देशभर तीन दिनसम्म तुँवालो रहने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौँ । केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाैँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।

प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाको भनाइ छ ।

वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताउनुभयो । उहाँले स्याटेलाइट तस्बिर हेर्दा काठमाडाै‌ं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको जानकारी दिनुभयो । बारा, पर्सा र चितवनबाट बागमती कोरिडोर हुँदै काठमाडाैंमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडाैं उपत्यकामा प्रदूषणको मात्रा बढेको हो ।

प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ । जलवायु तथा विपद्विज्ञ डा धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताउनुभयो । उहाँले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताउनुभयो ।

वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सरलगायतका समस्याहरु बढ्ने भएकाले सावधानी अपनाउनसमेत वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । प्रदूषित हावाका कारण देशैभर हवाई उडानसमेत प्रभावित बन्दै गएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरुको उडान आइतबार प्रभावित बनेको हो । काठमाडाैंबाट अन्तर्राष्ट्रिय उडान भने सामान्य भइरहेकाे बताइएको छ । आइतबार गरिएको हावाको गुणस्तर मापक सूचक आइक्युएयर अनुसार काठमाडाैं उपत्यका वायु प्रदूषणमा विश्वभरमा पहिलो सूचीमा थियो ।

पानी नपरेको खण्डमा वा तीव्र गतिको हावा नचलेमा उपत्यकासहित देशभरको वायु प्रदूषण नघट्ने र अझै केही दिन प्रदूषण कायमै रही जोखिम बढ्दै जाने वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । वायु प्रदूषणको मात्रा नाप्ने आइक्युएयरका अनुसार आइतबार भक्तपुर र ललितपुरको पाटनमा बढी वायु प्रदूषण थियो । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक आइक्युएयर दुई सयभन्दा माथि थियो ।

यसैगरी, कीर्तिपुर, रत्नपार्क, मध्यपुर थिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर थियो । यी क्षेत्रमा हावाको गुणस्तर मापन सूचक आइक्युएयर झन्डै दुई सय पुगेको थियो ।

आइक्युएयर ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि एक सयसम्म आइक्युएयर मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्युआई अस्वस्थकर हुन्छ । आइक्युएयर तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक मानिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र, बागबजारका खाद्यान्न पसलमा महानगरको छापा परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भइसकेको छैन, गृहकार्य… पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म सवारी साधन सञ्चालनमा ल्याउने प्रयास पोखरामा स्कुल बस दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय समिति गठन, दोषीमाथि… मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास गर्नेको जग्गा दर्ता सहज बनाउन समिति गठन…