म्याग्दीको दुई सामुदायिक वनमा डढेलोः ३० हेक्टर वन क्षेत्रमा क्षति

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको बेनीनगरपालिका १ रत्नेचौरको अर्जम र बेनपा २ ज्यामरुककोटको रानीवन सामुदायिक वनमा शनिवार सल्किएको डढेलो साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोले दुईवटै सामुदायिक वनको गरी करिव ३० हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको स्थानीय पदम खड्काले जानकारी दिनुभयो, वैशाख महिना सुरु भएयता जिल्लाका विभिन्न ठाउँका जंगलमा भएको आगलागीले जिल्लामा १ सयभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

गत आइतबार दिउँसो देखि जिल्लाको बेनी नगरपािलका वडा नं ३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको भीषण आगलागी सोमबार साँझ नियन्त्रणमा आएको थियो । त्यसैगरी अघिल्लो शुक्रवारदेखि बेनीनगरपालिका २ ज्यामरुक कोटको सल्लेरी सामुदायिक वनमा र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

आज (शनिवार)रत्नेचौरको अर्जम सामुदायिक वन र ज्यामरुककोटको रानीवन सामुदायिक वनमा भीषण आगलागी भएको छ । आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्त्रणमा जुटेका छन् । सामुदायिक बनबाट सुरु भएको आगो फैलिँदै गएको बेनी नगरपालिका-२ का वडा सचिव राजाराम शर्मा सापकोटाले जानकारी दिनुभयो ।

“अहिलेसम्म दुवै सामुदायिक वनको कम्तीमा ३० हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्”स्थानीय पदम खड्काले भन्नुभयो ।

यता डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी र स्थानीयवासी आगो नियन्त्रणमा लिन जुटेकाे जानकारी दिनुभयो ।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाई छ । गाउँलेहरुले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमाअग्नीरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक बनमा बादर, खरायो, मृग लगायतका जनावर र चराचुरुङगीको वासस्थान थियो ।सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ ।

यसैबीच यस बर्ष जिल्लाभर एक सय बढी हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । डढेलोका कारण सदरमुकाम बेनीआपासका क्षेत्रमा वायु प्रदुषण बढेको छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरणहरू सङ्कलनको काम चलिरहेको भन्दै उहाँलेबुधवारसम्ममा सबै यकिनहुने जानकारी दिनुभयो ।आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताउनुभयो ।

गतवर्ष तीन सय ४१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल छ । त्यसमा ३६.७६ प्रतिशतवन, १.८५ झाडी, २१.२७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ ।

वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वन मध्ये २४ हजार २ सय २ हेक्टर वन छन् । जसमा ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत् व्यवस्थापन हुँदै आएको छ ।

यी वन क्षेत्र हिउँदमा डढेलो र वर्षामा भूस्खलनका साथै सडक विस्तारको बहानामा फडानीको सिकार वन्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?