त्यही महिलाको पक्षबाट हेर्दा निष्कर्ष फरक आउला ।

भनिन्छ विवाहको केही समयपछि सुस्तसुस्त पुरुषको जीवनमा महिलाका तर्फबाट धेरै राम्रा कुराहरूका साथमा हस्तक्षेप पनि बढ्न थाल्छ । यो नखानू, उता नजानू, यसो गर्नू, त्यसो नगर्नू इत्यादि । यी धेरै आदेश वा सुझावहरूभित्र रहेका धेरै राम्रा पक्ष र केही नराम्रा पक्षहरूसमेतलाई मिलाएर लैजान सकेको अवस्थामा जीवनले सुन्दर बाटो लिन्छ । तर, त्यो सुझाव होस् वा हस्तक्षेपले नकारात्मक बाटो लिँदा आउने परिणाम डरलाग्दा हुन सक्छन् । एउटा आदर्श घरमा महिला घरकी देवी हुन् अनि पुरुष त्यस घरका देवता हुन् अनि घर नै स्वर्ग हो । तर, त्यसका विपरीत विधि र व्यवहार हुन्छ भने त्यसपछिका परिणामहरू अकल्पनीय हुन सक्छन् ।

जब कृष्ण लामिछानेजस्ता नागरिकले विकल्पको बाटो रोज्न बाध्य हुन्छन् त्यसपछि भन्न मन लाग्छ म जे छु आफ्नै निर्णयमा पूर्ण छु । प्रिय कृष्ण लामिछाने यद्यपि तिमीले रोजेको यो बाटो किमार्थ समाधानको बाटो होइन तर तिमीलाई सद्गति प्राप्त होस् ।

पत्नीले आफूलाई मालिक्नी मान्ने वा पतिले आफूलाई मालिक मानेर दुवै पक्षबाट अन्यथा व्यवहार हुन थालेपछि हुने परिणति नराम्रै हुन्छ । महिलाका लागि आफ्नो पुरुष सोझो, केही छक्कापञ्जा नजान्ने, कोक्ल्याँटो, लाटो, हुस्सु, खर्चालु आदि हुँदै जान्छ । यस्तै पतिमा पनि पत्नीका विषयमा अनगिन्ती धारणाहरू हुन सक्छन् । अझै शंकाको दायरामा आइपुगेपछि पत्नीलाई पति चरित्रहीन र पतिलाई पत्नी चरित्रहीन लाग्न थाल्छे । हुँदाहुँदा पति वा पत्नीले आफ्नो हैसियत नै बिर्सिन थाल्छन् । जब पतिले पत्नीलाई अनि पत्नीले पतिलाई आज जो छ, जे जस्तो छ त्यो सबै मेरो योगदानका कारणले हो । मेरै क्षमताका कारणले हो ।

म नहुँदो हुँ त तिमी यस्ती हुने थिएनौ उस्ती हुने थिइनौ । म जतिखेर तिम्रो जीवनमा आएँ त्यतिखेर तिमी यस्ता थियौ । मेरै कारणले आज तिमी यस्ता भएका छौ वा भएकी छ्यौ भन्न थालेपछि घरमा उत्पन्न हुने परिणाम कल्पना गर्न सकिँदैन । धेरै हदसम्म त कुरा ठीकै पनि हुन्छन् । लोग्ने मानिस स्वभावैले अलि अव्यवस्थित, खर्चालु, अलि परसम्मको सोच्न नसक्ने । उस्तै परे ससानो कुराले विचलित हुने इत्यादि स्वभावका हुन्छन् । महिलाले घरको कमाण्ड सम्हालेपछि अस्तव्यस्त घर पनि व्यवस्थित हुन थाल्छ । केही मितव्ययिता बढ्छ । केही लयमा जीवन फर्किन्छ । यति कुरा साँचो हो । तर, म नहुँदो हुँ त तिमी काम लाग्ने हुने थिएनौ ।

मैले गर्दा यत्तिको भयौ भन्ने जस्ता कुराहरू जब बढ्न थाल्छन् न त्यो कुरा पतिलाई उचित लाग्छ न त पत्नीलाई नै उचित लाग्छ । महिला पनि त अहिले जस्ती थिइन् त्यस्तै हुँदिनथिन् होला । पुरुषको साथ पाएर महिलाको जीवनमा पनि त सकारात्मक परिवर्तनहरू भए होलान् । राम्रो हैसियत भएकी अहिलेकी महिला पनि यही हैसियतमा हुँदिनथिन् होला । कुरा त्यतातिरबाट पनि सोच्न सकिन्छ र पुरुषले पनि त्यसरी नै आफ्नो योगदानको दाबी गर्न सक्छ । तर, समाजमा पुरुषले भन्दा महिलाले त्यो प्रभुत्वको अहं बढी प्रकट गर्छन् भनिन्छ ।

यस्ता घटनाहरू बेला–बेलामा सुनिँदै आएका हुन्छन् । पुरुष जो अहिले छ त्यस्तो हुँदैनथ्यो होला तर केही न केही त हुन्थ्यो होला । त्यसै बेला पुरुषलाई पनि प्रतिकार गर्न मन हुँदो हो । मलाई तिमीले बनाएको सबै कुरा फिर्ता लेऊ र मलाई मेरै स्वतन्त्रता देऊ जुन जीवन तिमी आउनुभन्दा पहिले मेरो थियो । साथै उहिले म जे जस्तो थिएँ त्यही जीवन पनि कुनै ठाउँमा आएर टक्क त अडिँदैनथ्यो होला । त्यो जीवन पनि केही न केही त चल्थ्यो होला । अनि निकम्मा ठानिएको त्यही जीवन पनि आजको समयमा आइपुग्दा त केही भएकै हुन्थ्यो होला । र, भन्न मन लाग्दो हो मलाई मेरै स्वतन्त्रता फिर्ता देऊ तिमीले बनाइदिएको जीवन फिर्ता लैजाऊ ।

यसरी पनि जीवनले निकास नपाउने अवस्थामा ती नारी वा ती पुरुष जसका कारणले जीवनमा आगो लाग्यो त्यसले एकजनालाई मात्रै जलाउँदैन । त्यो अनिष्ट आगाको लप्कोमा ढिलोचाँडो परिवार नै पर्न सक्छ । अमेरिकामा घटेको त्यो पछिल्लो भयावह घटना त्यसैको निष्कर्ष हो । जब कृष्ण लामिछानेजस्ता नागरिकले विकल्पको बाटो रोज्न बाध्य हुन्छन् त्यसपछि भन्न मन लाग्छ म जे छु आफ्नै निर्णयमा पूर्ण छु । प्रिय कृष्ण लामिछाने यद्यपि तिमीले रोजेको यो बाटो किमार्थ समाधानको बाटो होइन तर तिमीलाई सद्गति प्राप्त होस् ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
U M Ghimire
U M Ghimire
2023-04-01 3:06 pm

डा. भाईको सान्दर्भिक लेख पढ्दा खुशी लाग्यो।

SUJATA RANI RAI
SUJATA RANI RAI
2023-04-01 4:55 pm

चिन्तन-मननयोग्य प्रतिक्रियात्मक यस लेखले विदेशमुखी वर्तमान एवम् भावी पीढ़ीलाई मार्गदर्शन गरेको छ। श्रद्धेय गुरूवरबाट समाज- साहित्यले यसप्रकारका अझै धेरै लेखहरू पाउन सकुन्। हार्दिक बधाई र साधुवाद– श्रद्धेय प्रोफेसर डा.नारायण चालिसा सरलाई।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?