चर्चाभन्दा पनि सफल कलाकार हुन चाहन्छु : केसी

Read Time = 14 mins

नेपाली कला क्षेत्रमा संघर्षबाट खारिएर आएको नाम हो दिनेश केसी । बुबा जनकबहादुर खत्री र माता मीनकुमारी खत्रीका चार सन्तानमध्ये ज्येष्ठ सन्तानका रूपमा दोलखाको गौरी शंखर-३ महतारा, निउरमा जन्मनुभएका केसीको सानो छँदाको ‘हिरो’ बन्छु भन्ने रहरले साकार पाएको छ । उहाँ नायकका रूपमा नेपाली कला क्षेत्रमा स्थापित हुनुहुन्छ । यो क्षेत्रमा सञ्जय पाण्डे र दिनेश शर्मालाई ‘गड फादार’ मान्नुहुने केसी लामो संघर्षले स्थापित कलाकार हुनुहुन्छ । आफ्नो जिल्लामै कोही चलचित्र क्षेत्रमा नभए पनि आफैं संघर्ष गरेर अहिलेको अवस्थामा पुग्न सकेको उहाँ बताउँनुहुन्छ । २०६७ मा प्रदर्शनमा आएको चलचित्र ‘दानव’बाट नेपाली चलचित्रमा अभिनयमा डेब्यु गर्नुभएका केसीले ‘खतरनाक’, ‘नेपथ्य’, ‘बादशाह’, ‘झमेला’, ‘निसाना’, ‘राजा’, ‘सिसा’, ‘लाले’, ‘कमाण्डर’, ‘निम्तो’ ‘आइएम क्रेजी’, ‘शिक्षा’लगायत एक दर्जन जति चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्नुभएको छ । केसी अभिनयका अलावा नेपाली कला संस्कृति लिएर विश्व भ्रमण गर्ने यात्री पनि हुनुहुन्छ । उहाँले जर्मन, फ्रान्स, बेलजियम, इटली, होल्याड, लक्जमर्बग, अष्ट्रिया, पोर्चुगल, बेलायत, ब्राजिल, जापान, थाइल्याड, सिंगापुर, मलेसिया, चीनलगायत देशमा नेपाली कला संस्कृति लिएर पुग्नुभएको छ । यतिबेला युरोपमा गएर चलचित्र छायांकनको तयारीमा रहेको उहाँको भनाइ छ । नेपाली चलचित्र अभिनयसँगै केही टेलिचलचित्र, दर्जनभन्दा बढी म्युजिक भिडियोमासमेत अभिनय गर्नुभएका केसीले आधा दर्जनधभन्दा बढी र्‍याम्प सो समेत गर्नुभएको छ भने केही गीतमा स्वर पनि दिनुभएको छ । चर्चाभन्दा पनि सफल कलाकार हुन चाहन्छु भन्नु हुने नायक दिनेश केसीसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको चलचित्र संवादको संक्षिप्त अशंः-

यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको तीनवटा क्षेत्रमा जाने सोच थियो । पहिलो कलाकार, दोस्रो आर्मीमा र तेस्रो क्याप्टेन । यही सोचका कारण म कला क्षेत्रमा आए । क्याप्टेन हुने चाहना भने अहिले पनि छ । व्यावसायिक रूपमा नभए पनि मैले एक दिन अवश्य क्पाप्टेन हुन्छु भन्ने सोच बनाएको छु । त्यसका लागि विभिन्न क्षेत्रमा बुझेको पनि छु । यो इच्छालाई पनि पूरा गर्छु भन्ने लागेको छ । त्यसो त म कला क्षेत्रबाट टाढिन भने अब सक्दिनँ । मलाई कला क्षेत्रले सबै दिएको छ । मान, सम्मान, इज्जत, प्रतिष्ठाका साथै एउटा उचाइ दिएको छ भन्ने लाग्छ । फेरि मेरो मन मष्तिकमा कला क्षेत्रबाहेक अरू छैन । जीवनको अन्तिम पलसम्म पनि अभिनय गर्दा गर्दै यस संसारबाट बिदा हुन चाहन्छु । तर, क्याप्टेन बन्ने मेरो इच्छा, चाँह भने रहिरहेको छ ।

यहाँले अहिलेसम्म कतिजति चलचित्रमा अभिनय गर्नुभयो, केहीको नाम लिनुपर्दा ?
मैले २०६७ मा प्रदर्शनमा आएको चलचित्र ‘दानव’बाट नेपाली चलचित्रमा अभिनयमा डेब्यु गरेका हुँ । मैले नयाक भएर अभिनय गरेका चलचित्र एक दर्जन जति भएका छन् । ‘खतरनाक’, ‘नेपथ्य’, ‘बादशाह’, ‘झमेला’, ‘निसाना’, ‘राजा’, ‘सिसा’, ‘लाले’, ‘कमाण्डर’, ‘निम्तो’ ‘आइएम क्रेजी’, ‘शिक्षा’लगायत एक दर्जन जति चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेको छु । नेपाली चलचित्र अभिनयसँगै केही टेलिचलचित्र, दर्जनभन्दा बढी म्युजिक भिडियोमासमेत अभिनय गरेको छु भने आधा दर्जनधभन्दा बढी र्‍याम्प सोमा समेत आफूलाई प्रस्तुत गरेको छु ।

यहाँ अभिनयको अलावा नेपाली कला संस्कृति लिएर विश्व भ्रमण पनि गर्ने गरेको पाइन्छ नि ?
हो, तपाईंले भने जस्तै सांस्कृतिक आदान-प्रदान कार्यक्रम लिएर म विदेशका विभिन्न ठाउँमा गएको छु । मैले जर्मन, फ्रान्स, बेलजियम, इटली, होल्याड, लक्जमर्बग, अष्ट्रिया, पोर्चुगल, बेलायत, ब्राजिल, जापान, थाइल्याण्ड, सिंगापुर, मलेसिया, चीनलगायतका देशमा नेपाली कला संस्कृति लिएर पुगेको छु ।

तपाईं चलचित्रको हिरो आफूलाई मेन्टेन गर्न के-कस्ता कार्य गर्नुहुन्छ ?
कलाकारले मात्र नभएर आफूलाई स्वास्थ्य राख्नका लागि सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने लाग्छ मलाई । हो, कलाकार भएपछि, नायक भएपछि अलिक बढी ख्याल चाहिँ गर्नुपर्छ । गेटअप, ड्रेसअपमा ध्यान पु¥याउनुपर्छ । अनुहारमा सामान्य क्रिम, कपालमा तेल र जेल कहिल्यै छुटाउदिनँ । ड्रेसअप पनि अरूभन्दा भिन्न गर्ने कोसिस सधैं रहने गरेको छु ।

यहाँ एक दर्जन जस्तो चलचित्रमा नायकको रूपमा आउनुभयो, यस्तै म्युजिक भिडियोमा पनि देखिने गर्नुहुन्छ तर चर्चामा भने कम आएको पाइन्छ नि ?
म निरन्तर यो क्षेत्रमा छु र रहने छु । हरेक कामलाई उत्कृष्टभन्दा उत्कृष्ट प्रस्तुत गर्ने मेरो लक्ष्य रहने गर्दछ । तपाईंले भनेजस्तै चर्चा अलिक कम भएको हो कि भन्ने शुभचिन्तकले पनि भन्ने गर्नुहुन्छ । म चर्चाका लागि काम गर्दिनँ । कसरी राम्रो काम पस्किने भन्ने ध्याउनमै रहेको हुन्छु हरपल । चर्चाभन्दा पनि म सफल कलाकार हुन चाहन्छु । क्षणिक चर्चाभन्दा पछिसम्म दर्शकको मनमस्तिष्कमा रहन चाहन्छु ।

हिरोहरू धेरै युवतीलाई यो या त्यो बाहनामा फसाउने गर्छन् भनिन्छ नि ?
हा... हा... हा....। खै, त्यो मलाई थाहा भएन । मेरो केटी फ्यान त धेरै छन् । तर, तपाईंले भनेजस्तै ‘फसाउने’ र कसैलाई नराम्रो नियतिले हेर्ने गरेको छैन ।

यहाँको पहिलो चलचित्रको आम्दानी कति थियो होला, भन्न मिल्छ ? त्यो पैसा के गर्नुभएको थियो ?
मेरो पहिलो चलचित्र ‘दानव’ रहेको थियो । यो विसं २०६६ सालतिरको कुरा हो । मैले त्यो चलचित्रमा अभिनयका लागि ५१ हजार पाएको थिएँ । उक्त पैसा चलचित्र अभिनयकै लागि ड्रेस किनेर सिध्याएँ ।

कोरोना संक्रमणका समयमा यहाँले अभियान नै चलाएर दैनिक खाना खुवाउने कार्यक्रम गर्नुभयो, यस्तै विभिन्न सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउनुभएको पाइन्छ नि ?
मलाई के लाग्छ भने समाजमा रहेपछि समाजप्रति हामी सबैको दायित्व हुने गर्दछ । मैले पनि त्यही आफ्नो दायित्व पूरा गरेको हुँ । मैले कोरोनाको संक्रमणका समयमा सिनामंगलमा रहेको म आफू जिम गर्न जाने क्लब ‘किङ कङ’सँगको सहकार्यमा दैनिक दुई सयजनालाई खाना खुवाए । हामीले भीमसेनगोलानजिकै पुलको आसपास, पुरानो बानेश्वरको विजय चोक, ग्लोबल कलेजनजिकै गरी तीन ठाउँमा दुई सयवटा प्याकेटमा राखेर ज्याला, मजदुरीबाट गुजारा चलाउनेहरूका लागि त्यो समयमा खाना पुर्‍याएउने काम गर्‍यौं । दैनिक ज्यालादारीमा गुजारा चलाउनेहरूको रोजगारी गुमेको समयमा खाना खान समस्या भएकालाई हामीले सहयोग गरेका थियौ । कतिपयले प्रचारका लागि पनि समाजसेवा गरेको पाइन्छ । त्यस्तो नगर्न म आग्रह गर्छु ।

यहाँको नयाँ के आउँदै छ दर्शकका लागि ?
हामी यतिबेला एउटा चलचित्रको तयारी गरिरहेका छौं । ‘पेसिर ड्रिम्स’ भन्ने चलचित्रको तयारीमा छौ । जेठ महिनामा यसका लागि युरोप जाने तयारी भइरहेको छ । यसको निर्मातामा एकजना युरोपकै हुनुहुन्छ जितेन्द्र कँडेल, अर्को निर्माता गणेशप्रसाद रेग्मी हुनुहुन्छ नेपालगञ्जको । यो लभ स्टोरी चलचित्र हो ।

तपाईं आफूलाई कस्तो नायकका रूपमा पाउनुहुन्छ ?
म सबै प्रकारको अभिनय गर्न सक्छु भन्ने आफूलाई लाग्छ । तर पनि दर्शकको रोजाइमा ‘चक्लेटी हिरो’ रहेको पाउछु ।

यहाँ गीत पनि गाउनुहुन्छ होकि ?
हो, केही गीत गाएको छु, तर म गायक होइन । मैले मेरो जिल्लाभित्रको पर्यटकीय स्थानहरूको वर्णन गरी तयार पारिएको गीत ‘हाम्रो दोलखा राम्रो दोलखा’ गाएको छु । यस्तै ‘परदेश बस्न मन छैन’ लगायत गाएको छु । गायनप्रति रुचि पहिलेदेखि भए पनि चलचित्रको कामले व्यस्त रहँदा गीत गाउन पाइरहेको थिइन, कोभिड कहरका कारण चलचित्रको काम ठप्प भएको मौकामा गीत रेकर्डिङ भएका छन् ।

कला क्षेत्र मनोरञ्जनमात्रै हो त ?
होइन, कला क्षेत्रअन्तर्गतका नाटक, टेलिफिल्म र चलचित्र त समाजलाई बाटो देखाउने, नैतिकता सिकाउने, हिम्मत बढाउने, दोषीले उन्मुक्त हुन नदिने, माया-प्रेम नै मानव समुदायको पहिचान हो भन्ने कुराको बोध गराउने माध्यम हुन् । यस्ता सन्देशलाई कला क्षेत्रले मनोरञ्जनात्मक तवरले प्रस्तुत गर्छ  ।

नेपाली दर्शकले कस्तो चलचित्र बढी मन पराउँछन् ?
सामाजिक जीवनमा आइपर्ने सकारात्मक कथा नै नेपाली दर्शकको रोजाइ भएको देखिन्छ ।

नेपाली चलचित्रको अहिलेको अवस्था कस्तो रहेको पाउनुहुन्छ ?
पहिले भन्दा सुधारिएर गएको महसुस गर्छु म । सिनेमा पनि स्तरीय बन्नेक्रम बढेको छ । निक्कै सिर्जनशील कामहरू थालेका छन् अहिले । नेपाली चलचित्रको बजार पनि विस्तार भइरहेको छ । अहिले देशमात्र होइन विदेशमा पनि नेपाली चलचित्रप्रतिको लगाव बढेर गएको छ । यो सुखद् पक्ष हो ।

नेपाली चलचित्रको स्तरवृद्धिका लागि के-कस्ता पहल हुन आवश्यक देख्नुहुन्छ ?
हामीले चलचित्रका लागि प्रयास गर्ने कुरा छँदैछ, गरिनै रहेका छौ । तर, यसका लागि सरकारी स्तरबाट पनि प्रयास गरिनुपर्छ भन्ने लाग्छ । साथै हामीले गुणस्तरीय चलचित्र दिनसक्नुपर्छ । दर्शकलाई झुक्याउन सकिँदैन आजभोलि । उहाँहरू हामीभन्दा एक कदम अगाडि सोचिरहनुभएको हुन्छ । गुणस्तरीय चलचित्र र यसको उचित व्यवस्थापन हुन गयो भने हाम्रा चलचित्रको सफलतालाई कसैले रोक्न सक्दैन ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kamal
Kamal
2023-04-06 10:24 am

Dhabi ramrod kurakani

Ramram dahal
Ramram dahal
2023-04-07 6:34 pm

Wow wow good thinking 👌 👏 😍

रिलेटेड न्युज

छुटाउनुभयो कि ?