काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् बैठकमा बोल्दै सांसद हरि ढकालले गएको चैत २९ गते १६२ जना सांसदले संसद्मा हाजिर गरेकामा अन्तिममा ६१ जना सांसद मात्र रहेको उल्लेख गर्दै थिति बसाल्ने ठाउँमै यस्तो हुँदा के सन्देश जाला ? भनी प्रश्न गर्नुभयो । बेलुकी संसद् बैठक सकिएपछि मात्र सांसदले हाजिर गर्ने व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।
यस्तै, सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी किनार वरपर तारबार गर्न माग गर्नुभयो । सांसद लेखनाथ दाहालले बिपी राजमार्गमा गएको चैत २९ गते जिप दुर्घटना हुँदा चारजना भारतीयको ज्यान गएको उल्लेख गर्दै त्यस राजमार्ग दैनिक चार हजार गाडी गुड्नका लागि बनाइएकोमा दैनिक १० हजार गुड्दा समस्या आएकाले समाधान गर्न सरकारसँग माग गर्नुभयो । राजमार्गको ३२ किलोमिटर क्षेत्रमा आठ किमीको सुरुङ बनाएर छिटो एवम् कम खर्चमा यात्रा हुने भएकाले उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षामा योग्यता अनुसारको भर्ना क्रमलाई पन्छाएर स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउँदा समस्या आएकाले सुधार गर्न माग गर्नुभयो । स्वास्थ्य संयन्त्रलाई क्षति हुनबाट बचाउन पनि योग्यता क्रम अनुसारको कार्यविधि हुनुपर्नेमा उहाँको जोड थियो ।
सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्भन्दा बाहिर ‘व्यवस्था उल्ट्याउन खोजेको’ भनी भाषण गर्नुभएकोमा आपत्ति प्रकट गर्नुभयो । यस्तो विषय संसद्मा आएर राख्न उहाँले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभयो ।
सांसद मेटमणि चौधरीले मानव बेचबिखनमा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले काठमाडौं विश्वमै फोहोर सहरमा परिणत हुँदा क्यान्सरलगायत रोगका बिरामी बढेकाले राजधानीमा प्रदूषणको समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद रोशन कार्कीले पाँचखालकी मिर्गाैला पीडित सत्यदेवी थापाले कुमारी बैंकबाट लिएको ऋणको ब्याज तिर्दातिर्दै घर लिलामी गरिएकाले रोक्न माग गर्नुभयो ।
सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्र रुजु गर्ने जिम्मा निजी विदेशी कम्पनीलाई दिने निर्णय आपत्तिजनक भएको बताउनुभयो । सात दिनभित्र बोलपत्र गरेर गरिएको निजी कम्पनीलाई दिने निर्णय अवैध रहेको भन्दै उहाँले नयाँ पार्टीले पनि पुरानै शैलीमा काम गरेको बताउनुभयो । सांसद श्यामकुमार घिमिरेले सिन्धुली सदरमुकामबाट कटारी निस्कने सडकको ठेक्का भएको तीन वर्ष बिते पनि वनका कारण काम रोकिएको उल्लेख गर्दै एक लाख नागरिकलाई समस्या भइरहेकाले समस्या समाधान गर्न माग गर्नुभयो । वन ऐनलाई सार्वजनिक हितमा उपयोग गर्दा सहज हुने गरी संशोधन गर्न उहाँले माग गर्नुभयो ।
विषयगत समिति तत्काल बनाउन एमालेको माग
नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले संसद्को विषयगत समितिहरू बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले विषयगत समितिहरू बन्न नसक्दा विधेयकहरू अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले समिति नहुँदा समग्र संसदीय प्रक्रियामा नै गतिरोध उत्पन्न भएको उल्लेख गर्दै समिति निर्माणमा दलहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले तत्काल समिति बनाउनुपर्ने माग गर्नुभयो । त्यस्तै, सचेतक बर्तौलाले प्रधानमन्त्री संसद्सँग डराएको भन्दै प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ संसद्बाट दिनुपर्ने बताउनुभयो । त्यस्तै, सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले सरकारसँग संसद् चलाउने कुनै योजना नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंग्याउन नचाहेको बताउनुभयो । प्रधानमन्त्रीले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको उहाँले आरोप लगाउनुभयो ।
माओवादी, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बनाउने तयारी
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिनभित्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताउनुभएको हो ।
उहाँले मोर्चाले सकारात्मक रूप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको बताउनुभयो । उहाँले आफूहरू पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब हामी १०/१५ दिनभित्रै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपाको बीचमा मोर्चा बनाउँदै छौँ । सकारात्मक रूप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ । त्यो ठाउँमा हामी पुगेका छौँ । अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ । अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच