पुस्तक : ‘सुजेरो’ रामचन्द्र दाहालको कवितासङ्ग्रह

हिमालय टाइम्स
Read Time = 12 mins

✍️ सुशीला घिमिरे

कवि रामचन्द्र दाहालको हालै प्रकाशित कवितासङ्ग्रहको नाम हो ‘सुजेरो’ । दाहालको यो तेस्रो कृति हो भने कवितासङ्ग्रहमा उहाँको यो पहिलो कृति हो । कवि दाहाल तीसको दशकदेखि नै लेखनमा सक्रिय हुन थाल्नुभएको थियो । नेपाली साहित्यकारहरूको नियति नै भन्नुपर्छ उनीहरूले आफ्ना रचनाहरूलाई पुस्तकार रूप दिन असमर्थ भइरहेका हुन्छन् । दाहाल पनि यसको अपवादमा पर्नुभएको छैन भन्ने उदाहरण हो उहाँ पचास वर्ष पहिलेदेखि लेखनमा सक्रिय भएर पनि कविताको पुस्तक बल्ल प्रकाशित हुन सक्नु । उहाँका पिताले अल्पायुमा पहिरोमा परेर ज्यान गुमाउनु हुँदा रामचन्द्र दाहाल आमाको गर्भमा हुनुहुन्थ्यो ।

उहाँ हाल ७४ वर्षको हुनुहुन्छ र उहाँकी आमा पनि ७४ वर्ष लामो वैधव्य जीवन बिताइरहनु भएको छ । जुनबेला उहाँ ३१ वर्षकी मात्र हुनुहुन्थ्यो र हाल १०५ वर्षको उमेरमा पनि आफ्ना छोरा, नातिनातिनासँगै हुनुहुन्छ । यसबाट रामचन्द्र दाहालले कस्तो जीवन भोग्नुभएको छ भन्ने दृष्टान्त पाउन सकिन्छ । यस्तै विविध कारण हुन सक्छन् जसले गर्दा रामचन्द्र दाहालका रचनाहरूले पुस्तकाकार रूप ग्रहण गर्न नसकेका । यी सबै आर्थिक पारिवारिक कारणले उहाँको पुस्तकले सार्वजनिक बन्ने मौका ढिलो गरी प्राप्त ग¥यो तर जेजसरी भए पनि उहाँको यो कृति आएको छ त्यो नै मात्र पनि एउटा उपलब्धि हो ।

‘सुजेरो’ उहाँको कवितासङ्ग्रह हो । समृद्धि अनुसन्धान तथा प्रकाशन, काठमाडौं यसको प्रकाशक रहेको छ । यस पुस्तकको पहिलो संस्करण हो यो जुन २०७९ सालको असोजमा प्रकाशित भएको छ । पुस्तकको सर्वाधिकार लेखकमै रहेको छ र पुस्तक ५०० को सङ्ख्यामा छापिएको छ । गौरी पब्लिक रिलेसन एन्ड पब्लिकेसनमा मुद्रण भएको यस पुस्तकमा भूमिका खण्डमा १८ र पाठ्य खण्डमा १४८ गरी जम्मा १६६ पृष्ठ छन् । पुस्तकको मूल्य ३०० रुपैयाँ राखिएको छ । डिएमआई साइजको यो पुस्तक आकर्षक छ र पुस्तक पहेंलो हलुका कागजमा छपिएको छ ।

छपाइ स्तरीय छ तर अशुद्धिहरू भने कतै कतै भेटिन्छन् । पुस्तकको आवरण आकर्षक छ । सुजेरो भनेको बालिघरे प्रथा विद्यमान रहेका समयमा सुचिकारले आफ्ना विभिन्न सरसामान राख्ने सानो झोला भन्ने बुझिन्छ । आवरणमा सुचिकार र उसले कलमा लुगा सिउँदै गरेको चित्र रहेको छ । छेउमा उसका कैंची, टेप, धागोजस्ता कुराहरू छन् र ती राख्ने एउटा सुजेरो पनि देखाइएको छ । जसले पुस्तकको शीर्षकलाई सार्थक बनाएको छ । माथि पुस्तकको शीर्षक ‘सुजेरो’ ठूला अक्षरमा लेखिएको छ र त्यसमुनि साना अक्षरमा ‘कवितासङ्ग्रह’ भनिएको छ । आवरण पृष्ठमा तल कवि रामचन्द्र दाहालको नाम लेखिएको छ ।

जीवनको निस्सारता, साहित्यकारहरूका समस्या, विसङ्गति विकृतिको प्रकटीकरणलागायत सामाजिक, संस्कृतिक, राजनीतिक तथा सहित्यिक विविधताको साङ्गोपाङ्ग चित्रण यस पुस्तकमा रहेका कविताहरूको माध्यमबाट कविले गर्न चाहनुभएको छ । यहाँका कविताहरूले मानवताविरोधी क्रान्तिको विरोध पनि गरेका छन् ।

पृष्ठ आवरणमा फोटोसहित कवि रामचन्द्र दाहालको परिचय दिइएको छ । यहाँ जानकारी गराइएअनुसार ओखलढुङ्गा प्राप्चाको गमरडाँडामा उहाँ २००५ सालमा जन्मिनु भएको हो र महारुद्र दाहाल र विष्णुदेवी दाहालका छोरा रामचन्द्र दाहालले प्रमाणपत्र तहसम्मको अध्ययन गरी नेपाल राष्ट्र बैंकको पूर्वकर्मचारी भएको जानकारी पनि यस पृष्ठबाट प्राप्त गर्न सकिन्छ । उहाँ हाल बुढानीलकण्ठ नगरपालिका वडा नं–१० मा बसोवास गरिरहनु भएको छ । उहाँको यसअघि ‘ठोरी जहाँ देश थिएन (२०७०)’ र ‘हाँडीघोप्टे’ (२०७४) सालमा प्रकाशित भएका कृतिहरू हुन् र यी दुबै संस्मरणात्मक कृति हुन् । उहाँले मिर्मिरे, विशेष कविगोष्ठीमा २०५१ सालमा द्वितीय र २०५२ सालमा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ भने २०५६ सालमा दीर्घ सेवा पदक पाउनुभएको छ । यसैगरी उहाँले कपन बानेश्वर सम्मान पत्र २०७६ तथा शान्तिको सन्देश स्रष्टा सम्मान २०७६ लगायतका मानसम्मान तथा पुरस्कारहरू प्राप्त गर्नुभएको छ ।

उहाँ घुम्ती कविगोष्ठीको पूर्वअध्यक्ष तथा आजीवन सदस्य, सुरभि साहित्य प्रतिष्ठानको आजीवन सदस्य, अभिनव साहित्य समाजको आजीवन सदस्य, सगर मासिकको आजीवन सदस्य, कपन बानेश्वरको आजीवन सदस्य, समुदायिक प्रहरी वीरगञ्जको संस्थापक सल्लाहकार, समाजसेवा समिति वीरगञ्जको क्रमशः संस्थापक उपाध्यक्ष, कोषाध्यक्ष र सचिव, टोलसुधार समिति काठमाडौं कपन मिलनचोकको सचिव तथा खानेपानी व्यवस्थापन काठमाडौं कपन मिलनचोकको सचिव हुनुहुन्छ । यसबाट उहाँ साहित्यकार तथा समाजसेवीसमेत हुनुभएको थाहा पाउन सकिन्छ । यस पृष्ठको तल मुद्रक संस्था गौरी पब्लिक रिलेसन एन्ड पब्लिकेसनको लोगोसहित नाम र सँगै पुस्तकको बारकोड दिइएको छ । पुस्तकको भूमिका खण्डमा शिव शर्माको ‘शुभकामना’, प्रा.डा.गोविन्दमानसिंह कार्कीको समीक्षात्मक भूमिका ‘सुजेरोलाई पल्टाउँदा’, कवि दाहालको ‘मेरो भन्नु’ र दामोदर ढकाल ‘दीपक’ को ‘प्रकाशकीय’ छन् । यसपछि कविताक्रम छ । यस पुस्तकमा कवि रामचन्द्र दाहालका नयाँ र पुराना गरी ६३ वटा कविताहरू समावेश छन् । उहाँका विभिन्न कालखण्डमा लेखिएका लामो अन्तरालका कविता यहाँ समावेश भएका छन् ।

भावका आधारमा पनि उहाँका कवितामा विविधता पाइन्छ । पे्रम, प्रकृति चित्रण, सामाजिकता, व्यङ्ग्य, राजनीति, चाकरी चाप्लुसीको संस्कार, विदेश पलायनको समस्या, गरिबीको दारुण चित्रण, राष्ट्रियतालगायत विषयहरूको चित्रण यस पुस्तकभित्रका कविताहरूमा भएको छ । यसका साथै जीवनको निस्सारता, साहित्यकारहरूका समस्या, विसङ्गति विकृतिको प्रकटीकरण लागायतका सामाजिक, संस्कृतिक, राजनीतिक तथा सहित्यिक विविधताको साङ्गोपाङ्ग चित्रण यस पुस्तकमा रहेका कविताहरूको माध्यमबाट कविले गर्न चाहनुभएको छ । यहाँका कविताहरूले मानवताविरोधी क्रान्तिको विरोध पनि गरेका छन् । यो पुस्तक गद्यकवितासङ्ग्रह हो तर कुनै-कुनै कविताहरू लोकलयमा पनि छन् । तिनमा अनुप्रास मिलेको प्रस्तुति छ । मानवीय यथार्थता र निराशा तथा चिन्ता पनि छ । उहाँको लेखनमा सरल भाषाशैली पाइन्छ अभिधात्मक र लाक्षणिक भाव संप्रेषण गर्नुभएको छ पुस्तकका कविताहरूमा । ३० को दशकदेखिका कविता यस पुस्तकमा समावेश भएका भए तापनि मिति उल्लेख भएसम्म २०४२ सालको कविता यहाँ सबैभन्दा पुरानो देखिन्छ र २०७७ सालसम्मका कविता यस सङ्ग्रहमा समेटिएका छन् ।

निश्चित कालखण्डका कविता यहाँ रहेका कारण तिनले एउटा निश्चित समयको प्रतिनिधित्व गरेका छन् । ‘सुजेरो’ यस सङ्ग्रहको शीर्ष कविता हो । यो कविता २०५६ सालमा पुतलीबजार नारायणगढमा लेखिएको हो । यो दुई पृष्ठको फैलावटमा रहेको छ । एक शब्दको शीर्षक सिङ्गो कृतिको प्रतिनिधित्व गर्ने प्रतिनिधि कविता हो । सुजेरोले मानवजीवनको प्रतिबिम्बन गरेको छ । मानव जीवन सुचिकारको सुजेरो जस्तै टालाटुलीले टालेर त्यसमा अनेक खरखजना राख्नु परेको लाक्षणिक भाव यस कवितामा रहेको छ ।
सपना कुरेर निद्राहरूमा
निर्वाह टाल्ने जमर्काहरूमा
जीर्ण अभिलाषाका
टालाटुली बोकेर म
सिरक शीर्षकको
‘सुजेरो’ भएको छु ।
यस पुस्सतकका केही कविताहरू पूर्वप्रकाशित छन् । नौवटा कविताहरू मिर्मिरे, अभिनव, अन्तरङ्ग, शब्दसंयोजन, मजबुनलगायतका पत्रपत्रिकामा प्रकाशित भइसका छन् । कवि दाहालले वीरगञ्ज, धनकुटा, इलाम, सर्लाही, बारा, सिम्रौनगढ र काठमाडौं आफ्नै निवासमा बसेर पनि यी कविताहरू रचना गर्नुभएको हो । चारका दशकका दुईवटा पाँचका दशकका त्यसभन्दा बढी, त्यसभन्दा बढी छको दशकका र सबैभन्द बढी सातको दशकका कविताहरू यस सङ्ग्रहमा समेटिएका छन् ।

कविमा कविताको छोटाछोटा शीर्षक राख्ने प्रवृत्ति देखिन्छ । ६३ वटामध्ये एक शब्दमा पाँच, दुई शब्दमा २८, तीन शब्दमा १८, चार शब्दमा ११ र पाँच शब्दमा एउटा कविताको शीर्षक रहेका छन् । यसैगरी उहाँका कविता छोटा-छोटा छन् र फैलावटका हिसाबले एक पृष्ठमा आठ, दुई पृष्ठमा २८, तीन पृष्ठमा २४ र चारपृष्ठको फैलावटमा तीनवटा कविता छन् । यसबाट उहाँका कविता छोटा, सरल र सरल भाव संप्रेषणका छन् भन्न सकिन्छ । कवि रामचन्द्र दाहाललाई निकै लामो प्रसवपछि आएको यस कवितासङ्ग्रहका लागि बधाई छ । उहाँको पुस्तकको सफलताका लागि हार्दिक शुभकामना साथै यस्ता अन्य कृति सिर्जनाका लागि अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?