औषधिको चरम अभाव : पैचो मागेर विरामी उपचार गर्दै जिल्ला अस्पताल हुम्ला

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 7 mins

हुम्ला । हुम्लाको मुटु मानिएको सरदमुकाम सिमकोटमा रहेको एक मात्रै जिल्ला अस्पताल हुम्लामा औषधीको चरम अभाव हुँदा जटिल केशका विरामीको उपचार गर्न औषधी सापटी माग्नु पर्ने बाध्यता जस्तै बनेको छ । तीन महिना यतादेखि जिल्ला अस्पतालमा औषधीको अभाव भएको हो ।

९८ प्रकारको औषधी हुनु पर्ने जिल्ला अस्पतालमा यतिबेला २५ प्रकारको मात्रै औषधि रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, जिल्ला अस्पतालमा रहेको औषधि स्टोर तीन महिना देखि खाली छ्, प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाई गर्दा औषधिको अभाव भएको छ ।” उहाँले फेरि भन्नुभयो, जिल्ला अस्पताल जस्तो ठाउँमा जिल्लाभरका जटिल केशका विरामी आउने गरेपनि उनिहरु रित्तो हात लिएर फिर्ता हुने गरेका छन् । ” अस्पतालमा औषधिको चरम अभाव हुँदा सिमकोट र नाम्खा गाउँपालिकाबाट सापटी मागेर विरामीको उपचार गर्नुका साथै काम चलाउँदै आउनु परेको प्रमुख सिंहको गुनासो छ ।

प्रदेश सरकारलाई औषधि अभावको भएको कुरा बारम्बार गरेपनि कुनै वास्ता नगरेको उहाँको भनाई छ । दुई तीन पटक मन्त्रालयमा गएर कुरा गर्नपनि सुनुवाई नै नभएको सिंहको भनाई छ । १५ शैया रहेको जिल्ला अस्पतालले तीन महिनादेखि औषधिको अभाव झेल्दै आउनु परेको हो ।

जिल्ला अस्पतालमा यतिबेला अतिआवश्यक पर्ने सर्जिकल, इन्जेक्सन, नर्मल स्लाइन् लगायत खाना खाने विरामीका लागि चाहिने औषधिको चरम अभाव देखिएको छ । यसरी आधरभुत औषधि सम्म नहुँदा गाउँपालिका, गैहसरकारी संस्थासँग सापट मागेर काम चलाउँदै आएका छन्।

सापट मागेर बिरामीको उपचार

केही दिन अघि मात्रै बिष सेवन गरेका सिमकोट गाउँपालिका–१ का वीर भण्डारीलाई उपचार गर्ने औषधि अभाव भएपछि फयाँ स्वास्थ्यचौकीबाट औषधि मागेर काम चलाएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । जिल्ला अस्पतालमा औषधि नहुँदा भणडारीलाई जिल्ला अस्पताल हुम्लाबाट सुविधा सम्पन्न अस्पताल नेपालगञ्ज रेफर गरिएको थियो ।

जिल्ला अस्पतालमा औषधिको चरम अभाव देखिएपछि अस्पतालमा भर्ना भएका विरामीको उपचारका लागि जिनी मेडिकलबाट किनेर ल्याएर उपचार गर्नु पर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–४ का प्रजित रोकायाले बताउनुभयो । गाउँबाट राम्रो उपचारको लागि सिमकोट आएपनि खालि हात लिएर फिर्ता हुनु परेको उहाँको भनाई छ ।

रुघाखोकीका विरामी बढ्दै

रुघाखोकी र श्वासप्रश्वासका विरामी उपचारका लागि अस्पताल आउने बिरामीको संख्या बढेको छ । फौसम फेरबदल भएर चिसो बढेका कारण मौसमी फ्लुुका विरामी दैनिक दिन बढ्नुका साथै उपचारका लागि जिल्ला अस्पतालमा भिड नै लाग्ने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । उहाँका अनुसार एक सातायता दैनिक अस्पताल आउने रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढिरहेको बताउनुभयो ।

यस्ता बिरामी दैनिक ८० देखि ९० जनासम्म पुुग्नुका साथै जटिल खाले बिमारीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको र बाँकीलाई चेकजाँचपछि औषधि दिएर घर फिर्ता पठाउने गरिएको अस्पतालले जनाएको हो । उसो त १५ शय्याको अस्पतालमा बिरामी संख्या बढी भएपछि भुइँमा राखेरसमेत उपचार गर्नुपरिरहेको बाध्यता छ । मौसम खराब भएपछि हिमपात र पानी परिरहेका कारण चिसो निकै बढेको र मौसम पनि परिवर्तनको समय भएको मौसमी फ्लुका बिरामी बढिरहेको हो ।

खाली हात फर्किन्छन बिरामी

अस्पतालमा औषधि अभाव भएपछि बिरामीहरूले निजि मेडिकलबाट महगो मुल्यमा किनेर उपचार गर्न बाध्य भएका छन् । श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल पुगेका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्कीको गुनासो उस्तै रहेको छ । अस्पतालमा औषधि नभएर निजि मेडिकलबाट महगो मुल्यमा किनेर उपचार गरेको गुनासो गर्नुभयो ।

सरोकारवालाले सुन्दैनन् गुनासो

संघबाट बजेट आउदा औषधिको समस्या थिएन तर प्रदेश माताहातबाट ओैषधी आउने भएपछि समस्या देखिएको निमित्त कार्यालय प्रमुख बोहराको भनाई छ । माग फार्म पेश गर्दा समेत सम्बन्धित निकायले चिन्ता चासो नदेखाएको बोहराले बताउनुभयो ।

राज्यले हेर्न नजरनै फरक

प्रदेशबाट दिएको १० लाख बजेटबाट खरिद गरेको औषधि दुई महिना मात्रै पुग्ने गरेको जिल्ला अस्पताल हुम्लाको स्टोर किपर सुब्बा मनिकृष्ण जैसीले बताउनुभयो । राज्यले पनि हुम्लालाई हेर्न दृष्टिकोण फरक रहेको उहाँले बताउनुभयो । जिल्ला अस्पताल हुम्लामा बजेट छैन औषधि अभाव हुन्छ । आधारभूत औषधि नभएपछि इमर्जेन्सी, ओपिडी, ल्याब, फार्मेसी, एक्सरे समस्या देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?