पञ्चकन्या पोखरीको सुन्दरता निर्मल जल, जलमै फूलेका कमल फूल

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 7 mins

सिन्धुली । वरिपरी हरियाली वनजंगलले घेरिएको, चराचुरुङगीहरुको मधुर स्वरलहरी । निर्मल जल, जलमै फूलेका कमलका फूल । स्वच्छ, हराभरा वातावरण । सबै प्रकारको सौन्दर्यले भरिपूर्ण । यो मनमोहक दृष्य हो, ‘ऐतिहासिक पञ्चकन्या पोखरी’ क्षेत्रकोे ।

ऐतिहासिक तथा धार्मिक पोखरी सानै भएपनि यसले प्रदान गर्ने आनन्द उत्कृष्ट छ । प्रकृतिसँग रमाउनेहरु पुग्नै पर्ने यो ठाउँ सदरमुकाम सिन्धुलीमाडीको पश्चिमतर्फ २० किलोमिटर दुरीमा पर्दछ । मरिण गाउँपालिका–५ घाटा पुछारस्थित मरिणखोलाको किनारमा रहेको यस पोखरीले दृश्यावलोकन तथा भ्रमण गर्न आउने पर्यटकको मनै लोभ्याउँछ ।

स्थानीयबासिका अनुसार १ बैशाख २०८० अर्थात नयाँ बर्षको दिनमात्रै पाँच हजार जना आन्तरिक तथा बाह्य पर्यटक पोखरी र प्रकृति सौन्र्दयतामा रमाएर फर्किएका छन् । अरुबेला पनि फाट्टफुट समुहमा आइरहन्छन् ।
कमलामाई नगपालिका–३ चपौलीकी सुनिता दर्नालले २०८० सालको पहिलो दिन यसै पोखरी स्थलमा बिताउनुभयो । प्राकृतिक सौन्र्दयमा रमाउनेहरुका लागि एउटा उत्कृष्ट लागेको र यहाँ घुम्न आउन धेरै खर्चिलो नभएकाले आफ्नो रोजाइमा यहि स्थान परेको उहाँले बताउनुभयो ।

अहिलेसम्म पोखरी क्षेत्र पुग्ने पर्यटकलाई प्रवेशशुल्क तिर्नु पदैन । यहाँ, वनभोजस्थल, शौचालय र खानेपानीको व्यवस्था छ । सडक संजाल सहज भएकाले एक दिनमै घुमघाम गरेर फर्कन सकिने भएकाले पनि पर्यटकको बाक्लो उपस्थित देखिएको उहाँको धारणा छ ।

पोखरीछेउमै पञ्चकन्या मन्दिर छ । बेला–बेलामा यहाँ मेला पनि लाग्छ । मन्दिरको दर्शन गर्न र प्रत्येक वर्ष धान्यपूर्णिमाका दिन मेला भर्न श्रद्धालु आउँछन् । पोखरीको आफ्नै ऐतिहासिक, सामाजिक तथा धार्मिक मुल्य र मान्यता रहेको पाइन्छ ।

यहाँ, घुमेर मनोरञ्जन लिन मात्रै होइन, आफूलाई इच्छाएको माग्ने आस्था र विश्वासका साथ रुद्री, सत्यनारायण लगायत पाठपूजा, आराधाना र दर्शन गर्न पनि आउने गर्दछन् । बाह्रै महिना पोखरीमा उत्तिकै पानी हुनु र कमलको फूल फुलिरहनु यहाँको विषेशता हो । यो पोखरीबाट पानी निकास हुँदैन ।

पञ्चकन्या पोखरीसँग सम्बन्धित किंवदन्ती अनौठा र रमाइला लाग्दा छन् । स्थानीय शम्भु माझीकाअनुसार प्राकृतिक पोखरीको नामकरण त्यहाँ बस्ने पाँच कन्या र उहाँहरूले गरेको चमत्कारका आधारमा राखिएको हो ।
‘पोखरीमा पाँचवटी देवकन्याहरुको बास थियोे । रोपाई गर्न हिल्याएर धानको बीउ राखिदिएको खेतमा रोपाहार बनेर आउँथे । कसैले खेती लगाउन नसके पञ्चकन्यालाई भाकेर गुहारेपछि भोलिपल्ट खेत रोपिएको हुन्थ्यों,’ बुढापाकालाई उदृत गदैँ उहाँले सुनाउनुभयो ।

अर्का स्थानीय केदार माझीले भन्नुभयो, ‘गाउँ पातलो थियो । भोजभतेर, काजकिरियाका लागि भाँडा अपुगहुँदा पञ्चकन्यामा रहेको मन्दिरमा आएर मागेपछि पाइहाल्ने । फेरि काम सकिएपछि ल्याएर राखिदियो, एकछिनपछि हेर्दा भाँडा छैन । आवश्यकता पर्दा सोही अनुरुप माग गर्दा पाइन्थ्यो, हामीले सुनेको किंवदन्ती हो यो ।’
पछि मानिसहरुले भाँडा सफा नगरी राखिदिने र पञ्चकन्याहरुलाई हलीगोठालेहरुले जिस्क्याउने गरेकाले अलप भएका किंवदन्ती स्थानीय ज्येष्ठ नागरिक सुनाउँछन् ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकन्या पोखरी प्रचार–प्रसारको कमी र उचित संरक्षण तथा व्यवस्थापनको अभावमा ओझेलमा थियो । पछिल्लो समय यहाँको स्थानीय सरकारकाले विकास गर्न चासो देखाएसँगै सञ्चारमाध्यमा पोखरीको प्रचारप्रसार हुन थालेपछि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको मरिण गाउँपालिका–६ हस्पिटलचोककी बासिन्दा मेनुका आरणले बताउनुभयो ।

‘पोखरीको संरक्षण र विकास गर्न मरिण गाउँपालिकाले लगानी गर्न थालेको छ । यसको अझै उचित व्यवस्थापन गरी आर्कषण थप्ने र व्यापक रुपमा मिडियाबाट प्रचारप्रसार गरेर पर्यटक भित्त्राई आम्दानीसँग जोड्नु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानकाअनुसार वनभोज स्थल, गेट निर्माण, मन्दिर निर्माण, खानेपानीको व्यवस्थालगायतका काम थालेपछि पोखरी क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।

जिल्लाकै एक मात्र प्राकृतिक पोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी पालिकाको आम्दानीको स्रोत बनाउने र जिल्लाको पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पु¥याउने लक्ष्य रहेको उहाँको भनाई छ । पोखरीको विकासका लागि गुरुयोजना बनाई काम अगाडी बढिरहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?