एउटा राम्रो सम्पादक निर्देशक पनि हो : वीरेन्द्र भाट

Read Time = 13 mins

सुुदूरपश्चिम प्रदेशको पाटन नपा-३ बैतडीमा जन्मिनुभएका वीरेन्द्र भाट ‘विपिन’ काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियसन पस्किरहनुभएको छ । भिडियो सम्पादन कार्यमा पोख्त उहाँ छायांकार र निर्देशकका रूपमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । फिल्म, टेलिफिल्म, म्युुजिक भिडियो, डकुमेन्ट्री र विज्ञापन गरेर चार हजारमाथि सम्पादन, १५ सयजति छायांकन र तीन सयजति सिर्जनाको निर्देशन गरेको बताउनुहुने उहाँ प्रतिस्पर्धा अरूसँगको होइन आफ्नो क्षमता र कर्ममै गर्न सके नै राम्रो हुन्छ भन्नुहुन्छ । एउटा राम्रो सम्पादक निर्देशक पनि हो भन्ने मान्यता राख्नुहुने वीरेन्द्र भाट ‘विपिन’ सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
मेरो नियमित कर्म भिडियो सम्पादन, ग्राफिक्समै व्यस्त छुु ।

कसरी यो क्षेत्रमा आउनुभयो ?
म जन्मेको सुुदूरपश्चिम प्रदेशको पाटन नपा-३ बैतडीमा हो त्यो ठाउँबाट काठमाडौंसम्म पुुग्नु नै पहिलो चुनौती थियो । त्यसपछि यो क्षेत्रमा आउनलाई गरेका संघर्ष निकै छन् । सबै बेलिविस्तार लाउने हो भने महाभारतभन्दा ठूलो ग्रन्थ बन्छ होला । तर, छोटकरीमा भन्नुपर्दा क्यामेराम्यान बन्ने हुटहुटीले यो क्षेत्रमा आएँ । आदरणीय दाइ क्यामेराम्यान रविन्द्र बराल र आदरणीय दिदी भिजन नेपालकी सञ्चालिका, गीतकार लिलु गुरुङको श्रेयले क्यामेरा सिकेर क्यामेरा चलाउँदै गर्दा सम्पादन पेशा रोज्न पुुगेँ ।

कस्ता समस्या र चुनौतीको सामना गर्नुपर्‍यो ?
समस्या र चुनौतीका त कुरा गरिसाध्य छैनन् । आफूभन्दा अग्रजहरूले यो बाटो ठीक छ/छैन भनेर नभनिदिँदा निकै दुःख लाग्थ्यो । तर पनि आफ्नो परिश्रम, लगनशील र इमानदारी नै महान् हुन पुग्छ र ती समस्या र चुनौतीहरू सबै फिक्का नै लाग्छन् । समस्याजस्तै लाग्दैनन् ती सबै जीवनोपयोगी पाठ लाग्छन् ।

एउटी नारी आफैंमा सुन्दर झन् त्यसमा शृंगारले सुन्दरता निखारिएजस्तै एउटा भिडियो सफल र उत्कृष्ट हुनुमा सम्पादनको मुख्य भूमिका रहन्छ । अर्को कुरा भनेको छायांकार, कलाकार र निर्देशकका कमजोरीहरूलाई ढाकछोप गर्ने भनेको पनि सम्पादकले हो ।

सम्पादन गर्न कत्तिको गाह्रो छ ?
खाना खान त गाह्रो छ, हातले मुखसम्म लान दुःख गर्नुपर्छ । त्यस्तै हरेक कर्म गर्न गाह्रो नै छ । त्यसमा पनि सम्पादन भन्ने चिज निकै रचनात्मक कुरा हो । गाह्रो त छँदैछ । तर, सबैभन्दा ठूलो अध्ययन नै हो । हरेक कुराको गहिरो अध्ययन/तालिम गरी काम गर्ने हो भने गाह्रो छैन काममा छुट्टै आनन्द आउँछ ।

कुनै पनि म्युजिक भिडियो सफल हुनुमा सम्पादनको भूमिका कस्तो हुुन्छ ?
एउटी नारी आफैंमा सुन्दर झन् त्यसमा शृंगारले सुन्दरता निखारिएजस्तै एउटा भिडियो सफल र उत्कृष्ट हुनुमा सम्पादनको मुख्य भूमिका रहन्छ । अर्को कुरा भनेको छायांकार, कलाकार र निर्देशकका कमजोरीलाई ढाकछोप गर्ने भनेकै सम्पादकले हो । अनि आफैं भन्नुहोस् सम्पादकको भूमिका कस्तो होला ?

यहाँले केही सिर्जनामा सम्पादनसँगै छायांकन र निर्देशन पनि गरेको पाइन्छ नि ! आफूलाई चिनाउँदा कसरी चिनाउनुहुन्छ ?
हो, तपाईंले भनेजस्तै म सम्पादन, छायांकन र निर्देशनमा आफूलाई संलग्न गराउँदै आएको छु । म आफूलाई भिडियो सम्पादक नै भन्छु । तर पनि निर्देशन र छायांकारको काम पनि गरिरहेको हुन्छु । अनि एउटा राम्रो सम्पादक निर्देशक पनि हो ।

छायांकन कार्यमा के-कस्ता चुनौती पाउनुहुन्छ ?
हरेक कार्यमा चुनौती त हुन्छन् नै । ‘नो रिक्स नो गेन’ भन्छन नि । हो चुनौती सामना गर्दै सफलता पाउँदाको मज्जै बेग्लै हुन्छ । हामीसँग अहिले प्रविधि निकै राम्रा छन् । केही चुुनौतीहरूलाई प्रविधिले जितेको छ । तर, एउटा कुराचाहिँ अलि गाह्रो छ त्यो के हो भने कुनै नयाँ लोकेसनमा भिडियो सुटिङका लागि जाँदा सरकारी निकायबाट लिनुपर्ने इजाजतले निकै दुःख दिन्छ । नेपाल प्राकृतिक रूपमा निकै सुन्दर देश हो । यहाँको सुन्दरता जब भिडियोमा कैद हुन्छ तब पो विदेशी र स्वदेशी पर्यटक त्यो ठाउँमा पुुग्ने हुन् नि । नयाँ ठाउँमा सुटिङ गर्दा राज्यले सहज वातावरण निर्माण गर्नुपर्छ र पो पर्यटकहरू पनि आकर्षित हुन्छन्, यसमा राज्यको विशेष ध्यान जानु जरुरी छ ।

एउटै मान्छे छायांकार, सम्पादक र निर्देशक हुँदा त्यो प्रोजेक्टले कत्तिको न्याय पाउँछ ?
एउटा राम्रो सम्पादकलाई क्यामेराको फ्रेम र म्युजिकको राम्रो जानकारी हुन्छ । एकले अर्काको भाषा अनि भावना बुुझेन भन्ने पनि हँुदैन । प्रोजेक्टले एकदमै राम्रो न्याय पाउँछ । एउटै मान्छेले तीनवटै काम गर्दा आफूलाई चाहिने चिजमात्र खिच्ने भएकाले काम पनि छिटो हुुन्छ । तीनवटै काम एउटैले गर्दा आर्थिक पाटोतिर पनि निर्मातालाई सहज हुने भयो । अरू प्राविधिक र कलाकारलाई पनि निकै सहज हुन्छ ।

यहाँ दुई दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ, संख्यात्मक हिसाबले काम कति भयो ?
हो, तपाईंले भनेजस्तै म लगभग दुई दशकदेखि यो क्षेत्रमा निरन्तर छु । संख्यात्मक हिसाबले मैले सम्पादन गरेका फिल्म, टेलिफिल्म, म्युुजिक भिडियो, डकुमेन्ट्री र विज्ञापन गरेर चार हजारमाथि होलान् । त्यस्तै, छायांकन गरेका १५ सय र निर्देशन तीन सयजति गरेको छु ।

यसबाहेक केमा हुनुहुन्छ नि ?
हामीले अनामनगरमा अडियो भिडियो प्रोडक्सन हाउस वल्र्ड कभर मिडिया सञ्चालन गरेका छौं । मलाई भगवान्ले सम्पादन, ग्राफिक्स यस्तै रचनात्मक कर्म गर्न पठाएका हुन्जस्तो लाग्छ र त्यसैलाई निरन्तरता दिइरहेको छु । यसबाहेक मैले जानेको नै के छ र, आफ्नो दक्षता भनेकै यही क्षेत्रमा हो ।

पुुस्तक कत्तिको पढ्नुुहुन्छ ? मन परेको पुस्तक कुन हो ?
कामको व्यस्तताले गर्दा खासै पुस्तक पढ्ने समय त मिल्दैन । तर पनि अलिकति बचेको समयमा मैले पढ्ने पुस्तकहरू कानुनी र राजनीतिक हुन्छन् । सबै पुस्तकहरू उत्तिकै राम्रा र ज्ञानवद्र्धक नै हुन्छन् । यो नै राम्रो नराम्रो भनेर छुुट्याइँदैन ।

यहाँलाई मनपर्ने कुरा ?
आफूलाई व्यस्त राख्न नै मनपर्छ । अनि खानेकुराको निकै पारखी छु, नौलो स्वाद र विभिन्न भेराइटीका कुरा कता पाउँछन् त्यता दौडिहाल्छु । योसँगै मेरो प्राथमिकता भनेको अग्रजलाई सम्मान, अनुजलाई माया अनि जुनसुकै कुरालाई पनि सकारात्मक सोच लिएर हरेक पल ऊर्जाशील, इमानदारी, सत्कर्ममा धैर्यताका साथ लगनशील बन्नुु र बनाउन नै मन पर्छ ।

यहाँले यो क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप विभिन्न मान-सम्मान, अवार्ड र पुरस्कार पाउनुभएको छ नि ?
हो, यहाँले भनेजस्तै विभिन्न मान-सम्मान, अवार्ड र पुरस्कार प्राप्त भएका छन् । मैले पाएको पहिलो अवार्ड २०६९ मा हो । त्यसपछि निरन्तर अवार्ड सम्मान पाउँदै आएको छु । अहिले विभिन्न अवार्ड कार्यक्रमहरूको सल्लाहकारमा पनि बस्दै आएको छुु ।

कत्तिको प्रतिस्पर्धा छ यो क्षेत्रमा ?
यो क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा उत्तिकै प्रतिस्पर्धा छ । यो क्षेत्रमा नहुने त कुरै छैन ।

यो क्षेत्रमा आउने नयाँ युवालाई के सल्लाह दिन चाहनुहुन्छ ?
आफू बुुझेर अनि आफ्नो विधागत ज्ञान लिएर आयो भने चाहिँ सहज नै हुुन्छ । प्रतिस्पर्धा अरूसँगको होइन आफ्नो क्षमता र कर्ममै गर्ने सके नै राम्रो हुन्छ ।

यो सफलताको श्रेय कसलाई दिनुहुन्छ ?
सबैभन्दा पहिला जन्मदाता आमा-बुुबा, क्यामेराम्यान रविन्द्र बराल दाइ, वरिष्ठ गीतकार दिदी लिलुु गुरुङ, जीवन संगिनीलगायत जीवनका हरेक मोडमा भेटिएका दृश्य-अदृश्य मेरा गुुरुहरू साथै मेरा शुुभेच्छुक र शुुभचिन्तकहरूलाई नै जान्छ । उहाँहरूको साथबिना आज म यो ठाउँमा नै हुने थिइनँ होला ।

गीतसंगीतमा विकृति छ भन्छन् नि ! यसबारे के भन्नुहुुन्छ ?
पछिल्लो समय विकृति त निकै बढेको छ । विकृति हुनुुको खास कारण मानवीय चेतनाको स्तरवृद्घि नहुनु नै हो । हामी कता जाँदैछौं भन्ने स्वयंले नबुुझेसम्म यस्तै हो । विकृति आउनुभनेको हाम्रो कला, साहित्य र संस्कृति नासिँदै जानु हो । भावी पुस्ताप्रतिको गद्दारी हो । गीतसंगीतका माध्यमबाट समाजलाई जागरण गराउने हो नि, उच्शृंखल बनाउने होइन । घरपरिवारसँगै बसेर हेर्न र सुुन्नलायक बन्नुुपर्छ । कलाकार समाजको ऐना हो । हरेक कलाकारले आफ्नो मौलिक कला संस्कृति र धरोहरलाई बिर्सनुहुँदैन । यदि बिर्सन्छ भने त्यो कलाकार कलाकार नै होइन ।

यहाँले आफैंले आफैंलाई चिनाउनुपर्दा कसरी चिनाउनुहुन्छ अर्थात् वीरेन्द्र भाट ‘विपिन’ के हो ?
कर्मक्षेत्रका लागि एउटा धैर्यवान योद्घा । ब्रहृमाण्डको एउटा चेतनशील मानव । अनि नेपालको नागरिक ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Birendra Bhat Bipin
Birendra Bhat Bipin
2023-04-09 5:15 pm

मलाई यो स्थान दिनु भएकोमा पत्रकार गीता अधिकारी ज्यू र नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्स प्रति निकै आभारी छु,तपाईंहरुको यो साथ र माया सधैं रहिरहने अपेक्षा राख्दछु ।। 

रिलेटेड न्युज

छुटाउनुभयो कि ?