आजदेखि एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता

उपाधि जित्ने नेपालको लक्ष्य

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । आज (मंगलबार)देखि सुरु हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिने भएको छ । एसिया कप खेल्ने बाटोका रूपमा रहेको प्रतियोगितामा आज (मंगलबार) नेपालले पहिलो खेल मलेसियाविरुद्ध खेल्दै उद्घाटन गर्नेछ । १० टोली सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । फाइनल पुग्ने टोलीले एसिया कपमा खेल्नेछ । एसिया कपमा भारत र पाकिस्तानजस्ता ठूला राष्ट्रहरू हुनेछन् ।

भारत र पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँग खेल्ने लक्ष्यसहित नेपालले यस प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्य लिएको हो । नेपाली टोलीका कप्तान रोहित पौडेलले प्रतियोगिताका लागि आफूहरू तम्तयार रहेको बताउनुभएको छ ।

‘घरेलु मैदानमा भइरहेको यस प्रतियोगितामार्फत् एसिया कपमा स्थान बनाउने हामीलाई राम्रो मौका छ,’ रोहितले भन्नुभयो, ‘हामीले जुन हिसाबमा खेल खेलेका छौँ त्यसलाई अगाडि बढाउनुपर्छ । सबैजना राम्रो लयमा पनि देखिएका छन् । त्यो स्ट्याण्डरलाई निरन्तरता दिएर खेलेमा यो प्रतियोगिता जितिन्छ ।’

नेपाली क्रिकेटको विकासमा लागि पनि एसिया कपमा पुग्नु महत्वपूर्ण हुने रोहित बताउनुहुन्छ । उहाँले प्रतियोगिता नेपाली क्रिकेटको विकासका लागि एकदमै महत्वपूर्ण भएकाले आफूहरूका अघि राम्रो मौका आएको र त्यसलाई सदुपयोग गर्ने बताउनुभयो ।

प्रिमियर कपका खेलहरू टियु र मूलपानी मैदानमा हुँदैछन् । प्रतियोगिताका लागि पहिलोपल्ट मूलपानी मैदान तयार पारिएको छ । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मूलपानीमा खेल्नेछ ।

प्रतियोगितामा नेपाललाई उपाधिका लागि टक्कर दिने टोलीहरूमा ओमान, युएई र हङकङ हुन् । अन्य टोली भने तुलनात्मकरूपमा नेपालभन्दा कमजोर छन् । यी चारवटै टोलीले सेमिफाइनलमा स्थान बनाउने सम्भावना छ । तर, रोहित भने प्रतियोगितामा सहभागी कुनै पनि टोलीलाई कमजोर आँक्न नहुने बताउनुहुन्छ ।

‘हामी प्रत्येक टोलीलाई गम्भीररूपमा लिएर खेल्नेछौँ । एक-एक खेल गर्दै नतिजा आफ्नो पक्षमा पार्ने हाम्रो लक्ष्य हुनेछ,’ रोहितले प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मलाई लाग्छ सबै टिम त्यति नै राम्रा छन् । ओमान, हङकङ, युएई सबै टिम राम्रा छन् । हामीले कसैलाई पनि सहजरूपमा लिएका छैनौँ । एक समयमा एउटा खेललाई हेरेर जान्छौँ ।’

पछिल्लो समय नेपाली टोली उच्च लयमा छ । नेपालले आइसिसी विश्वकप लिग-२ मा पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । सोही कारण नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा पनि स्थान बनाएको छ । मोन्टी देशाई मुख्य प्रशिक्षकका रूपमा आएपछि नेपाली टोलीको मनोबल पनि बढेको छ ।

देशाईले प्रतियोगितामा सहभागी अन्य टोली पनि एउटै लक्ष्यका साथ मैदान उत्रिने बताउनुभयो । ‘प्रतियोगितामा सहभागी सबै टोलीको लक्ष्य उपाधि जित्नु नै हो । सबै टोली बलिया छन् । कुनै पनि टोलीविरुद्ध सहज हुने छैन,’ देशाईले भन्नुभयो, ‘प्रतियोगिता मंगलबारबाट सुरु हुँदैछ तर खेलाडीको मानसिकता भने सोमबारबाट सुरु भइसकेको जस्तो छ । हामी प्रतियोगिताका लागि उत्साहित र तयार छौँ । मेरा लागि मलेसिया नयाँ टोली भएकाले उनीहरूका बारेमा मलाई खासै जानकारी छैन । तर, मलाई आशा छ हामी जितका साथ प्रतियोगिताको सुरुवात गर्नेछौँ ।’

त्रिवि मैदानमा तीन खेल खेलिरहेको नेपालले उक्त मैदानमा पछिल्ला आठ खेलमा हार बेहोरेको छैन । घरेलु मैदान, लयमा टोली र दर्शकको साथले नेपाल प्रतियोगिताको उपाधि दाबेदार बनेको हो ।

नेपालले सोमबार नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी हुनुहुन्छ । यस्तै, वैकल्पिक खेलाडीहरूमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो हुनुहुन्छ ।

नेपाली टोलीका आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख र भीम सार्की उच्च लयमा हुनुहुन्छ । यस्तै, अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले पनि टिम बिल्डिङमा साथ दिइरहनुभएको छ भने सन्दीप लामिछाने बलिङको उत्कृष्ट लयमा देखिनुभएको छ ।
‘यसअघिको सिरिजमा कसैले खासै नराम्रो गरेको थिएन । टोलीमा धेरै परिवर्तन आवश्यक थिएन । टिममा सबैलाई सहज अनुभव पनि गराउनुपर्ने हुन्छ,’ रोहितले भन्नुभयो, ‘सबैले आ–आफ्नो जिम्मेवारी बुझ्नुभएको छ । सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नेमा हामी ढुक्क छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?