गौतमको ‘मेरो अतीत मेरो अनुभव’ लोकार्पण

देशको शिक्षा र राजनीतिमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त

कृष्ण भुसाल
Read Time = 12 mins

काठमाडौं । शिक्षाविद् रमेशप्रसाद गौतमको नवीनतम् कृति ‘मेरो अतीत मेरो अनुभव’ लोकार्पण भएको छ । मंगलबार काठमाडौंको रामशाहपथ स्थित पद्मोदय स्कुलमा एक विशेष समारोहबीच पूर्वसभामुख दमननाथ ढुंगानको प्रमुख आतिथ्यतामा कृतिको लोकार्पण गरिएको हो ।

कृतिलाई प्रमुख अतिथि ढुंगानासहित पूर्वमन्त्री एवं सांसद अर्जुननरसिंह केसी, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.केदारभक्त माथेमा, पूर्वसचिव भोगेन्द्र पुरुष ढकाल, जनार्दन नेपाल, परोपकार संस्थाका अध्यक्ष हितकर कंशकार, उपप्राध्यापक जनक भट्टलगायतले कृतिको लाकार्पण गर्नुभएको थियो ।

कृतिको संमीक्षा गर्दै डा.भट्टले पुस्तकमा गौतमले आफ्नो जन्मकालदेखि अहिलेसम्मका विविध विषयलाई प्रस्तुत गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृतिकार गौतमले यसमा आफू जन्मे, हुर्केकोदेखि वर्तमानसम्मका विविध विषय वस्तु पस्किनुभएको छ । आत्मपरक यो पुस्तकमा हाम्रो विगत र वर्तमानलाई प्रस्तुत गरिएको छ ।’

यस्तै, प्रा.माथेमाले शिक्षामा समर्पित स्रष्टाको कृति भएको बताउँदै साधारण मान्छेको आत्मकथाबाट सोसियल हिष्ट्री बन्ने धारणा राख्नुभयो । हाम्रो विगत र वर्तमान यस कृतिमा उजागर भएको उहाँले बताउनुभयो । प्रा.माथेमाले अहिलेको शिक्षाले वर्ग निर्माण गरेको जिकिर गर्नुभयो ।

यस्तै कृति लेखनका आफ्ना अनुभव सुनाउँदै स्रष्टा गौतमले प्रा.पुरुषोत्तम दाहालको प्रेरणाले नै यो पुस्तक तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिमालय टाइम्सका प्रधान सम्पादक एवं साहित्यकार पुरुषोत्तम दाहालको प्रेरणाले नै यो पुस्तक तयार भएको हो । लेख लेख्दै जानुहोस् हामी पत्रिकामा प्रकाशन गर्छौ पछि कृति निकालौला भन्ने उहाँको भनाइले नै यो पुस्तक तयार भएको हो ।’ उहाँले पुस्तक तयार गर्दाका परिवेश र आफ्ना वितगतका घटनाक्रम प्रस्तुत गर्नुभएको थियो ।

हिमालय टाइम्सको आयोजनामा भएको कार्यक्रममा हिटाका उपसम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो भने पद्मोदय स्कुलका प्रधानाध्यापक नारायण गौतमले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

हिमालय टाइम्सले प्रकाशन गरेको यस कृतिमा ९५ शीर्षकमा स्रष्टा गौतमले आफ्नो अतीत र अनुभव प्रस्तुत गर्नुभएको छ । यसमा उहाँले कृतिलाई अझ शास्वत बनाउनका लागि तस्वीर पनि समावेश गर्नुभएको छ । २०९ पृष्ठको यस कृतिको मूल्य ५५० राखिएको छ । कृति स्रष्टा गौतमले आफ्ना बाबा-आमा र सासु-ससुरामा समर्पण गर्नुभएको छ ।

शिक्षालाई प्राथमिकता नदिएका कारण अल्पविकसित : ढुंगाना
पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाल अल्पविकसित मुलुक बनिरहनुको कारण शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु रहेको बताउनुभएको छ । स्रष्टा गौतमको कृति ‘मेरो अतीत, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक विद्यालयमा नतिजा राम्रो नहुनु र निजी विद्यालयमा मात्रै विद्यार्थीको आकर्षण बढ्नु भनेको सरकारले सामुदायिक विद्यालयहरूलाई हेर्ने नजरमा विकास हुन नसक्नु रहेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि शिक्षा क्षेत्रमा सरकारको आवश्यक ध्यान जान नसकेको बताउनुभयो । ढुंगानाले देशको शिक्षा क्षेत्रलाई उठाउन नसके देश उठाउन नसक्ने धारण राख्दै भन्नुभयो, ‘हाम्रो देश अहिले पनि धेरै अल्पविकसितमा रहनुको कारण शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु हो । अहिले पनि शिक्षकहरूको राष्ट्रिय प्रशिक्षण केन्द्र राख्न सकेका छैनौं । सार्वजनिक विद्यालयमा नतिजा राम्रो भइरहेको छैन । शिक्षा क्षेत्रमा धेरै पछि परेर देश पछि परेको हो, अहिले पनि ध्यान पुग्न सकेको छैन । शिक्षासम्बन्धमा हामी म्यासेज एक्स्चेन्ज गरौं । शिक्षालाई उठाउन नसके देश उठाउन सक्दैनौं । कुनाकाप्चामा स्कुल छन्, स्तर छैन, निजीमा गरिब परिवारलाई भार भएको छ ।’ पूर्वसभामुख ढुंगानाले देश विकास भनेकै समाज रूपान्तरण रहेको बताउनुभयो ।

उहाँले हेरक व्यक्तिको इतिहास हुने बताउँदै शिक्षकको अझ विशेष हुनेमा जोड दिँदै भन्नुभयो, ‘हरेक व्यक्तिको इतिहास हुन्छ, शिक्षकको अझ विशेष हुन्छ, शिक्षकले आफ्ना अनुभव र अनुभूति बाहिर ल्याएमा त्यो राष्ट्रिय सम्पति बन्छ, राष्ट्र कै कथा बन्छ, अनुभव बन्छ ।’ उहाँले देशको वास्तवमा शिक्षाको समस्या के हो भन्दै सबै शिक्षकलाई आ–आफ्ना अनुभव र शिक्षा क्षेत्रका अनुभव लेख्न आग्रह गर्नुभयो ।

देश अराजकतातिर उन्मुख छ : केसी
संसद् एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमै ल्याउनुपर्ने धारणा राख्नुभयो । नेता केसीले विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको दाबी गर्नुभयो । उहाँले शैक्षिक अराजकता अहिलेको चुनौतीको विषय बनेको जिकिर गर्नुभयो ।

नेता केसीले नेपालमा रैथाने विश्वविद्यालय खोल्ने घोषणा मन्त्रीले गरेको भन्दै रैथाने विश्वविद्यालय भनेको के र कस्तो हुन्छ ? भन्दै प्रश्न गर्दै भन्नुभयो, ‘अहिले भर्खरै हाम्रा मन्त्रीजीहरू रैथाने विश्वविद्यालय खोल्ने भनेर भनेका छन्, रैथाने विश्वविद्यालय भनेको कस्तो हुन्छ ? युनिभर्सिटी भनेको युनिभर्सिटी हो । हाम्रो वस्तुगत आवश्यक्ताको अनुसार त्यसमा त्यो विषयमा राख्न सकिएला । युनिभर्सिटी रैथाने भन्ने मैले नबुझेको कुरा हो । नेपालमा यत्तिका विश्वविद्यालय आवश्यक छ ? उहाँले भन्नुभयो, ‘यो बीचमा धेरै पार्टीका सरकारहरू भए अहिलेसम्म संघीय शिक्षा ऐन बन्न सकेको छैन । त्यसले माध्यमिक र उच्च माध्यमिक तहमा व्यापक रूपमा शैक्षिक अराजकताको स्थिति छ । किनभने केन्द्रले कुनै ऐन दिएको छैन, त्यो संघीय ऐनअन्तर्गत प्रदेश र गाउँ– नगरहरूले संयोजन गर्नुपर्ने त्यो भएको छैन, हरेक गाउँ-नगरपालिकाले आफ्नै ऐन निर्माण गरेर चलाएका छन्, त्यसले शैक्षिक क्षेत्रमा र शिक्षकहरूमा पनि नैराश्यता छ ।’

विश्वविद्यालयमा अराजकता र भागबण्डाको अखडा भएको भन्दै उहाँले भन्नुभयो, ‘विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको छ । यो शैक्षिक अराजकता जटिल ढंगले चुनौतीको विषय छ ।’ संगठित विद्रोह विस्तारै बढ्दै देश अराजकतारित उन्मुख भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘संगठित विद्रोह विस्तारै बढ्दै देश अराजकतातिर उन्मुख भइरहेको छ । चाहे आर्थिक, शैक्षिक, ऋणका दृष्टिकोण, भ्रष्टाचारले । यसमा निगरानी गर्ने गठबन्धनको निश्चित मापदण्ड र कार्यदिशा नभए हामी असफल हुन्छौं ।’

नेता केसीले शैक्षिक जागरण र शैक्षिक प्रवद्र्धनमा स्रष्टा गौतमको पुस्तक सहयोगी हुने विचार राख्नुभयो । उहाँले अविचलित रूपमा शिक्षाविद्का रूपमा गौतम रहेको बताउनुभयो ।

स्कुल विदेशका लागि कामदार उत्पादन गर्ने कारखाना भएका छन् : दाहाल
समारोहको सभाध्यक्ष गर्नुभएका प्रा.पुरुषोत्तम दाहालले कृति प्रकाशन गरेर गौतमजी बाँच्ने काम गर्नुभएको भन्दै कृतिका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘कृति प्रकाशन गरेर रमेशप्रसाद गौतमले बाच्ने काम सुरु गर्नुभएको छ । कृति जब सार्वजनिक हुन्छ, व्यक्तित्व बाँच्ने काम हुन्छ ।’ अनुभव भनेको इतिहास भएको भन्दै प्रा.दाहालले भन्नुभयो, ‘अनुभव भनेको इतिहास हो, भोलिका लागि पाठ पनि हो ।’

हाम्रा स्कुलबाट समाजमा वर्ग निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘वर्ग संघर्षको आधार शिक्षा क्षेत्रबाट खडा हुँदैछ, बोर्डिङ स्कुल विदेशका लागि कामदार उत्पादन गर्ने कारखाना भएका छन्, प्राविधिक ज्ञान भएको जनशक्ति बाहिर जाँदै छ, देशको भोलिको अवस्था के होला ?, विदेश गएको मान्छे फर्किँदैन, लगानी हामी गर्छौं तर फल विदेशमा, यो हाम्रो विडम्बना हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?