लुम्बिनीका मुख्यमन्त्री गिरीले दोस्रोपटक विश्वासको मत लिने

तस्बिरः रासस

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी वैशाख ११ गते विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेका नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जसपा लगायतका दलले समर्थन फिर्ता लिएपछि गिरीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बैठक बोलाएको छ । उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने बताइएको छ ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिनुभएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले हालसम्म विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव भने दर्ता भइनसकेको बताउनुभएको छ । तर, वैशाख १२ भित्र विश्वासको मत लिनैपर्ने भएकाले ११ गतेकै बैठकमा विश्वासको मत लिने गरी तयारी अघि बढेको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । सत्ता समीकरण अनुसार माओवादी केन्द्र लगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो ।

राप्रपाले गिरीको साथ नछोडेको अवस्थामा अहिले एमालेसँग ३३ सांसद देखिन्छन् । लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका १० दलमध्ये आठ दल र एकजना स्वतन्त्रसमेत ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । अहिले एमालेका २९ र राप्रपाका चार सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

गिरीलाई विश्वासको मत पाउन ४४ सांसद आवश्यक पर्छ । अहिलेको अवस्थामा गिरीले विश्वासको मत नपाउने अवस्था छ । विश्वासको मत नपाएमा गिरीको सरकार ढल्नेछ । त्यसपछि संविधानको धारा १६८ को उपधार २ अनुसारको बहुमतको सरकार बन्ने कि उपधारा ३ अनुसार ठूलो दलको सरकार बन्ने भन्नेमा भने मतान्तर देखिएको छ । कांग्रेस माओवादी लगायतका दलले उपधार २ अनुसारकै दुईभन्दा बढी दलको सरकार बन्ने बताएका छन् । एमालेले आफू ठूलो दल भएकाले उपधारा ३ अनुसार फेरि गिरी मुख्यमन्त्री बन्ने दाबी गर्नेछ । गिरीले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले जसरी सरकारको आहृवान गर्नेछन् । त्यही सरकार बन्ने देखिन्छ । गिरी पुस २७ गते सात दलका ५६ र दुई स्वतन्त्रसहित ५८ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?