लघुकथा : निदाउन सकिनँ

हिमालय टाइम्स
Read Time = 4 mins

✍️ खिमानन्द आचार्य

हे आमा, आज मलाई त्यो वीभत्स, डरलाग्दो र भयावह स्थितिको मध्यबिन्दुबाट तपाईंलाई सम्झन मन लाग्यो । तर, वरिपरि दाजुभाइ दिदीबहिनीले भनेको शब्दवाण कानमा गुञ्जिरहेको छ । भन्न मन थिएन तर दुःख पोख्ने भाँडो त आमासँग मात्र रहेछ । मुटु घायल भएको छ । सायद आमाको काखमा मेरो हजुरबुबाको अगाडि अर्को विकल्प भएदेखि मृत्युपश्चात् प्राप्त गरेको वीरताको चिहृन सुमसुम्याउनुपर्ने थिएन । न त मेरो हजुरआमाले धर्धर्ती रुँदै फोटो काखमा राखेको दृश्य हेर्न बाध्य हुने थिएँ । न लेबनानको सीमामा बुबाले वीरगति प्राप्त गर्नुपर्ने थियो, न त आमाको आँसुले चोली धोएको देख्नुपर्ने थियो । सायद यसभित्र हाम्रा बाध्यता, विवशता थिए ।

हो आमा मलाई अहिले मर्नै परे पनि तिम्रो काखमा लुटपुटिन मन छ । उकाली-ओराली, लेक-बेंसी अघाउन्जेल हेर्न मन छ । तुषारेको चिसोपानी पीपलको पातले उघाएर पिउने मन छ । गाई-बाख्रा सल्लाघारीतर्फ लगाएर ढाँडको चौरमा सानुकान्छासँग डन्डी-बियो खेल्न मन छ । ठूलीकान्छीको ‘नि मायालु....’ भाका सुन्ने मन छ ।

अस्ति भर्खरको कुरा हो- जीवन जिउनेक्रममा हीरा त्यहाँ पुग्नु आफ्नै विवशता थियो । उसलाई त्यो थाहा थिएन- म बाह्रजनामध्ये एक हुन्छु भनेर । तर, पल्लो घरको सुमनले देशमा संघर्ष नगरेर परदेश गएको भनी धज्जी उडाएको सुन्दा मुटु छिया-छिया भएर आयो । त्यो रात निदाउन सकिनँ । हो आमा, मसँग अनगिन्ती दुःखका पोकाहरू छन् । मसँग एकैचोटि भन्ने शब्दभण्डार छैन ।

आज फेरि त्यस्तो कालरात्रि भएर दिन उदाएको छ । दापबाट खुकुरी आफैं निस्केर हावामा पौडिरहेछ । कहाँ कतिखेर बज्रिन्छ, कसैलाई पत्तो छैन । प्रत्येक खबरभित्र मान्छेको विसर्जन भएको सुन्नुपर्छ ।

एम्बुलेन्सका आवाज आइरहेका छन् । पल्लो घरको अगाडि एम्बुलेन्स रोकियो । झ्यालको पर्दा खोलेरमात्र हेर्न विवश । जहाँ घटना भएको स्थानमा जान अनुमति छैन । तर, मेरो रक्तकणमा विपद्मा जानुपर्छ । जहाँ मान्छे, मान्छेलाई भेट्न सक्दैन ।

हो आमा मलाई अहिले मर्नै परे पनि तिम्रो काखमा लुटपुटिन मन छ । उकाली-ओराली, लेक-बेंसी अघाउन्जेल हेर्न मन छ । तुषारेको चिसोपानी पीपलको पातले उघाएर पिउने मन छ । गाईं-बाख्रा सल्लाघारीतर्फ लगाएर ढाँडको चौरमा सानुकान्छासँग डन्डी-बियो खेल्न मन छ । ठूलीकान्छीको ‘नि मायालु....’ भाका सुन्ने मन छ । मनभरि कुरा खेल्दाखेल्दै फेरि एम्बुलेन्सको आवाज आयो । जुरुक्क उठेर झ्यालमा पुगेँ । त्यसैमा कसैको फोन आयो ।

‘सुन्नुभयो.....? फलानो नम्बरमा- दुवैजना...!’
कस्तो विवशता- कोही कसैसँग भेट्न सक्दैन !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?