पाल्पा दरबार क्षेत्रमा डोजर चल्यो, ५७ घर टहरा भत्काइयो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । तानसेन नगरपालिकाले ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घर, टहरा संरचना भत्काएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी घर, टहरा संरचनामा नगर सरकारले बुधबार विहानैदेखि डोजर लगाएको हो ।

यहाँका सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई नगरपालिकाले वैशाख ५ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो । तानसेन नगर सरकारका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीसहित गएको डोजरले घर, टहरा तथा पसल भत्काउन सुरु गरेको हो । तानसेनको शित्तलपाटी मूलढोका र तेस्रो सडक दरबार क्षेत्र वरपर रहेका ५७ घर संरचना भत्काउन लागिएको छ । यहाँ अहिले दुई वटा डोजर चलेका छन् ।

नगर सरकारको स्वामित्वमा तानसेन-४ मा रहेका १३ वटा घरटहरासहित घरेलु शिल्पकलाका १३, नेपाल रेडक्रसको ३, कर्मचारी मिलन केन्द्रको ३, बालसंगठनको १ तथा २००२ देखी २०२२ सम्म राणाहरुले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा भत्काउन लागिएको नगर प्रवक्ता यादव सिं कार्कीले बताउनुभयो । यहाँका सटरहरुमा व्यापार, व्यवसाय गर्दै आइएको थियो ।

नगर सकारले यी सटरहरु भत्काउने समय सिमा दिएपछि यहाँका व्यवसायीहरुले मंगलबार नै रातारात सटर खाली गराएका छन् । यहाँका अधिंकास पसलहरुको भाडासमेत वर्षौदेखि नगरपालिकाले पाएको छैन । नगरपालिकालाई भाडा दिने गरी यहाँको जग्गा व्यापारी तथा व्यवसायीलाई दिए पनि अधिकांशले विगत १३ वर्षदेखि ४५ लाख बढी भाडा तिरेका थिएनन् । नगरपालिकालाई उनीहरूले कबोल गरेको भाडा १३ वर्षदेखि नतिरेको र त्यो सरकारी नियमानुसार अशुलउपर गर्ने नगरपालिकाले जनाएको छ ।

घर टहरामा बस्दै आएकाहरु भने यसरी तत्कालै भत्काउन भन्नेमा थिएनन् । मख्नटोलमा पुस्तक व्यवसायी गर्दै आउनुभएका निराज शाक्यले भत्काउने नै भएपछि एक साताको समय दिएको भए सामान सार्न सहज हुने गुनासो गर्नुभयाे । उहाँका अनुसार व्यापारी अधिकांशले भत्कँदैन भनेर बसेका कारण अन्तिममा सामान सार्न हतारो भएको हो ।

घरटहरा नहटाउन दबाब दिन व्यापारीको संघर्ष समिति गठन भएको थियो । संघर्ष समितिले भेला, छलफल गर्ने, मुद्दा दायर गर्नेलगायतका काममा अघि बढेकाले कतिपय व्यापारी ढुक्क भएर बसेका बेला नगरपालिका डोजर लगाएको व्यापारीहरुको गुनासो छ । पुरातत्व विभागले समेत माघ १० गते तानसेन नगरपालिकालाई तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन पत्र पठाएको थियो । सोही अनुसार नगर सरकारले त्यसको प्रक्रिया थालेको हो । पुरातत्व विभागको पत्र र यहाँको सर्वदलीय, सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा कार्यपालिकाले यहाँको सौन्दर्यकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि ५७घरटहरा भत्काउने निर्णय गरे अनुसार भत्काईएको नगर प्रवक्ता कार्कीको भनाई छ ।

यहाँका संरचनाका कारण दबारको सौन्दर्यता माथि बेला-बेलामा प्रश्न उठ्ने गरेको छ । अहिले दरबार र मूलढोका परिसरलाई पुरातत्व विभागले विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने भएपछि नगर सरकारले सौन्दर्यता बढाउन पहल थालेको हो । राणाकालिन समयमा दक्षिण एसिया कै सबै भन्दा ठूलो काठै काठको ढोका भनिने मूल ढोकाको पुर्ननिर्माण समेत गर्ने तयारी छ । दरबार परिसरमा बगैचा निर्माण गरिने भएकाले पुरातत्व विभागले संरचना खालि गर्न नगर सरकारलाई यस अघि पत्राचार गरेको थियो ।

सडक किनारा तथा दरबार र मुल ढोकालाई प्रभावित हुने गरी निर्मित संरचनाहरु हटाएपछि सडक ११ मिटर भन्दा बढी फराकिलो हुने जनाइएको छ । राणाकालिन समयमा निर्मित ऐतिहाकि दरबारमा सञ्चालित संग्राहालयलाई सडकबाट पैदल हिड्ने बटुवाले समेत सहजै अवलोकन गर्न सक्ने गरी सडक चौडा हुने जनाइएको छ । वि.सं. १९८० मा राणा प्रताप शमशेरले निर्माण गरेको पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन माओवादी जनयुद्वको क्रममा जलेर ध्वस्त भएको थियो ।

२०७२ सालमा पाल्पा दरबार पुनर्निर्माण सकिएपछि संग्रहालयका रूपमा परिणत गरिएको हो । २०६२ सालअघि प्रशासनिक भवनका रूपमा रहँदै आएको पाल्पा दरबार पुनः निर्माण भएपछि दरबारमा रहेका कार्यालय अन्यत्र सारिएको थियो । संग्रहालयमा अहिले ६४ कोठा, २ बुर्जा रहेका छन् । नगर सरकारले निर्माण गरेको पाल्पा दरबार संग्रहालयको गुरुयोजना अनुसार दरबार परिसरमा रहेका कार्यालय अन्य स्थानमा सार्ने पुरानो संचनाअनुसार खुला संग्रहालय, स्वप्न बगैँचा निर्माण, शान्त वातावरण, मनोरम दृश्यसहितको १९८० को स्वरूपमा फर्काउने रहेको छ । सोही अनुरुप अहिले नगर सरकारले काम अगाडि बढाएको हो ।

यहाँको घरटहरा भत्काएसँगै घरटहरा भाडामा लगाउने बेला हुने कमिसन र मोलमोलाईको खेल समेत सकिएको छ । विगतमा यहाँको टहरा भाडामा लगाउने बेलामा लाखौँ रुपियाँको कमिसनको चलखेल हुँदै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?