वर्तमान गठबन्धनसँग राजनीतिक विचार छैन : ओली

हिमालय टाइम्स
Read Time = 7 mins

नेपालगञ्ज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनले कुकर्म गरिरहेको आरोप लगाउनुभएको छ । नेपालगञ्जमा सोमबार युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकार भएको बताउनुभयो । उहाँले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाउनुभयो । ‘कुनैबेला पञ्चायत पनि थियो । तर, हाम्रै अगाडि गल्र्यामगुर्लुम ढल्यो । घाम रहुन्जेल पञ्चायत रहन्छ भनिन्थ्यो । हामीले केही समयपछि नै ढल्छ भन्यौँ । हामीले निरंकुश राजतन्त्र पनि ढल्छ भनेका थियौँ । त्यो पनि समाप्त भयो । आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसमा पनि कतिपय विकृतिहरू आएको छ ।’

उहाँले गठबन्धनले देशलाई ओरालो यात्रामा लगेको आरोप लगाउनुभयो । ओलीले भन्नुभयोे, ‘कतिपय विकृति विसंगतिहरू जस्तै गठे संस्कृति । यो गठबन्धनको संस्कृति राजनीति छैन । विचार छैन । जेसुकै भए पनि, जसरी भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने, कुकर्म गर्ने खालको स्थिति बनाएको छ । यसले देशलाई ओरालो लगाएको छ । तर, देशलाई सही बाटोमा ल्याउन सकिन्छ ।’ ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको मूल फुटेको बताउनुभयो । उहाँले एमालेले काम गर्न सकिन्छ भनेर देखाएको बताउनुभयो ।

उहाँले अहिलेसम्म एमाले सरकार नभएका कारण कोशी नदीमा पानीजहाज चल्न नसकेको बताउनुभयो । एमाले सरकार नभएका कारण कोशी नदीमा पानीजहाज चलाउने योजना पनि ओझेलमा परेको उहाँको भनाइ थियो । ‘नेकपा एमालेले भूकम्पले भत्किएका घरहरू निर्माण गरेर हस्तान्तरण गरेको थियो’, उहाँले भन्नुभयोे, ‘हामी सरकारमा भएको भएर कोशी नदीबाट कलकत्तासम्म पानीजहाज चलाउने थियौं । अहिले त्यो काम भएको छैन । फेरि हामी सरकारमा गएपछि त्यो काम अघि बढ्छ ।’ आफ्नो नेतृत्वको सरकारले तुइन विस्थापित गरेको, मध्यपहाडी लोकमार्गको काम अगाडि बढाइएको उहाँले सुनाउनुभयो । अहिलेको गठबन्धन सरकारले जनताका लागि कुनै काम नगरेको उनले आरोप लगाउनुभयो । ‘म प्रधानमन्त्री भएको बेला केही समय पाएका थियौँ । त्यो बेला हामीले काम गर्न सक्छौँ भन्ने कुरा देखाएका थियौँ’, उहाँले भन्नुभयोे ।

राष्ट्रिय युवा संघलाई उहाँले एमालेको बलियो खम्बाको रूपमा व्याख्या गर्नुभयो । ओलीले पार्टीविरुद्ध घेराबन्दी हुँदा युवा संघ सडकमा उत्रिएको स्मरण गर्नुभएको थियो । युवा संघमा जिम्मेवारी नपाउनेहरूलाई पार्टीले थप जिम्मेवारी दिने ओलीले आश्वासन दिनुभयो । ‘जसले यहाँ ठाउँ पाउनुभएको छैन उहाँहरूले पार्टीमा ठाउँ पाउनुहुने छ’, उहाँले भन्नुभयो, ‘हाम्रा कार्यकर्ताहरूलाई कसरी काम लगाउनुपर्छ हामीलाई थाहा छ ।’

ओलीले नेकपा एमाले समाजका सबै वर्ग र समुदायको पार्टी भएको बताउनुभएको छ । ओलीले नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालीको आकांक्षा पूरा गर्ने स्पष्ट पार्नुभयो । ‘नेकपा एमाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र होइन सशक्त युवाको पनि पार्टी हो’, ओलीले भन्नुभयो । युवाहरूले इतिहास होइन भविष्यको कुरा गर्नु र सोच्नुपर्ने उहाँले बताउनुभयो । भविष्यको तयारी, काम, आन्दोलन, संकल्प, योजना र अनुशासनको कुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । युवाले भविष्य कस्तो बनाउने भन्ने कुरा सोच्नुपर्ने ओलीले बताउनुभयो । युवाहरू सूर्य जस्तै अनुशासित हुनु पर्नेमा उहाँको जोड छ । अनुशासनमा नबस्ने व्यक्ति र संगठन कुबाटोमा जाने ओलीले प्रष्ट पार्नुभयो । युवालाई देशमा नै बसेर शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर एमालेले सिर्जना गर्ने ओलीले बताउनुभयो । विदेशमा रहेको नेपाली युवालाई छिट्टै घर फर्कने वातावरण बनाउने ओलीको भनाइ छ ।

आगामी निर्वाचनमा एमाले पहिलो शक्ति हुन्छ : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै पोख्रेलले आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने र बहुमतको सरकार निर्माण गर्ने दाबी गर्नुभएको हो ।

उहाँले अहिलेको निर्वाचनमा पनि जनताको लोकप्रिय पार्टी एमाले रहेको पुष्टि भएको बताउनुभयो । कांग्रेस एक्लै निर्वाचनमा होमिन डराएको भन्दै उहाँले भन्नुभयो, ‘अघिल्लो निर्वाचनमा सबै पार्टी एक्लाएक्लै निर्वाचनमा होमिएको भए कांग्रेसले अहिलेभन्दा धेरै सिट जित्न सक्थ्यो, एमालेले दोब्बर सिट हासिल गथ्र्यो र सरकार बनाउने थियो ।’ उहाँले अहिले नेपालको आर्थिक अवस्था दयनीय रहेको बताउनुभयो । अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै उहाँले अहिलेको गठबन्धनको आयु धेरै नभएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?