स्पार्टाबाट सिक्ने कि !

Read Time = 17 mins

✍️ मणि शर्मा

स्पार्टा प्राचीन ग्रीकको एउटा स्वतन्त्र नगर राज्य थियो । १०औं शताब्दी इसापूर्व यो राज्य अस्तित्वमा आएको थियो । इसापूर्व १९५ मा यसको अस्तित्व समाप्त भयो । यो राज्य चारैतिरबाट शत्रुहरूले घेरिएको थियो । यो युरोपतिर बढ्दै गरेको आक्रमणकारीको प्रवेशद्वार थियो । यसको संगठित सेनामा तीन सयदेखि सात सयसम्म सैनिक थिए तर विशाल फारस साम्रान्यलाई चुनौती दिँदै कम सेनाको भरमा यसले फारसलाई परास्त गरेको थियो । स्पार्टली नागरिकहरूले आफूलाई पूरै युरोपका प्रहरी सम्झिन्थे र यसको प्राणपनले रक्षा गर्थे । सेनाको संख्या विशाल होस् वा सानो, यदि उसमा वीर योद्धाहरू, आधुनिक अस्त्रशस्त्र तथा देशभक्तिको भावना छ भने जतिसुकै विशाल सैन्यशक्तिलाई पराजित गर्न सक्छ भन्ने यो उदाहरण हो ।

स्पार्टामा जब कुनै बालक बाह्र वर्षको हुन्थ्यो तब उसलाई हिउँले ढाकिएको अनकन्टार वनमा एउटा सानो अन्तरवस्त्रसहित छाडिन्थ्यो, जहाँ डरलाग्दा ब्वाँसाहरू हुन्थे । शर्त यो हुन्थ्यो कि उसले त्यहाँ जे पाउँछ त्यही खाएर आफूलाई बचाउनुपर्छ । घर फर्कदा ब्वाँसाको सिकार गरेर एउटा मरेको ब्वाँसो लिएर फर्किनुपर्छ । यस्तो अवस्थामा ऊ आफैँ ब्वाँसाको शिकार पनि हुन सक्थ्यो । वनमा पठाउनु अगाडि उसलाई निर्भिक तथा वीर हुने शिक्षा दिइन्थ्यो । यो उसको सैन्य तालिमको पहिलो खुड्किलो थियो । त्यसपछि सैन्य तालिम दिइन्थ्यो । स्पाटेलीहरूले कहिल्यै आत्मसमर्पण गरेनन् । अन्त्यमा आफू पराजित हुँदा पनि वीरताका साथ लडेका थिए ।

२०६३ सालपछि नेपालमा इण्डियाका नागरिकहरूको बाढी हृवात्तै आयो । हाल नागरिकता विधेयक ल्याइँदैछ । यसले यहाँका रैथाने वंशको आधारमा नागरिक भएकाहरूको संख्या हृवात्तै घट्दै गएको छ र अन्त्यमा रैथाने बासिन्दा अल्पमतमा पर्नेछन् ।

आफ्नो सामाजिक व्यवस्था तथा संविधानको कारण प्राचीन ग्रीकमा स्पार्टा अतुलनीय थियो । उसले आफ्नो सैन्य प्रशिक्षण तथा उत्कृष्टतामा बढी ध्यान दिन्थ्यो । यहाँका बासिन्दालाई स्पार्टीयट्स भनिन्थ्यो, लाई सम्पूर्ण अधिकार प्राप्त थियो । मोथाकेस अर्थात् गैरस्पार्टी, पेरियोइकोई जसलाई स्वतन्त्र गरिएको नागरिक भनिन्थ्यो र हेलटोस जो सरकारको अधीनको कृषि दास र गुलाम बनाइएको गैरस्पार्टयेली । ग्रीकलगायत युरोपियन मुलुकबाट आएर त्यहाँ बसेका र युद्धबाट जितेका भूभागका नागरिक जसलाई कृषिदास बनाइएकालाई राजनीतिक तथा सैन्य अधिकार थिएन । मुुलुकको स्वतन्त्रता तथा सार्वभौमसत्ताका लागि यो जरुरी थियो ।

हाम्रो जस्तो बेला बेलामा नागरिकता विधेयक ल्याउँदै विदेशीहरूलाई नेपाली नागरिता दिँदै उनीहरूलाई सम्पूर्ण अधिकार दिएर राष्ट्रको स्वतन्त्रता तथा समर्वभौमसत्तामाथि धावा बोल्ने अधिकार स्पार्टामा थिएन । नेपालले स्पार्टाबाट सिक्नुपर्ने हो तर राज्यको सम्पूर्ण कार्यकारी अधिकार विदेशी शक्तिकेन्द्रको हातमा दिएर आफूहरू उनको प्रतिनिधिको रूपमा शासन गर्नेहरूको देश नेपाल आज अलिखितरूपमा पराधीन राष्ट्रमा परिणत भएको छ ।

स्पार्टिस महिलाहरूले पुरुषको तुलमा बढी अधिकार तथा समानता प्राप्त गर्दथे जो त्यस बेला युरोपमा कहीँ थिएन । उसले पश्चिमा सांस्कृतिक शिक्षाको पुनरुद्धार गर्न सुरु गरेको थियो । उनीहरू कम्तीमा पैंतीस प्रतिशत सम्पत्तिको एक्लै मालिक्नी हुन्थे र परिवार नाता कुटुम्ब जो युद्धमा जान्थे तिनीहरूको सम्पत्तिको रेखदेखको जिम्मा महिलाहरूमा हुन्थ्यो । पारपाचुकेको कानुन स्त्री र पुरुष दुवैमा बराबर थियो । माइतीमा दाजुभाइ नभए पैतृक सम्पत्तिको अधिकार छोरीहरूले पाउँथे । एथेनियन स्वास्नीमान्छेहरू जस्तो उनीहरूले गह्रुँगो वस्त्र तथा आभूषण लगाउँदैनथे, न त उनीहरू जस्तो घरबाट निस्कन अनुमतिको आवश्यकता थियो, उनीहरू साना वस्त्र लगाउँथे र आफूले चाहेको ठाउँमा हिँडडुल गर्न सक्थे ।

केटीहरू पनि केटाहरू जस्तै नांगा युवक युवतीहरूको महोत्सव जिम्नोपीडियामा नांगै भाग लिन पाउँथे । हाम्रो यहाँ प्रायः प्रधानमन्त्री र मन्त्रीहरूका पत्नीले आफ्ना पतिलाई घूस र कमिसन खान उत्प्रेरित गर्छन् तर स्पार्टाकी रानी गोर्गोले आफ्नो पिता क्लियोमेनसलाई घूस लिनु दिनुबाट विरत रहन सल्लाह दिएकी थिइन् । स्पार्टीली महिलाहरू आफ्ना पति युद्धमा जाँदा ढाल दिँदै भन्ने गर्थे, यसलाई लिएर फिर्ता आउनु नत्र यसमा सुतेर फिर्ता आउनु । यसरी देशको रक्षाका लागि आफ्ना पतिहरूलाई हौसला र प्रेरणा दिन्थे स्पार्टेली महिलाहरू । देशलाई नै सर्वोपरी ठान्ने नेपाली महिला कति छन् ? आफ्नो परिवारबाहेक देशका लागि लड्न प्रेरणा दिने नेपाली महिला के नेपालमा छन् ? स्पार्टाले धेरै युद्धहरू जितेर आफ्नो राज्यको सीमा बढाएको थियो ।

तर, जब रक्त सम्बन्धको आधारमा नागरिक भएका स्पाटीली जनताभन्दा बाहिरबाट आएका र युद्ध जितेर स्पार्टामा विलीन भएका भूभागको कृषि मजदुरहरूको संख्या बढ्दै गयो र स्पार्टा कमजोर हुँदै गयो । जसरी राणाहरूले तराईमा कृषि कार्यका लागि इण्डियन कृषि मजदुर यहाँ ल्याएर बसाले, त्यसपछि इन्डियनहरू नेपालको तराईमा आउन थाले र २०६३ सालपछि त इण्डियाका नागरिकहरूको बाढी हृवात्तै आयो । हाल नागरिकता विधेयक ल्याइँदैछ । यसले यहाँका रैथाने वंशको आधारमा नागरिक भएकाहरूको संख्या हृवात्तै घट्दै गएको छ र अन्त्यमा रैथाने बासिन्दा अल्पमतमा पर्नेछन् । करिब एक करोड नेपाली खाडी, मलेशिया, युरोप, अमेरिका, अष्ट्रेलिया आदि देशमा छन्, रोजगारीको सिलसिलाम बाहिर जानेहरूलाई मतदानको अधिकार सरकारले दिएको छैन ।

यसले के प्रमाणित गर्छ भने भोलिका दिनमा आप्रवासी भएर नेपाल आएर नेपालको नागरिकता पाएका विदेशीहरूको हातमा मुलुकको शासन व्यवस्था जानेछ र एकदिन नेपाल पनि स्पार्टा जस्तै हुनेछ । एकचोटि मेसोडोनियाको राजा फिलिप द्वितीयले स्पार्टालाई एउटा सन्देश पठाउँदै भनेका थिए, ‘यदि म लोकेनियामा (स्पार्टा) प्रवेश गरे भने स्पार्टालाई परास्त गरेर माटोमा मिलाई दिनेछु । यसको जवाफमा स्पार्टाले केवल एक शब्द भनेको थियो ‘यदि ...’ । तर न त फिलिप र न त उनको छोरा विश्वविजेता अलेक्जेण्डरले स्पार्टालाई आफ्नो अधीनमा लिन सके । जब देशको सेना र नागरिकमा देशभक्तिको भावना प्रबल हुन्छ कुनै पनि शक्तिशाली शत्रुले त्यो देशमाथि विजय हासिल गर्न सक्दैन भन्ने यो उदाहरण हो ।

देशका लागि मरिमेट्ने देशभक्तिले ओतप्रोत वीर योद्धा सैन्य शक्ति तथा दल, जाति, सम्प्रदायभन्दा माथि उठेर देशभक्तिको भावनाले सरोवर जनता भए कुनै पनि शक्तिशाली शक्तिले त्यो देशलाई पराजित गर्न सक्दैन न त आफ्नो अस्तित्व बचाउन ठूला शक्तिको संगठनमा आबद्ध नै हुनुपर्छ । जब फिलिपले फारसका विरुद्ध ग्रीकहरूको एकीकरणका लागि संगठन बनाए स्पार्टा त्यसमा सामेल हुन चाहेन । उसको माग थियो अखिल ग्रीकेली संगठनको नेतृत्व नपाए ऊ त्यो संगठनमा सामेल हुँदैन । एउटा सानो नगरराज्य जो संगठित शक्तिको अगाडि कहिल्यै झुकेन । तर, नेपाली शासकवर्ग विदेशी शक्तिहरूको अगाडि राष्ट्रिय स्वाभिमानलाई बेचेर उनीहरूको अगाडि झुक्दा झुक्दा आफ्नो ढाड नै बांगो पारिसकेका छन् ।

इसापूर्व ४८० मा स्पाटिर्सहरूको एउटा सानो सैन्य शक्ति जसमा तीन सय स्पार्टी, सात सय थेसिप्यन्स तथा चार यस थेबन्स थिए, नागरिक सेना तथा संगठित सेनाको संयुक्त शक्तिले विशाल फारसी सेनालाई युद्धमा परास्त गरी ठूलो संख्यामा उनीहरूलाई हताहत गरी विजय प्राप्त गरेको थियो । विशाल सेनासँग लड्न उच्च तथा गुणस्तरीय अस्त्रशस्त्र, कुशल रणनीति तथा नागरिक सेना पनि चाहिन्छ । लड्न ठूलो सैन्यशक्ति हुनुपर्छ भन्ने छैन । त्यसैले कोरोथिएन युद्धमा ग्रीक राज्यहरू थेबेस, एथेन्स, कोरिन्थ र आर्गोसको गठबन्धन सेना जसलाई फारसले पनि सहयोग गरेको थियो, लाई स्पार्टाले पराजित गरेको थियो ।

स्पार्टाले त आफूले जितेका राज्यका नागरिकहरूलाई कृषिदास बनाएको थियो तर पृथ्वीनारायण शाहले त कसैलाई दास बनाएका थिएनन् । काठमाडौं जितेपछि त्यहाँको संस्कृतिलाई सम्मान गर्दै अपनाए । किरातहरूलाई उनीहरूको चलनअनुसार राज्य गर्न छुट दिएका थिए, तराईमा कसैमाथि अत्याचार गरेनन् ।

स्पार्टी नागरिकता रक्त सम्बन्धको आधारमा पाइने हुनाले कृषि मजदुरको रूपमा स्पार्टामा रहेका हेलोटहरूको संख्या बढी हुन जाँदा उनीहरू शक्तिशाली भए । इसापूर्व ३७१ को लियुकट्राको युद्ध तथा त्यसपछि हेलोट विद्रोहले गर्दा स्पार्टालाई ठूलो क्षति व्याहेर्नुपर्‍यो जसबाट ऊ जोगिन सकेन । तदुपरान्त दुई शताब्दीसम्म उसले आफूलाई क्षेत्रीय शक्तिको रूपमा कायम राख्न सफल रहृयो । जसरी नेपालमा विदेशीहरूलाई नागरिकता सर्वसुलभ गरिएको छ एकदिन नेपालको अवस्था पनि स्पार्टा जस्तै हुनेछ ।

जुन स्पार्टालाई अलेक्जेण्डर महानले पराजय गर्न सकेका थिएनन् त्यो कृषिदास भएर स्पार्टामा रहेका आप्रवासीहरूको विद्रोहका कारण कमजोर हुन गयो । नेपालका शासकवर्गले स्पार्टाको इतिहासबाट शिक्षा लिने कि ? अलेक्जेण्डरले फारसमाथि विजय प्राप्त गरेपछि एथेन्सलाई फारसी कवच भएको तीन सय सुट उपहार पठाउँदै एउटा शिलालेख पनि पठाएका थिए जसमा लेखिएको थियो, ‘फिलिपको पुत्र अलेक्जेण्डर र सबै ग्रीक स्पार्टनलाई छाडेर एशियामा बस्ने विदेशीहरूबाट लिइएको यो उपहार पेश गर्दैछ ।’ फारसको युद्धको समयदेखि नै राजाको अधिकारमा कटौती गरियो । पहिला राजासँग धार्मिक, सामाजिक र न्यायिक अधिकार हुन्थ्यो । राजा राज्यको पुरोहित पनि थिए । डेल्फियन अभयाअरूण्यसँग सञ्चार व्यवस्था कायम गर्थे, स्पार्टन राजनीतिमा आफ्नो वर्चस्व थियो, पूरै अधिकारको प्रयोग गर्दथे । राजाको अधिकार कटौती गरेपछि राज्य कमजोर भयो । राजा कमजोर हुँदा देश विघटन भयो ।

स्पार्टाले त आफूले जितेका राज्यका नागरिकहरूलाई कृषिदास बनाएको थियो तर पृथ्वीनारायण शाहले त कसैलाई दास बनाएका थिएनन् । काठमाडौं जितेपछि त्यहाँको संस्कृतिलाई सम्मान गर्दै अपनाए । किरातहरूलाई उनीहरूको चलन अनुसार राज्य गर्न छुट दिएका थिए, तराईमा कसैमाथि अत्याचार गरेनन् । न त उनका वंशजहरूले नै गरे । सबैको उत्तिकै सम्मान गर्दै आएका थिए । बरू आज जातजाति, धर्म सम्प्रदायको नाममा समाजमा विभाजन ल्याई सनातन धर्ममाथि आक्रमण गरी, विदेशीहरूलाई नागरिक बनाएर नेपाललाई अराजक बनाउँदै लगिएको छ ।

२०४६ सालपछि नेपालमा राजाको अधिकार कटौती गरेपछि राज्य कमजोर हुन सुरु गरेको थियो, त्यसपछि दरबार हत्याकाण्डले राजसंस्थाको मेरुदण्ड नै भाँचिदियो र २०६३ सालपछि विदेशी शक्तिकेन्द्रबाट नियन्त्रित अराजक शासकवर्गको उदय र राजसंस्थाको अन्त्यपछि नेपाल पूर्णरूपले पक्षाघातको स्थितिमा पुगेको छ । नेपालको स्वतन्त्रता तथा सार्वभौमसत्ता धरापमा परेको छ त्यस्तै स्थिति स्पार्टाकोे भएको थियो । राजसंस्थालाई हटाए र राजाको अधिकार कटौती गरे देश रहँदैन भन्ने उदाहरण स्पार्टा नै छ । मियोविनाको दाइँले राज्यबाट कानुनी शासनको अन्त्य भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?