मनाङमाथि जावलाखेलको सानदार जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ-मस्र्याङ्दी क्लबमाथि सानदार जित हात पारेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले मनाङमाथि तीन-शून्यको उत्कृष्ट जित निकालेको हो । ‘ए’ डिभिजन लिगमा सर्वाधिक सफल क्लब मनाङमाथि जित हात पार्ने क्रममा जावलाखेलका एनकोटो मासोएवीले दुई तथा फोडे फोफानाले एक गोल गर्नुभयो ।

खेलको चौथो मिनेटमा मासोएवीको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । सुनिल खड्काको क्रसमा उहाँले गोल गर्नुभएको हो । खेलको इन्जुरी समयमा थप दुई गोल भए । थपिएको पहिलो मिनेटमा फोडे फोफानाले समिराज थोकरको क्रसमा हेडरमार्फत् गोल गर्नुभयो । यस्तै, थप गरिएको पाँचौँ मिनेटमा एनकोटोले फोफानाको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्नुभयो ।

मनाङको लिगमा यो लगातार दोस्रो हार हो । मनाङ यसअघि सातदोबाटो युथ क्लबसँग एक-शून्यले पराजित भएको थियो । यस जितसँगै जावलाखेल नौ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

यस्तै, अर्को खेलमा मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) ले दशरथ रंगशालामा भएको खेलमा एक-एकको बराबरी खेल्दै अंक बाँडेका छन् । मच्छिन्द्रका लागि ओमोलाजा करीमले गोल गर्दा एनआरटीका लागि स्टेफान जुनियरले बराबरी गोल फर्काउनुभयो ।

खेलको ३८औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई बिट गरेपछि अन्तिम प्रहार गर्न खोज्दा गौरव श्रेष्ठले ट्याकल गर्नुभएको थियो । उक्त ट्याकलबाट मच्छिन्द्रलले कर्नरको मौका पायो । प्रशान्त अवस्थीको कर्नरमा देवेन्द्र तामाङको हेडर एनआरटीका जन्मेजयले क्लियर गर्नुभएको थियो । करीमले उक्त रिबाउन्डलाई पहिलो टचमै गोल गर्नुभयो ।

दोस्रो हाफमा एनआरटीले बराबरी गोल फर्कायो । खेलको ६७औँ मिनेटमा स्टेफान जुनियरले २५ यार्ड टाढाबाट गोल गर्दै बराबरी गोल फर्काउनुभएको थियो । यस जितसँगै जावलाखेलले नौ खेलमा १७ अंक जोडेको छ । सातदोबाटो युथ क्लबलाई एक अंकले पछि पार्दै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो । मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?