केपिलासगढीका नागरिकलाई केएमसी अस्पतालमा ५० प्रतिशत छुट

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाभित्रका नागरिकहरुले काठमाण्डौ मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएको छ ।

सोमबार गाउँपालिकाको आयोजना तथा काठमाडौं मेडिकल कलेज काठमाण्डौको प्राविधिक सहयोगमा पृथ्वी मावि बाक्सिलामा भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरको अवसरमा गाउँपालिका र मेडिकल कलेजले द्धिपक्षीय सम्झौता भएको छ ।

सम्झौता अनुसार वर्ष दिनसम्म गाउँपालिकाका नागरिकले केएमसीमा भर्ना भई उपचार गराउँदा ५० प्रतिशत र ओपिडीमा जाँच गराउँदा २५ प्रतिशत छुट पाउने सम्झौता भएका छन् ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्की तथा मेडिकल कलेजका अध्यक्ष होमादेवी न्यौपाने र महाप्रवन्धक नारायणप्रसाद दाहालले हस्ताक्षर गरेको सम्झौता पत्रमा अति विपन्न विरामी उपचारको लागि अस्पतालमा आएको अवस्थामा दुबै पक्षले छलफल गरी १०० प्रतिशतसम्म छुटको व्यवस्था मिलाउने सम्झौता छ ।

उपचारमा आउने विरामीले अनिवार्य रुपमा गाउँपालिकाबाट विवरण खुलाई सहुलियतमा उपचार गराउन जारी गरेको सिफारिस पत्रमा नाम, ठेगाना, उमेर र आर्थिक अवस्था स्पष्ट रुपमा खुलाईएको हुनुपर्ने जनाईएको छ ।

एमआरआई, सीटी स्क्यान, शल्यक्रियासहित मात्र उक्त सुविधाहरू दिइनेछ भने, औषधि, औषधिजन्य सामाग्री, इन्प्लाण्ट, पेसमेकर जस्ता सामानहरुमा उक्त सुविधा नहुने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता समय २०८० चैत मसान्तसम्म रहने र अवधिपछि आपसी सहमतीमा प्रभावकारिता हेरी पुनः सम्झौता गरिने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?