‘विगतभन्दा फरक किसिमको बजेट आउँछ’

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट विगत वर्षहरूभन्दा भिन्न विशेषतायुक्त हुने दाबी गर्नुभएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजना अघि बढाउने गृहकार्य भइरहेको दाबी गर्नुभएको हो ।

नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अघि बढाउने तयारी रहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले मुलुकको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको ठूलो योगदान रहिआएको भन्दै नेपालले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको उहाँले जिकिर गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ । आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ । समग्र स्वास्थ्य सुविधामा जनताको पहुँच वृद्धि भएको छ । लैंगिक सशक्तीकरणमा उल्लेख्य सुधार भएको छ ।

आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसंख्याको पहुँच पुगेको छ । विद्युत् विकास, सडक घनत्वमा सुधार भइरहेको छ ।’
आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रको उपलब्धि दिगो रहन नसक्ने भन्दै उहाँले आफ्नो नेतृत्वमा गठित सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने, निजी क्षेत्रमैत्री आर्थिक एवं मौद्रिक नीतिमा पहल गर्ने महत्वपूर्ण निर्णय गरेकोसमेत स्मरण गराउनुभयो । त्यसयता व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि र आर्थिक क्षेत्रसँग सरोकार राख्ने सबैसँग अन्तरक्रिया गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?