रास्वपा सांसद श्रेष्ठको ‘अडियो टेप’ प्रकरण :

मन्त्री बन्नका लागि व्यवसायी प्रसाईंसँग साढे दुई करोडको ‘डिल’

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको मेडिकल व्यवसायीसँग पैसा ‘डिल’ गर्दै गरेको ‘अडियो टेप’ सार्वजनिक भएको छ । सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएको हो । कपुरबोट मिडिया नामक अनलाइनमा सार्वजनिक अडियोमा सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको सुनिन्छ । स्वास्थ्यमन्त्री बन्न पार्टीका केही मान्छेले पैसा मागेको भन्दै श्रेष्ठले प्रसाईंसँग दुई करोडमा कुरा मिल्न सक्ने बताउनुभएको छ । अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाउनुभएको छ । उहाँले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको छ । तत्काल एक करोड भए पनि मन्त्री बनाउन ‘पार्टीको कोर टिम’ तयार रहेको उहाँको भनाइ छ । बाँकी चेक दिन सकिने उहाँको भनाइ छ । ‘हामीले स्वास्थ्य पाउने भयौँ । मलाई साढे दुई जति चाहियो भनेका छन् । मेरो पक्का चाहिँ भयो,’ श्रेष्ठले प्रसाईंलाई भन्नुभएको छ, ‘आज मैले फिक्स गर्नुछ । म फेरि आर्थिकमा त्यतिसारो छैन । मन्त्री पनि बन्नुप¥यो । अब यो स्वास्थ्य क्षेत्रलाई पूरै धोइपखाली र सुधार पनि गर्नुप¥यो । मैले धेरै सुधार पनि गर्छु, त्यसमा हजुरहरूको सहयोग, सपोर्ट चाहियो भन्ने कुरा हो ।’

उहाँले पार्टीमा पैसा कसले मागेको हो भन्ने खुलाउनुभएको छैन । तर, ‘रवि (सभापति लामिछाने) सरलाई सहयोग गर्ने कोर टिमले मागेको’ अडियोमा बताउनुभएको छ । ‘पार्टीको कुरा गर्दा दुई/तीनजना छुट्टै हुनुुहुन्छ, सुरुआती क्षणदेखि नै सहयोग गर्ने रवि सरलार्ई । त्यही टिमबाट मलाई कुरा आएको हो । फेरि उधारो हुँदैन भनेका छन्,’ श्रेष्ठले भन्नुभएको छ, ‘मैले रवि सरलाई भन्दा पनि उहाँ देखा पर्नुभएको त छैन । पार्टीलाई नै जान्छ भनेका छन् । कसरी गर्छन् थाहा छैन ।’ अडियोअनुसार प्रसाईंले दिनसमेत तयार हुनुभएको छ । तर, त्यसका लागि एक÷दुई दिन समय लाग्ने र भेटेर फाइनल गर्ने प्रसाईंले बताउनुभएको छ । त्यसका लागि आफ्नो काम गरिदिनुपर्ने प्रसाईंको शर्त छ । जुन शर्त मान्न श्रेष्ठ तयार हुनुभएको छ । माघ २ गते भेट्ने प्रसाईंले आश्वासन दिनुभएको छ । तर, उहाँहरूबीच भेट भयो या भएन त्यसबारे अडियोमा केही खुलेको छैन । गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपा सामेल भएको थियो । रास्वपाबाट सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो भने अरू दुई मन्त्री र एकजना राज्यमन्त्री थिए ।

ढाकाकुमार श्रेष्ठ भने मन्त्री बन्नुभएको थिएन । पछि सभापति लामिछानेको सांसद पद गुमेपछि रास्वपा सरकारबाट बाहिरियो । तर, अहिले पनि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । गत निर्वाचनभन्दा केही अघि मात्रै गठन भएको रास्वपाले सुशासनबारे चर्का नारा लगाएको थियो । तर, एकपछि अर्को विवादित प्रकरणमा पार्टीका सांसदहरू जोडिन थालेपछि चर्को आलोचना भइरहेको छ । सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा पनि चर्को आलोचना भएको थियो । अझै राहदानी प्रकरणमा पनि सत्तासँग साँठगाँठ गरेको आरोप छ ।

यसअघि पनि लागेको थियो आर्थिक हिनामिनाको आरोप
रास्वपा सांसद श्रेष्ठ विवादमा तानिएको यो पहिलोपटक भने होइन । यसअघि पनि उहाँ आर्थिक विवादमै तानिनुभएको थियो । उहाँमाथि एक सहकारीमा पैसा हिनामिना गरेको आरोप उहाँमाथि लागेको थियो । एक समय उहाँ सञ्चालक रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडले केही महिनायता बचतकर्ताको पैसा फिर्ता गर्न सकेको छैन । श्रेष्ठले खोलेको पोखरा महानगरपालिका–७ स्थित सहकारीका बचतकर्ता पैसा फिर्ता नपाएपछि हैरान बनेका छन् । उनीहरूले प्रशासन र पुसको अन्तिम साता महानगरलाई समेत गुहारेका छन् ।

महानगरले तीन महिनाभित्र रकम तिर्न सहकारीलाई निर्देशन पनि दिएको थियो । अहिले सहकारी बन्द छ । सहकारीमा चार महिनायता कुनै पनि कारोबार भएको छैन । सांसद श्रेष्ठ राजनीतिमा लाग्ने भन्दै गत कात्तिकबाट सहकारीको नेतृत्व शनि पाठकलाई दिँदै बाहिरिनुभएको थियो । कात्तिक ९ मा बसेको संस्थाको अधिवेशनमा श्रेष्ठले पाठकलाई सहकारीको नेतृत्व सुम्पिनुभएको थियो । तर, हिसाबकिताबको बरबुझारथ नगरेपछि नयाँ नेतृत्वले काम गर्न नसकेको हो । श्रेष्ठ अध्यक्ष रहँदा बचतकर्ताको रकम आफ्नै व्यवसायमा लगेर फसाएको आरोप छ । सहकारीमा हाल १०५ जना सेयर सदस्य छन् । घटनापछि श्रेष्ठले भने पत्रकार सम्मेलन गरेर आफूलाई फसाउन खोजिएको बताउनुभएको थियो ।

२४ घण्टे स्पष्टीकरण, अनुशासन समितिले छानविन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठमाथि छानविन गर्ने भएको छ । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि पार्टीले सत्यतथ्य छानविन गर्ने भएको हो । छानविन गरेर तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार छानविन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिले यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशनसमेत दिएको छ ।

आरोप पुष्टि भए जानसक्छ पद
दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि रास्वपा सांसद श्रेष्ठमाथि पार्टीले छानविन गर्ने भएको छ । छानविनसम्मका लागि उहाँलाई निलम्बन गरिएको छ । छानविनमा उहाँ दोषी ठहरिए उहाँको पद सधैँका लागि जान सक्नेछ । आरोप प्रमाणित भए पार्टीले निलम्बित गरेको पत्र संसद् सचिवालयमा पठानेछ र संसद् सचिवालयमा आएको पत्र सभामुखले प्रतिनिधिसभाको बैठकमा पढेर सुनाएपछि पद रिक्त हुन्छ । श्रेष्ठ आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद हुनुभएको थियो । उहाँको पद गुमेपछि आदिवासी जनजाति क्लष्टरबाट दोस्रो सूचीमा रहनुभएका मेघबहादुर आले सांसद बन्नुहुनेछ ।

थप अनुसन्धान गर्न प्रहरी र अख्तियारमा निवेदन दिन्छौं : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयंले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताउनुभएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?