कोषका योगदानकर्तालाई ४४ वटा अस्पतालमा छुट

Read Time = 9 mins

काठमाडौं । सामाजिक सुरक्षा कोषले देशभरका ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतासँगै उल्लेखित अस्पतालबाट सेवा लिँदा उपचार रकमको ८० प्रतिशत छुट हुनेछ । कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो ।

योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको कोषले जनाएको छ । कोषका अनुसार अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका नौ, मधेश प्रदेशका नौ, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका दुई र लुम्बिनी प्रदेशका चार गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचयपत्र देखाएर सेवा लिन सक्नेछन् ।

२०७९ फागुन १ गतेयता देशभरका विभिन्न १५ स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ । आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मकरूपमा बढाउँदै लैजाने कोषले जनाएको छ । सम्झौता भएका ४४ अस्पतालमा झापाको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल र बी एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, इटहरीको पशुपति मोडल हस्पिटल, विराटनगरको हाम्रो अस्पताल, टंकीसिनुबारीको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र मोरङ सहकारी अस्पताल, ओखलढुंगाको सामुदायिक अस्पताल, विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल रहेका छन् ।

त्यस्तै, वीरगञ्जको नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर अस्पताल, गण्डक अस्पताल, स्पर्श अस्पताल, किरण आँखा अस्पताल, हरिवनको नमुना सामुदायिक अस्पताल, जनकपुरको जानकी हेल्थ केयर, बर्दिबासको छिन्नमस्ता अस्पताल र शुभ स्वस्तिक अस्पताल, काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भु रहेका छन् ।

त्यसैगरी हेल्पिङ हृयाण्ड्स सामुदायिक अस्पताल चाबहिल, काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल, नेअसं नेपाल अर्थोपेडिक अस्पताल-जोरपाटी, तिलगंगा आँखा अस्पताल, दृष्टि आई केयर कलंकी, एभरेस्ट अस्पताल नयाँबानेश्वर, होप अस्पताल सिनामंगल, शंकरापुर अस्पताल–गोकर्णेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सोह्रखुट्टे, फ्रन्टलाइन हस्पिटल पुरानो बानेश्वर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, शिर मेमोरियल अस्पताल बनेपा, कलेज अफ मेडिकल साइन्सेस भरतपुर र चितवन मेडिकल कलेज टिचिङ हस्पिटल रहेका छन् ।

कोषले सम्झौता गरेका ४४ वटा अस्पतालका सेवामा कोषका योगदानकर्ताले उपचार रकमको ८० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै, मकवानपुर सहकारी अस्पताल हेटौंडा, चुरेहिल अस्पताल हेटौंडा, काठमाडौं क्यान्सर सेन्टर भक्तपुर, चरक मेमोरियल अस्पताल पोखरा, ग्यालेक्सी अस्पताल पोखरा, लर्डबुद्ध एजुकेसनल एकेडेमी नेपालगञ्ज, लर्ड बुद्ध एजुकेसनल एकेडेमी नेपालगञ्ज, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवा र गौतमबुद्ध मुटु अस्पताल बुटवल रहेका छन् । कोषबाट औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता वा निजको पति या पत्नीको हरेक आर्थिक वर्ष एक लाखसम्मको उपचार खर्च, तीन महिनासम्मको शिशुको उपचार खर्च, १० लाखसम्मको घातक रोगको उपचार खर्च, योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक अर्थात् १५ हजार रुपैयाँ बराबरको शिशु स्याहार खर्च पाइनेछ ।

त्यस्तै, महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम, योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भएर उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम् १३ हप्तासम्मको बिदाबापतको रकम पाइनेछ । त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत कामका सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च, अन्य दुर्घटनाका हकमा वार्षिक सात लाखसम्म उपचार खर्च, कामको सिलसिलामा हुने दुर्घटनाका कारण योगदानकर्ता अशक्त भएमा अर्थात् स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन सुविधा पाइनेछ भने अस्थायी पूर्ण असक्षमता भएकोमा नफर्किउन्जेलसम्म पारिश्रमिकको मासिक ६० प्रतिशत रकम पाइनेछ ।

स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शतप्रतिशत मानेर आजीवन सुविधा प्रदान गरिनेछ ।

त्यस्तै, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउनेछन् । मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिकरूपमा पाउनेछन् भने अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिकरूपमा असक्षम सन्ततिका हकमा उमेर हद लागू हुने छैन । योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन सुविधा पाउनेछन् । अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले सो सुविधा पाउने व्यवस्था रहेको छ । योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार आश्रित परिवारले पाउने व्यवस्था छ ।

त्यसैगरी वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिकरूपमा आजीवन निवृत्तभरण सुविधा पाउने व्यवस्था छ । निवृत्तभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउने कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?