बैतडी । गत मंसिरमा भएको निर्वाचनमा भोट खसालेर रोजगारीका लागि भारत पस्नुभएको थियो बझाङको केदारस्यूँ गाउँपालिका-५ बाँझका ६० वर्षीय मने बोहरा । भारतको पिथौरागढमा उहाँले पाँच महिना काम गर्नुभयो । पाँच महिना काम गरेर विसु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने निधो गर्नुभयो, र उहाँसँगै मजदुरी गरिरहेका गाउँका अन्य १० जना पनि सोहीअनुसार मंगलबार बिहान सिमानाका झुलाघाट पुगे ।
बाटोमा गाडी फेरबदल गर्दा झन्झट हुने भएकाले बझाङबाटै झुलाघाट जिप मगाए । त्यतिन्जेल भारतीय बजार झुलाघाटमा सबैले परिवारका लागि नयाँ लुगा र विसुका लागि कोसेली किने । जिप पुग्नेबित्तिकै दिउँसो तीन बजेतिर झुलाघाटबाट बझाङका लागि हिँडे । तर, जिप गन्तव्यमा पुगेन । जिपमा सवार बोहरासँगैका अन्य पाँचजना पनि बाटोमै अस्ताए । उनीहरूको परिवारसँगै विसु मनाउने सपना झौलेक भीरमै बिलायो । न त आफूले भोट खसालेका जनप्रनिधिहरू भेट्न पाए । न त उनीहरूले परिवारसँगै विसु पर्व मनाउन नै पाए ।
मंगलबार मध्यराति ११ बजेतिर से१ज ७६४ नम्बरको जिप जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा बझाङको केदारस्यूँ गाउँपालिका-सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहनुभएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता एवं सूचना अधिकारी योगेश खत्रीले जानकारी दिनुभयो । ‘क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जिप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ’, उहाँले भन्नुभयो । जिप सडकबाट पाँच सय मिटर तल खसेको छ । जिप चालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन् ।
पाँच जनाले भने दुर्घटनामा परेको जिपबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । ‘पछाडिपट्टिको भागमा बसेका थियौँ’, महेश बोहराले भन्नुभयो, उकालोमा जिप ब्याक हुन थालेपछि हाम फालेर ज्यान जोगाउन सफल भयौँ । उनीहरूले चालकलाई खोड्पे नै बास बस्न आग्रह गरेको बताएका छन् । दुर्घटनाग्रस्त जिपबाट हामफालेर सकुशल रहनुभएका जंगी बोहराले खोड्पेमै बस्न आग्रह गर्दा चालकले बागथला बस्ने भन्दै खाना खाएर हिँडाएको बताउनुभयो । ‘खाना खाएर आइहाल्यौँ, मैले त खोड्पे नै बसौँ भनेको चालकले मान्नुभएन उहाँले भन्नभुयो’ ।
सडक दुर्घटना बढ्दो
बैतडीमा नौ महिनाको अवधिमा १४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । साउनयता जिल्लामा दुई महिला र १२ पुरुष गरी १४ जनाको मृत्यु भएको हो । यही अवधिमा १३ सवारीसाधन सडक दुर्घटनामा परेका छन् । नौवटा जिप, दुईवटा मोटरसाइकल, एक ट्याक्टर र अन्य एक गरी १३ वटा सवारीसाधन सडक दुर्घटनामा परेका छन् । क्षमताभन्दा बढी यात्रु र सामान बोक्दा सडक दुर्घटना बढेको मेलौली नगरपालिका–९ का स्थानीय महेशदत्त भट्टले बताउनुभयो । मंगलबार राति दुर्घटनामा परेको जिपमा पनि क्षमताभन्दा बढी यात्रु र सामान हाल्दा नै दुर्घटनामा परेको हुनसक्ने उहाँले बताउनुभयो । ‘सामानले गाडीको पछाडीको भाग प्याक थियो, छत पनि सामानले भरिएको थियो’ उहाँले भन्नुभयो, ‘प्रहरीको चेक पोष्ट आउनेबित्तिकै पछाडिको भागमा बसेकालाई हिँड्न लगाएको थियो ।’
प्रहरीको आँखा छलेर जोखिमपूर्ण यात्रा
सवारी साधनहरूले जिल्लामा प्रहरीको आँखा छलेर क्षमताभन्दा बढी यात्रुहरू बोक्ने गरेका छन् । मंगलबार राति दुर्घटनामा परेको जिप पाँच सिट क्षमताको भए पनि चालकसहित १२ जना ओसारेको पाइएको छ भने जिपमा खाँदिने गरी ओभरलोड राखेको पाइएको छ । ‘प्रहरीले देख्ने ठाउँमा उत्रिन्थ्यौँ, बजार क्षेत्र सकिन्थ्यो फेरि पछाडि बस्थ्यौँ,’ पछाडि सवार जङ्गी बोहराले भन्नुभयो ।
झुलाघाटबाट आउने क्रममा पहिलोपटक साहिलेकमा इन्ट्री गर्दा पनि जिपमा सवार पाँचजना मात्रै रहेको बताएका बुझिएको छ । चालकले साहिलेकमा रहेको ट्राफिक पोष्टमा इन्ट्री गराउँदा चालकसहित ६ जना मात्रै रहेको बताएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख दशरथ नाथले बताउनुभयो । ‘यहाँको ट्राफिक पोष्टमा इन्ट्री भएको छ, चालकले पाँचजना मात्रै सवार रहेको देखाएका थिए, अहिले घटनापछि अगाडिको सिटमा ६ जना र जिपका पछाडि सामानमाथि पनि सवार गरी चालकसहित १२ जना रहेछन्,’ ट्राफिक प्रमुख नाथले भन्नुभयो । यात्रुहरूका अनुसार प्रहरी चेकपोष्ट र बजार क्षेत्रमा उत्रने गरेको र बजार क्षेत्र सकिएपछि फेरि चढ्ने गरेको पुष्टि भएको हो ।
मंगलबार जिप दुर्घटनामा प्रशासनिक निकायको पनि कमजोरी देखिएको छ । झुलाघाटबाट खोड्पेसम्म पाँच ठाउँमा प्रहरी चौकी रहे पनि क्षमताभन्दा बढी भार र यात्रु बोकेको बारे कुनै कारबाही नगरेको पाइएको हो । प्रशासनको आँखा छलेर जिपमा सवार भएको देखिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । ‘हामीले सबै प्रहरी युनिटमा सोध्यौँ, पछाडि मान्छे थिएन भन्ने आएको छ, अहिले घटना हुँदा पछाडि पनि सवार रहेको देखिएको छ ।’ दुर्घटनाको कारण भने खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।
जिल्लामा पछिल्लो समयमा बढ्दो दुर्घटना न्यूनीकरणलाई कम गर्न प्रशासनिक निकाय सधैँ चनाखो भइरहेको उहाँको दाबी छ । ‘दुर्घटना कम गर्न हामी सधैँ चनाखो छौँ, हामीले चनाखो भएर मात्रै भएन, चालक, सहचालक र यात्रुले पनि जिम्मेवार भइदिनु पर्यो, मंगलबारको यात्रामा जोखिमपूर्ण यात्रा रहेको देखिएको छ’ उहाँले भन्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका