बैतडीमा नौ महिनाको अवधीमा एघार सवारी साधन दुर्घटना, सात जनाको मृत्यु, एकचालिस घाईते

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीमा ११ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । चालु आर्थिक बर्षको साउन देखि चैत तेश्रो हप्ता सम्म ११ वटा सवारीसाधन दुर्घटनामा परेका जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख प्रहरी साहयक निरीक्षक दशरथ नाथले जानकारी दिनुभयो ।

सहायक निरीक्षक नाथका अनुसार सात वटा जिप, दुई वटा मोटरसाइकल, एक ट्याक्टर र अन्य गरी ११ वटा सवारी साधन सडक दुर्घटनामा परेका छन् । ती मध्ये ९ वटा सडक दुर्घटना ग्रामीण सडकखण्डहरुमा भएका छन् । सडक साँघुरो हुनु, कच्ची सडक हुनु, सवारी साधनहरुको अवस्था ठिक नहुनु र चालकको लापरवाहीले गर्दा ग्रामीण सडकखण्डहरुमा बढी दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।

स्थानिय तहहरुले सडकलाई प्राथमिकता दिएको भएपनि स्तरउन्नतीमा तदारुकता नदेखाउँदा पनि ग्रामीण सडकहरुमा सडक दुर्घटना बढेको हुन् । ‘जनप्रतिनिधीहरुले आफु अनुकुल सडक निर्माण गरे, ग्रेडिङ मिलेको हुदैन’ मेलौली नगरपालिका–९ स्थानीय महेशप्रशाद भट्टले भन्नुभयो ‘अनि आफै दुर्घटना बढे ।’

चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा मात्रै ९ वटा सवारी साधनहरु ग्रामीण सडकखण्डमा दुर्घटना परेका छन् । सवारी साधनको क्षमता हास्र भएपछि मात्रै ग्रामीण सडकहरुमा सञ्चालन हुने भएकाले दुर्घटना बढेको उहाँले बताउनुभयो । ‘गाडीको राम्रो कन्डिसन राम्रो हुन्जेल अन्य सडकहरुमा चल्छन्, ड्यामेज भएपछि ग्रामीण सडकमा जान्छन् त्यसले पनि उक्त सडकहरुमा दुर्घटना बढेका हुन्’ उहाँले भन्नुभयो ।

चालु आर्थिक बर्षको चैत तेश्रो हप्ता सम्म ११ वटा सडक दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधीमा ४१ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ । ती मध्ये ३ महिला र ९ पुरुष गरी १२ जना सक्त घाइते छन् । सोमबार मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ भीटा भन्ने स्थानमा से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने १४ जना घाईते भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?