म्याग्दी नदी नियन्त्रणका लागि ग्याविन पर्खाल निर्माण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई कटानबाट जोगाउनका लागि म्याग्दी नदी किनारामा ग्याविन जाली भरेर पर्खाल लगाइएको छ ।

सातवर्ष अघि २०७२ सालदेखि बगरफाँटलाई नदी कटानबाट जोगाउनका लागि संरक्षणको काम हुँदै आएको छ ।
चालु आव २०७९–०८० मा पनि खानेपानी,जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय म्याग्दीको रु १० लाखमा १ सय १२ थान जाली भरेर करिव ५० मिटर लम्वाइ र ३० मिटर उचाइको पर्खाल निर्माण कार्य सम्पन्न भएको छ ।

त्यस अघि गत आर्थिक वर्ष २०७८–०७९ मा खानेपानी,जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय म्याग्दीकै रु १५ लाख लागतमा १ सय २३ थान तीन लिएर जाली भरेर पर्खाल निर्माण गरिएको बगरफाँट वस्ती संरक्षण आयोजनाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

त्यसैगरी आर्थिक वर्ष २०७७–०७८ मा खानेपानी,जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय म्याग्दी मार्फत गण्डकी प्रदेश सरकारले रु २० लाख र आर्थिक वर्ष २०७६–०७७ मा गण्डकी प्रदेश सरकारकै रु ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करिब २ किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटवन्ध गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

बगरफाँट क्षेत्रको रातढुंगादेखि पलाँसे सम्मको क्षेत्र म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको थियो । वस्ती संरक्षणका लागि म्याग्दी नदी किनारको यस क्षेत्रमा ग्याविन जाली लगाउनु बाहेक अर्को विकल्प नरहेकोले नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुहरुलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याविन जाली लगाइएको हो ।
करिव २ सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि वर्खामा भने नदी कटानका कारण सधै जोखिममा रहने गरेको स्थानीयले बताएका छन् ।

२०७५ सालमा स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु १० लाखबाट नदीजन्य वस्तुहरुको स्थानान्तरण गराइ उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे,खहरेखोला,हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम सुरु गरिएको अध्यक्ष कार्कीले बताउनु भयाे । त्यस अघि पनि विभिन्न निकायहरुको सहयोगमा नदी किनारामा ग्याविन जाली लगाउने काम गरिएको थियो ।

अध्यक्ष कार्कीका अनुसार त्यतिखेर म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका वडा नं ६ डम्मराका वासिन्दाहरुको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्यवस्तु (ढुङ्गा,गेगर,वालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो ।

नदीले बगरफाँटको करिब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइ सकेको छ भने खहरेखोला,हरिहर शिवमन्दिर क्षेत्र,पलासे र जरुवा उच्च जोखिममा परेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?