इलामको अभियान-पर्यटन प्रवर्द्धन

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित इलाममा बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । जिल्लाको सदरमुकाममा यस पटक म्याराथुन प्रतियोगिता र साहित्य महोत्सबको आयोजना गरिने भएको हो । नयाँवर्षको अवसर पारेर आउँदो वैशाख १ मा पुरुष र महिला सहभागी हुने फरक-फरक म्याराथुन प्रतियोगिता आयोजना गर्न लागिएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिन लागेको हो । पुरुषतर्फको म्याराथुन विजेताले अढाई लाख तथा महिलाको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिँदैछ । ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान-पर्यटन प्रवर्द्धन’ नारासहित आयोजना हुने प्रतियोगितामा पुरुषले इलाम नगरपालिका-१०, गोदकको नारायण चोकदेखि माइपोखरीको सातखाल्डेसम्म र महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मै दौडिनुपर्नेछ ।
इलामका मेयर केदार थापाले इलामका पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय-अन्तर्राष्ट्रिस्तरमा परिचित र चलायमान गराउन प्रतियोगिताले सघाउने बताउनुभयो ।

प्रतियोगितामा भाग लिन इलामसहित देशका विभिन्न जिल्लाबाट धावकहरू आउने आशा आयोजकले गरेको छ । प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले चैत मसान्तसम्ममा आयोजकसँग सम्पर्क गर्नुपर्नेछ । पुरुष म्याराथुनको दूरी पार गर्न ४ घन्टा १० मिनेट र महिलाका लागि २ घन्टा ५ मिनेट समय निर्धारण गरिएको छ । पुरुषतर्फ दोस्रो हुनेले डेढ लाख, तेस्रोले १ लाख, चौथोले ५० हजार, पाँचौंले ४० हजार, छैटौंले ३५ हजार सातौंले २५ हजार, आठौंले २० हजार, नवौंले १५ हजार र १०औं हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिलातर्फको म्याराथुनमा दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार र पाँचौंले १० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

पर्यटन प्रवर्द्धनका लागि साहित्य महोत्सव

जिल्लाको पर्यटन प्रवर्द्धनका लागि साहित्य महोत्सव आयोजना गरिने भएको छ । यही चैत २६ र २७ गते सदरमुकामस्थित सिटीहलमा महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा १२ वटा विशेष ‘इभेन्ट’ राखिएको छ । इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा महोत्सव हुने भएको हो ।

महोत्सव चलिरहेका बेला चित्रकला समेत प्रदर्शनी आयोजना गरिएको छ । विश्वकै लोपोन्मुख रेडपान्डाको संरक्षणमा चेतना जगाउने उद्देश्यले रेडपान्डासम्बन्धी चित्रकला आयोजना गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?