हामीकहाँ आँखासम्बन्धी रोग ‘केराटोकोनस’का बिरामी धेरै छन् : डा. किशोरराज प्रधान

कृष्ण भुसाल
Read Time = 23 mins

‘सुचरलेस फर्मिक ट्रान्सप्लान्ट’ (धारिला उपकरण प्रयोग नगरी आँखाको नानी प्रत्यारोपण गर्ने एउटा पद्धति) गर्न सफल विश्वकै पहिलो चिकित्सक र लेजर प्रक्रियाबाट आँखाको शल्यक्रिया गर्ने नेपालका थोरै डाक्टरहरूमध्ये एक हुनुहुन्छ डा. किशोरराज प्रधान । तिलगंगा आँखा अस्पतालमा १२ वर्ष सेवा पुर्‍याएपछि अहिले डा. किशोरराजले मेट्रिका आँखा अस्पताल सञ्चालन गरिरहनुभएको छ । यो अस्पताललाई उहाँले सम्पूर्ण सुविधासम्पन्न र परिवारमैत्री बनाउनुभएको छ । पुरानो बानेश्वर उकालोमा रहेको यो अस्पतालमा एसियाका अन्य मुलुकमा नभएका आधुनिक उपकरणहरू भएको डा. प्रधानको भनाइ छ । यी उपकरणको ‘ब्राण्ड एम्बासडर’ डा. प्रधान भएका कारण यो सम्भव भएको हो । ‘नेपालीहरूको आँखा ठीक गर्न भनेर नै मैले यी उपकरणहरू भित्र्याएको हुँ,’ उहाँ भन्नुहुन्छ । नेपालमा रहेको समग्र आँखाका विषयमा हामी कुरा गर्न पुग्दा उहाँले धेरै समस्याका बारेमा धेरैजनालाई जानकारी छ तर हामी धेरैलाई थाहा नभएको विषयमा कुरा गरौँ भन्नुभयो र त्यसैअनुसार उहाँसँग हामीले नेपालमा कमैलाई मात्र थाहा भएको आँखाको रोग ‘केराटोकोनसका’का बारेमा कुरा गर्‍यौँ । हेर्दा जति शालीन छ उहाँको व्यक्तित्व कुरा गर्दै जाँदा उत्तिकै फरासिलो पनि । उहाँको ‘डाउन टु अर्थ’ व्यक्तित्वका कारण उहाँको छवि झनै फराकिलो छ । अस्पतालमा उपचारका लागि आउने बिरामीसँग उहाँ यति मैत्रीपूर्ण शैलीमा व्यवहार गर्नुहुन्छ कि जोकोहीको उहाँसँग सामिप्यता बढ्दछ । दृष्टिदोषका कारण चस्मा लगाउने झन्झट बोकेका धेरैजनालाई चस्मा हटाउने उहाँको अभियानले यतिबेला सार्थकता पाइरहेको छ । उहाँले हालसम्म धेरैलाई यो झन्झटबाट मुक्त गराउनुभएको छ । डा. किशोर आँखाको लेजर सर्जरी गर्ने कममध्येका एक अब्बल विशेषज्ञ चिकित्सक हुनुहुन्छ । मेट्रिका आई सेन्टरबाट उहाँ रिफ्रेक्टिभ सर्जरीमा उत्कृष्ट सेवा प्रदान गरिरहनुभएको छ । उहाँ नेपाललाई रिफ्रेक्टिभ सर्जरीको उत्कृष्ट गन्तव्य बनाउने अभियानमा समेत हुनुहुन्छ । त्यहीअनुसार काम पनि भइरहेका छन् । यतिबेला आँखाको रोग केराटोकोनसको सही डाइग्नोसिस नभएका कारण नेपालमा धेरैले दुःख पाइरहेको अवस्थामा डा. प्रधानले पश्चिम धनगढीदेखि पूर्वको काँकडभित्तासम्म यसको अभियान नै चलाउँदै हुनुहुन्छ । ‘हामीकहाँ केराटोकोनसका बिरामी धेरै छन्, यसको पहिचानका लागि हामीले यो अभियान चलाउँदै छौँ,’ उहाँ भन्नुहुन्छ । नेपालमा आँखासम्बन्धी विविध समस्या र केराटोकोनसका विषयमा हिमालय टाइम्सका लागि डा. किशोरराज प्रधानसँग कृष्ण भुसालले गर्नुभएको कुराकानी :-

नेपालमा आँखासम्बन्धी के-कस्ता समस्या अर्थात् रोगहरू रहेको पाइन्छ ?
धेरैजसो देखिने आँखासम्बन्धी समस्याहरू मोतीबिन्दुलाई लिने गरिन्छ । लेन्स आँखाभित्रको पारदर्शी भाग हो जसले बाहिरको प्रकाशलाई केन्द्रित गरी आँखालाई देख्ने बनाउँछ । उमेर बढ्दै जाँदा लेन्स धमिलो हुँदै जान्छ, दृष्टि कम हुँदै जान्छ र अन्धोपन हुन्छ । यस्तो धमिलोपन कहिलेकाहीँ आँखामा खरानी रङको धब्बाका रूपमा देखिन्छ जसलाई मोतीबिन्दु भनिन्छ । मोतीबिन्दु वृद्ध मानिसहरूमा बढी देखिन्छ तर शिशु एवं बालबच्चामा पनि हुन सक्छ ।

यस्तै, आँखाभित्र कहिले दुख्छ, चाप बढ्छ र आँखाभित्रका नशाहरूमा क्षति पुग्दछ यसैलाई ग्लुकोमा भनिन्छ । सामान्य आँखाको तुलनामा ग्लुकोमा भएको आँखा एकदम दुख्छ । यो निकै गम्भीर समस्या हो । यस्तो रोग लागेको मानिसलाई उपचार नगरे अन्धोपन हुन्छ ।
आँखाको अर्को समस्या आँखा सुक्खा हुनु हो । हावा, बढ्दो उमेर, हावामा रहेको धुवाँ र केही औषधिहरूका कारणले पनि आँखा सुक्खा हुने गर्छन् । फोहोर वा बगेको तरल पदार्थले आँसुलाई अवरोध गर्दा आँखा सुक्खा हुन्छ । आँखाको ढकनी र आँखा वरपरको अनुहारको भाग सफा रहेमा आँसुले आँखालाई स्वस्थ राख्छन् ।

हामीलाई आँखामा मोतीबिन्दु, जलबिन्दु, पर्दा (रेटिना), आँखाको नानी र अन्य भागमा लाग्ने रोगका बारेमा सुरूमै थाहा भयो भने उपचार गर्न निकै सजिलो हुन्छ । चालीस वर्ष उमेर पुगेका सबैले नियमित आँखा जाँच गराउनु राम्रो हुन्छ । आँखाभित्र भएको लेन्समा धमिलोपन देखा परी पारदर्शितामा कमी भई दृष्टि कमजोर हुनु, दृष्टि अस्पष्ट वा पूर्णरूपले बन्द हुनु मोतीबिन्दु हो । यसको स्थायी उपचार शल्यक्रिया हो ।

हामीकहाँ आँखाको समस्या खासगरी कुन क्षेत्रमा बढी भएको पाइन्छ ?
मानव अंगको आँखा नै संसार हो । आँखाबिना संसार अन्धकार हुन्छ । त्यसैले आँखाको बेलाबखत हेरविचार गर्नुपर्छ । आँखाको समस्या जोकोहीमा पनि हुन सक्छ । यसले धनी-गरिब, सानो-ठूलो उमेर भन्दैन । हिजोआज प्रविधिको विकाससँगसँगै आँखा रोगको उपचार पनि सहज हुँदै गएको छ । बेला-बेलामा आँखाको परीक्षण गर्दा आँखा स्वस्थ र तन्दुरुस्त हुन्छ । दुर्गम पहाडी भेगमा पनि आँखाको समस्या धेरै छ । उपचारको अभावमा ती गरिब परिवार पीडित बनेका छन् । नेपालका सबै क्षेत्रमा आँखाको समस्याका बिरामी छन् ।

हाम्रो बसाइको सुरुमा नै डा. साहेबले ‘केराटोकोनस’का बारेमा कुरा गरौँ, यसको विषयमा धेरैलाई थाहा छैन भन्नुभयो । त्यसैले मैले मेरा अन्य जिज्ञासा छोडेर यसैमा केन्द्रित भएँ । यो केराटोकोनस भनेको के हो ?
जुन आँखाको मद्दतले हामी सबै यो संसारका सम्पूर्ण रङलाई देख्न सक्छौँ । यी आँखाका समस्याका बारेमा कुरा गर्दा धेरै नै छन् । केराटोकोनस पनि आँखासँग जोडिएको एक गम्भीर समस्या हो । केराटोकोनस आँखामा मुख्यरूपमा कर्नियासँग जोडिएको एक रोग हो । जसले कर्नियाको आकारलाई बदलिदिन्छ । आँखाको सबैभन्दा बाहिरी तहलाई स्कलेरा भनिन्छ भने स्कलेराको अगाडिको पारदर्शी भागलाई कर्निया भनिन्छ । यो रोगमा यही कर्नियाको आकार बदलिन्छ । मूलरूपमा कर्निया गोलाकार हुन्छ । तर, केराटोकोनस भएपछि यसको आकारमा परिवर्तन आउँछ, विस्तार चुच्चो हुन्छ । कर्निया पातलो हुन्छ । कर्नियाको आकारमा आएको यस परिवर्तनलाई केराटोकोनस भनिन्छ ।

कुन उमेरमा यो बढी हुने गर्दछ ?
केराटोकोनस सामान्यतया किशोरावस्था या २०-२२ वर्षका युवामा देखिने गर्दछ । तर, यो बाल्यावस्थाबाट नै सुरु हुन्छ । कर्नियाको आकारको परिवर्तन धेरै वर्षमा हुने गर्दछ । यो एक्कासी आउने समस्या होइन ।

▪️केराटोकोनस आँखासँग जोडिएको एक गम्भीर समस्या हो ।

▪️हामीकहाँ केराटोकोनसका बिरामी धेरै छन् । यसको पहिचानका लागि हामीले यो अभियान चलाउँदै छौँ ।

▪️ हिजोआज प्रविधिको विकाससँगसँगै आँखा रोगको उपचार पनि सहज हुँदै गएको छ ।

▪️बेला-बेलामा आँखाको परीक्षण गर्दा आँखा स्वस्थ र तन्दुरुस्त हुन्छ ।

▪️चालीस वर्ष उमेर पुगेका सबैले नियमित आँखा जाँच गराउनु राम्रो हुन्छ ।

▪️केराटोकोनस यही कारणले हुन्छ भन्ने अहिलेसम्म थाहा छैन ।

▪️केराटोकोनस भएपछि दृष्टिमा कस्तो प्रकारको परिवर्तन आउँछ ?

जब कोही व्यक्तिमा केराटोकोनसको समस्या हुन्छ तब उसको दृष्टिमा दुई प्रकारको परिवर्तन आउँछ । कर्नियाको गोलो आकार परिवर्तन भएर कोण आकार हुन्छ । चिल्लो सतह पनि विकृत हुन्छ । यस परिवर्तनलाई अनियमित दृष्टिवैषम्य (irregular astigmatism) भनिन्छ । जसलाई चस्मा लगाएर पूरै तरिकाबाट ठीक गर्न सकिँदैन । जसरी कर्नियाको अघिल्लो भाग उठ्छ, भिजनमा स्पष्ट हुँदैन । नजिकका वस्तुलाई मात्र स्पष्ट देखिन्छ । जसका कारण व्यक्तिले धेरै पटक नयाँ चस्मा फेरिरहने गरेको पाइन्छ ।

केराटोकोनसका के-कस्ता लक्षण पाइन्छ अर्थात् कसरी केराटोकोनस भएको थाहा पाउने ?
सामान्यतः किशोरावस्थामा एउटा या दुईवटै आँखाको भिजन विस्तारै खराब हुँदै जान्छ । एउटै आँखाले देख्दा मानिसको दोहोरो दृष्टि हुन सक्छ । उज्यालो चमकदार रोशनीमा प्रभामण्डलजस्तो देखिन्छ, एउटै चिज दुइटा जस्तो देखिन्छ । आफ्नो दृष्टि विस्तारै विकृत भएको अनुभव हुन्छ । यसका लक्षण विस्तारै देखिन्छ । जसका कारण धेरै पल्ट यसको सही पहिचान हुन नसकेर अन्य उपचार भइरहेको पनि पाइन्छ । यसलाई पत्ता लगाउन केही कठिन रहेका कारण पनि यस्तो भएको हो ।

केराटोकोनस हुनुको कारण ?
केराटोकोनस यही कारणले हुन्छ भन्ने अहिलेसम्म थाहा छैन । केही अध्ययनहरूका अनुसार यसलाई वंशाणुगत भनिएको छ । केराटोकोनसका बिरामी आफ्ना आँखालाई धेरै मिच्ने गर्दछन् जसका कारण छिटो यसको विकास हुने गर्दछ ।

केराटोकोनसको शंका कतिबेला गर्ने ?
घरमा कसैलाई योभन्दा पहिला केराटोकोनस भएको, आफ्ना आँखालाई धेरै मिचिरहने गरेको पाइएमा यसको शंका गर्न सकिन्छ । देखिरहेको हुन्छ तर प्रष्ट नदेखिएको अवस्थामा यसको शंका गर्न सकिन्छ ।

यसको जटिलता के हुन सक्छ ?
केही परिस्थितिमा तपाईंको कर्नियामा छिट्टै सुनिन सक्छ र अचानक कम दृष्टि हुन्छ । यो एक यस्तो अवस्थामा हुन्छ जसमा कर्नियाको भित्री पत्र टुट्छ । जसका कारण तरल पदार्थ कर्निया (हाइड्रोप्स)मा प्रवेश गर्छ । जसले तपाईंको दृष्टिलाई प्रभावित गर्दछ । पछि गएर कर्निया प्रत्यारोपण सर्जरीको पनि आवश्यकता पर्न सक्छ ।

▪️पहिला-पहिला केराटोकोनस मरुभूमि भएको ठाउँका व्यक्तिमा धेरै हुन्छ भन्ने गरिन्थ्यो तर पछिल्लो समय हामीकहाँ पनि धेरै नै देखिएको छ ।

▪️केराटोकोनसको उपचार तपाईंको अवस्थाको गम्भीरता र यो कत्तिको छिटो प्रगति भइरहेको छ भन्ने कुरामा निर्भर गर्दछ ।

▪️कोर्नियल कोलाजेन क्रस-लिकिंकले यसलाई ढिलो वा रोक्न संकेत गर्न सकिन्छ ।

▪️तपाईंको दृष्टिमा सुधार केराटोकोनसको गम्भीरतामा निर्भर गर्दछ । हल्कादेखि मध्यम केराटोकोनसलाई चस्मा वा कन्ट्याक्ट लेन्सले उपचार गर्न सकिन्छ ।

▪️मेट्रिका आँखा अस्पतालमा आँखासम्बन्धी जाँचका लागि नेपालमा अन्यत्र नभएका उपकरण रहेका छन् ।

▪️मेट्रिका आई सेन्टरबाट रिफ्रेक्टिभ सर्जरीमा उत्कृष्ट सेवा प्रदान भइरहेको छ ।

▪️नेपाललाई रिफ्रेक्टिभ सर्जरीको उत्कृष्ट गन्तव्य बनाउने अभियानमा हामी लागेका छौँ ।

▪️केराटोकोनसको निदान कसरी गर्ने ?

अस्पतालमा चिकित्सकले यसको निदान गर्छन् । यसको निदानका लागि केही टेष्ट आवश्यक हुन्छ जुन हामीकहाँ उपलब्ध छ । मेरो जानकारीमा भएसम्म नेपालमा अन्यत्र यसको टेष्टका लागि यस्तो उपकरण छैन । केही अस्पतालमा होला । स्क्यानरको माध्यमबाट यसको पत्ता लगाउन सकिन्छ । समयमै यसको निदान भयो भने केही बचाउन सकिन्छ । सुरुमा निदान हुन नसक्दा यसको जटिलता बढ्दै गएको हो ।

हामीकहाँ यो समस्या कस्तो छ ?
पहिला-पहिला त यो रोग बढी मरुभूमि भएको ठाउँमा हुन्छ भन्ने गरिन्थ्यो तर पछिल्लो समय हामीकहाँ पनि यो रोगका बिरामी धेरै नै देखिएका छन् । यसअघि हामीले थाहा नपाएर हो या अन्य डाइग्नोसिस भएर हो । पछिल्लो समय यो समस्या लिएर अस्पतालमा आउने बिरामीको संख्या निकै छ । यसको डाइग्नोसिसका लागि हामीले धनगढीदेखि काँकडभित्तासम्म अभियान नै चलाउँदै छौँ । सजिलै यसको पहिचान होस् र बिरामीलाई राहत होस् भनेर यो अभियान चलाइरहेका छौँ । हामीकहाँ केराटोकोनसका बिरामी धेरै छन् । यसको पहिचानका लागि हामीले यो अभियान चलाउँदै छौँ ।

यसको उपचार ?
केराटोकोनसको उपचार तपाईंको अवस्थाको गम्भीरता र यो कत्तिको छिटो प्रगति भइरहेको छ भन्ने कुरामा निर्भर गर्दछ । सामान्यतया केराटोकोनसको उपचार गर्ने दुई तरिकाहरू छन् । रोगको प्रगतिलाई सुस्त बनाउने र तपाईंको दृष्टि सुधार गर्ने ।
यदि तपाईंको केराटोकोनस बढिरहेकोे छ भने, कोर्नियल कोलाजेन क्रस-लिकिंकले यसलाई ढिलो वा रोक्न संकेत गर्न सकिन्छ । यो एउटा नयाँ उपचार हो जसमा तपाईंलाई भविष्यमा कर्निया प्रत्यारोपणको आवश्यकता हुनबाट रोक्न सक्ने क्षमता छ । यद्यपि यो उपचारले केराटोकोनसलाई उल्टाउँदैन वा दृष्टि सुधार गर्दैन । तपाईंको दृष्टिमा सुधार केराटोकोनसको गम्भीरतामा निर्भर गर्दछ । हल्कादेखि मध्यम केराटोकोनसलाई चस्मा वा कन्ट्याक्ट लेन्सले उपचार गर्न सकिन्छ । यो सम्भवतः दीर्घकालीन उपचार हुनेछ । केराटोकोनस भएका केही व्यक्तिहरूमा कोर्निया उन्नत रोगले दाग हुन्छ वा कन्ट्याक्ट लेन्स लगाउन गाह्रो बनाउँछ । यी व्यक्तिहरूमा कर्निया प्रत्यारोपण शल्यक्रिया आवश्यक हुन सक्छ ।

मैले फेरि फरक प्रसंगतिर मोडेँ डा. साहेबलाई । तपाईंसँग बसेपछि लेजर सर्जरीका विषयमा रहेको जिज्ञासालाई नमेटीकन छोड्न मन लागेन । लेजर प्रक्रियाबाट आँखाको शल्यक्रिया गर्ने नेपालका थोरै डाक्टरहरूमध्ये यहाँ एक हुनुहुन्छ, के हो लेजर सर्जरी ?
लेजर सर्जरी निकै कम्प्लेक्स सर्जरी हो । यसले आँखामा प्लस-माइनस पावर भएका व्यक्तिहरूलाई उनीहरूको पावर मिलाएर चस्मा लगाउनुनपर्ने बनाउनु हो । जुन सर्जरी गर्न एक मिनेटमात्रै लाग्छ । यसमा न त दुखाइ हुन्छ न त अस्पताल बस्नु नै पर्छ । प्रक्रिया भने लामो र जटिल हुन्छ । यसका लागि अब्बल विशेषज्ञ नै आवश्यक पर्छ । चस्मा लगाउनुपर्ने बाध्यता जसका लागि छ उनीहरूलाई यसको झन्झटका बारेमा बढी थाहा हुन्छ । स्विमिङ गर्ने बेलामा, यात्राका क्रममा कतै चस्मा फुटेमा, सेना–प्रहरीमा जागिरका लागि जाँदा यो ठूलो बाधक बन्छ । यसका साथै गृहिणीलाई घरमा सधैँ चस्मा लगाएर बसिरहनुपर्दा झन्झट हुन्छ नै । यो झन्झट कम गर्दा उनीहरूलाई सहज महसुस हुने मात्रै हैन ‘कन्फिडेन्स लेबल’ पनि बढ्छ । जुन सेवा नेपालमा उपलब्ध छ । यो सेवा सर्वसुलभ बनाउन र सबैको पहुँचमा पुर्‍याउन हामी लागिपरिरहेका छौँ । तस्बिर : किशन अर्याल/हिटा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?