लोकसेवा पढाउँँदै वडा कार्यालय

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लमही नगरपालिका वडा नं. ७ दाङले वडाभित्रका विद्यार्थिहरुलाइ निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।

युवा समुहका विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध रहेका नागरिकहरुलाइ प्रतिस्पर्धीका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
जसले गर्दा तयारी कक्षाका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । वडाले खरिदार वा सो सरह पदको तयारीका लागि दुई महिने निःशुल्क कक्षा सञ्चालन गरेको छ ।

आफ्नो वडाका आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको लमही नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन गिरीले बताउनुभयो । ‘जो पढ्न चाहन्छ, जसलाई आर्थिक अवस्थाले छेकेको छ । उहाँहरुको पहिचान गरेर कार्यक्रम गरेका छौं’– उहाँले भन्नुभयो– ‘लोकसेवामा जान चाहने थारु समुदाय, दलित तथा आदिवासी जनजाति समुदायका विद्यार्थीलाई बढी प्राथमिकतामा राखेका छौैं ।’ उहाँले भन्नुभयो । कक्षामा ५६ जना विद्यार्थी सहभागी छन् । अहिले पनि विभिन्न स्थानका लोकसेवा इन्स्टिच्युटहरुले २५ देखि ३० हजारसम्म मासिक शुल्क लिने गरेका छन् तर वडा कार्यालयले निःशुल्क पढाउन थालेपछि लोकसेवाको तयारीमा जुटेका विद्यार्थीहरुमा उत्साह थपिएको छ ।

यही तालिममा सहभागी हुनुहुन्छ रेश्मा चौधरी । स्थानीय सरकारले लोकसेवा तयारी कक्षा सञ्चालन गरेपछि उहाँलाई सहज भएको छ । चौधरीलाई सरकारी सेवामा प्रवेश गर्ने रहर छ ।

‘कक्षा १२ पास गरेर स्नातक पढ्दैछु तर मलाई लोकसेवाप्रति पनि इच्छा हो’– उहाँले भन्नुभयो– ‘वडा कार्यालयले कक्षा सञ्चालन गरेपछि नयाँ कुरा जान्न पाइयो ।’ ‘आर्थिक अवस्था कमजोर भएकाले नियमित कक्षा लिन समेत सकेको थिइनँ’– रेश्माले भन्नुभयो– ‘वडा कार्यालयले नै कक्षा चलाएपछि सजिलो भयो ।’ स्थानीय टेकेन्द्र वलीको भनाइ पनि उस्तै छ ।

स्थानीय निजी विद्यालयमा पढाउँदै आउनुभएका टेकेन्द्र पनि लोकसेवाको तयारीमा जुट्नु भएको छ । ‘जिल्ला सदरमुकाम जान सक्ने अवस्था थिएन । अहिले गाउँमै कक्षा चलेपछी स्कुल पनि पढाउदै, आफू पनि पढ्दै सजिलो भएको छ’– उहाँले भन्नुभयो– ‘लोकसेवाबाट नाम निकालेर देशको सेवा गर्ने मन छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?