नारा सुशासनको काम भ्रष्टाचार को ?

Read Time = 14 mins

✍️ श्रीमननारायण

हामी नेपालीहरू अलि बढी नै सोझा, भावुक र सम्वेदनशील हुने गर्दछौं । विनासोच-विचार र गहन अध्ययन एवं परीक्षणविनै जो कोहीलाई पनि रातारात देउता वा देउतासरह ठान्ने गर्दछौं । आफूले समर्थन दिएको, हिरो बनाएको तथा मान्यता दिएको व्यक्ति गलत पनि हुन सक्दछ, भन्ने कुरालाई मान्न पनि हामी तत्कालै तयार हुँदैनौं तर जब परिस्थिति धेरै बिग्रिन जान्छ, अनिमात्रै हामी आफ्नो निर्णयमाथि पश्चाताप गर्दछौं र आफू ठगिएको अनुभूति हुन थाल्छ ।

समकालीन नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको उदभव र पराभव यसैको संकेत हो । यति कम समयमा पराभव शब्दको प्रयोग गर्नु उचित न पनि लाग्न सकिरहेको हुन सक्दछ तर यथार्थ यही नै हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमाथि लागेको घुस मागेको आरोप र जनमत पार्टीका एक वरिष्ठ नेता तथा संघघीय सरकारमा मन्त्री भएका एकमात्र अनुहार यौनजन्य कृत्यमा सहभागी भएको भिडियो सार्वजनिक हुनु यसैको प्रमाण हो ।

स्थापित राजनीतिक दलहरूको कमीकमजोरी र असफलतालाई औंल्याएर जनताको आक्रोशलाई आफ्नो आन्दोलनको ऊर्जाको स्रोत बनाई जनतामा लोकप्रिय बन्नु कठिन कार्य हुँदैन । जनाक्रोशलाई आन्दोलनमा परिणत गर्नु र सोही आन्दोलनको बलमा चुनावी सफलता हासिल गर्नुलाई पनि स्वभाविक नै मानिन्छ तर चुनावमा विजयी भएपछि जनता सामु व्यक्त गरिएका वाचा र प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउने चुनौतीको सामना पनि गर्नुपर्छ । सार्वजनिक जीवन बिताउनेहरूको जीवन पारदर्शी, स्वच्छ र इमानदारीपूर्ण हुनुपर्छ । स्थापित राजनीतिक दलहरूको चर्को विरोध गरेर अपेक्षाकृत राम्रो, स्तरीय एवं पारदर्शी राजनीति गर्ने प्रतिबद्धता गर्नेहरूले वहाना बनाउन मिल्दैन । सडक आन्दोलन र चुनावका बेलामा अन्य सवै दल खराब तथा एक्लो आफ्नो दलमात्रै राम्रो रहेको दाबी गर्नेले चुनावपश्चात आफ्नो दल र नेतालाई अरूभन्दा राम्रो भएको सावित गर्न सक्नुपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रातारात चर्चामा आएका छन् । एक पत्रकारको रूपमा उनले उठाएका विषयहरूको प्रभाव न त जनताको जनजीवनमा पर्न सक्यो, न त त्यस समाचारको प्रभाव सरकारमाथि नै पर्‍यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रातारात चर्चामा आएका छन् । एक पत्रकारको रूपमा उनले उठाएका विषयको प्रभाव न त जनताको जनजीवनमा पर्न सक्यो, न त त्यस समाचारको प्रभाव सरकारमाथि नै पर्‍यो । उनी पत्रकार हुँदा पनि उनको नाममा देश भरिका अनेकौं गाउँपालिका र नगरपालिकाबाट कमिसन उठाइएको विषयले पनि निकै चर्चा पाएको छ । हालै रवि लामिछाने स्वयंले नै सञ्चार माध्यममा बताए अनुसार कुनै बेइमानले मेरो नाम दिएर पैसा असुली ग¥यो भने मैले त्यसको सजाय भोग्नु पर्दैन भन्दै त्यस बेइमानलाई नंग्याउन आफूलाई आउँछ भनेका छन् । हामी भ्रष्टाचारको पुराना फाइल खोल्नुपर्छ भन्ने दलका मान्छे हौं तर चुनाव हराउने षड्यन्त्र भए सहन सकिँदैन भनेका छन् । उनको यस वक्तव्यले नै भ्रष्टाचारविरुद्धको उनको अभियानमाथि शंका गर्ने ठाउँ दिन्छ । कुनै जमानामा उनले भ्रष्टाचारको विरोध गरेका थिए, यसको अर्थ उहाँलाई सधैंभरिको निम्ति इमानदार मानिरहनुपर्छ भन्ने त होइन नि ? आफूमाथि भ्रष्टाचारको आरोप लागे कानुनी कारबाही भोग्न तयार रहेको चुनौती उनले दिन सक्नुपर्छ । विनाकुनै राजनीतिक दर्शन, आर्थिक एवं सामाजिक दृष्टिकोण प्रष्ट नीति एवं कार्यक्रम तथा स्थापित एवं मान्यता प्राप्त नेतृत्वको अनुपस्थितिमा गठित राजनीतिक संगठन आँधी-बेरी झैं तीव्र गतिमा आउँछ र एक-दुई चुनावपश्चात् उल्कापात झैँ विलिन हुन बेर पनि लाग्दैन ।

रवि लामिछानेको इमानदारी, पारदर्शिता र नैतिकतामा आधारित राजनीति गर्ने दाबीको यथार्थबाट देश अवगत भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठ किसान सहकारी संस्थाको आर्थिक समस्या कसरी सुल्झाउने भन्ने विषयमा चिन्तित छन् । आफू अध्यक्ष हुँदा १ करोड रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । पदबाट हट्ने बेलामा डा.श्रेष्ठले नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिन खोजेको आरोप छ । एउटा आरोपबाट उन्मुक्ति पाउने प्रयास गरिरहेकै बखत डा.श्रेष्ठले आफू मन्त्री बन्न दुई करोड रकम चाहिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेर फोन संवादको अडियो सार्वजनिक भयो ।

उक्त अडियोमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै उनले प्रसाईंसँग रकमका विषयमा कुरा गरेका छन् । मन्त्री बन्न रकम मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा.श्रेष्ठलाई सांसद सदस्यको रूपमा काम गर्नमा रोक लगाएको छ, साथै पार्टी केन्द्रीय अनुशासन समितिसमक्ष सफाइ प्रस्तुत गर्न पनि भनेको छ तर यो समिति पार्टीको आन्तरिक समिति भएको तथा अन्ततः यसले आफ्नो सांसदलाई चाखो सावित गर्ने र लागेको आरोपलाई आधारहीन बताउने निश्चित छ । तसर्थः यसको छानविन संसद्को संयुक्त जाँच समितिबाट र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुनु आवश्यक छ ।

उपचुनावमा पार्टीको प्रतिष्ठा दाउमा लागेको तथा चितवन र तनहुँको चुनाव जित्नै पर्ने बाध्यात्मक अवस्थाका कारण पार्टीले चुनावी फण्ड जम्मा गर्न खोज्नु स्वभाविक नै हो । सबै दलहरू यो काम गर्छन् । रास्वपा पनि दूधले धोएको होइन । यो गम्भीर आरोप हो, यसको छानबिन हुनुपर्छ । संघीय संसद्ले डा.ढाकाकुमार श्रेष्ठको सांसदको पद खारेज गर्ने प्रक्रिया अघि बढाउनुपर्छ । स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुर्छ भन्ने उनको भनाइले प्रष्ट रूपमा यो पार्टी भ्रष्टाचारको पक्षधर रहेको सावित गर्दछ । आखिर कसैसँग सुरुमै पैसा लिइसकेकाले मन्त्री बनेपछि त्यस व्यक्तिको विरुद्धमा कसरी कुनै निर्णय लिन सक्नेछ ? एक दिन भ्रष्टाचारको विरोध गर्ने र भोलिदेखि स्वयं पनि यसै कार्यमा लाग्ने भएपछि कोही आफूलाई इमानदार भएको दाबी कसरी गर्न सक्दछ ? चुनावको मुखमा आएर रास्वपाका नेताको यस्तो कृत्य सार्वजनिक भएपछि उप-चुनाव जित्न पनि अब यस पार्टीको निम्ति फलामको च्युरा चपाउनु सावित हुनेछ ।

मन्त्री पद पनि लिने, शपथ ग्रहण नगर्ने, फेरि शपथ ग्रहण पनि, राजीनामा पनि, गठबन्धनमा सामेल पनि हुने, गठबन्धनकै दलको विरोध गर्ने, आफ्नै सरकारको आलोचनासमेत गर्ने काम जनमत पार्टीले गर्दै आएको छ ।

स्वच्छ छविको पूर्वप्रहरी प्रमुख रमेश खरेल बाराबाट ‘घण्टी’ छाप लिएर नै चुनाव लडेका छन् । उनलाई पनि आफनो बचाउ गर्न कठिन भइरहेको होला । नेपाली राजनीतिमा विना कुनै संघर्ष, त्याग, बलिदान र समर्पण रातारात चम्किएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीप्रति जनतामा वितृष्णा जाग्न थालेको छ । यसको प्रमुख कारण उपरोक्त दलका नेताहरूले आफूलाई अन्य नेता, पार्टीहरूको भन्दा आफूलाई फरक धारको राजनीति गर्ने, आर्थिक, अनुशासन र पारदर्शीतालाई महत्व दिने तथा इमानदारीलाई महत्व दिने बताएका थिए तर चुनावपश्चात जसरी पद र सत्ताका लागि व्यग्रता देखाए त्यसले उपरोक्त नयाँ दलहरूलाई जनतामाझ अलोकप्रिय बनाउने काम गरेको छ । जनमत पार्टी एक दशकभित्रमै आफ्नो सैद्धान्तिक अडानबाट जसरी विचलित हुँदै गएको छ, यसले तराई मधेसमा राजनीति गर्न चाहने नयाँ संगठनहरूको सम्भावनालाई नै समाप्त गरिदिएको छ । हालै यस पार्टीका एकजना संघीय सांसद र पूर्वमन्त्रीको यौनजन्य कृत्यसम्बन्धी भिडियो सार्वजनिक भएपछि पार्टीको छविमाथि नकारात्मक असर परेको छ । सुरुमा नेपाललाई देश नै नमान्ने, त्यसपछि संविधान नै नमान्ने, जनमत संग्रहको कुरा, १० लाख रोजगारका कुरा, गतवर्ष जनकपुरधाममा एकजना इन्जिनियरमाथि भ्रष्टाचारको आरोप लगाई कलोमोसो गर्ने काम, कथित किसान समस्याको नाममा सांकेतिक विरोध प्रदर्शनलगायत घटनाले के सावित गरेको छ भने यो पार्टी कुनै समस्याप्रति गम्भीर छैन ।

प्रतिकात्मक राजनीतिलाई मात्रै यसले आन्दोलन सम्झेको छ । पाँच महिनाअघि सम्पन्न निर्वाचनमा यसले राम्रो जनसमर्थन हासिल गर्‍यो तर संघीय सरकार एवं प्रादेशिक सरकारमा केवल गतिलो मन्त्रालयका लागि मात्रै बार्गेनिङ गरिरहृयो । मन्त्री पद लिने, शपथ ग्रहण नगर्ने, फेरि शपथ ग्रहण पनि राजीनामा, गठबन्धनमा सामेल हुने, गठबन्धनकै दलको विरोध गर्ने, आफ्नै सरकारको आलोचनासमेत गर्ने काम यसले गर्दै आएको छ । यसले संघीय सरकारमा सामेल हुँदा जनताका जल्दा-बल्दा समस्यालाई उठाउने काम गरेन, त्यसलाई सरकारको नीति एवं कार्यक्रमको आङ बनाउने काम गरेन, केबल सस्तो लोकप्रियता पाउने काम भइरहेको छ ।

नवोदित राजनीतिक दलहरू देशका पुराना र स्थापित राजनीतिक दलहरूको विरोध त गर्छन् तर नक्कल पनि तिनकै गर्छन् चाहे त्यो भ्रष्टाचारको विषय हो, नेतृत्वको मनोमानी होस् अथवा कार्यकर्ताको मूल्यांकन । तसर्थ नेपाली जनता आफूलाई नयाँ दलहरूबाट पनि ठगिएकै महसुस गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?