सत्ता गठबन्धन संविधानको मर्म अनुसार चलेनः नेता विश्वकर्मा

फाईल तस्बिर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेकपा एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनआन्दोलनबाट आएको परिवर्तनका उपलव्धिलाई उल्ट्याउने कोशिष भैरहेको बताउनु भएको छ।

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा नेकपा एमाले रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उहाँले अहिलेको सत्ता गठबन्धनले संविधानको मर्म अनुसार ऐन कानुन निर्माणलाई प्राथमिकतामा नराखेको र सडकमा कतै अराजकतावादीहरुको पंक्ति र कतै राजावादीको पंक्ति अगाडि सारेर प्राप्त उपलव्धि उल्ट्याउने खेल भैरहेको बताउनु भयाे ।

“सत्ता गठबन्धन संविधानको मर्म बमोजिम चलेको छैन, त्यस अनुरुपमा ऐन कानुन निर्माणमा सरकारको कुनै तदारुकता छैन”-उहाले भन्नुभयो, “यसले प्राप्त उपलब्धि कमजोर हुने मात्र होइन सडकमा राजावादी र अराजकतावादी हावी हुने कुरालाई मलजल गरेको छ ।”

नेता विश्वकर्माले २०७२ सालमा जारी संविधानले दुई कार्यकाल पूरा गर्न नपाउँदै पुनरावलोकनको चर्चा उठ्ने गरेको भन्दै कम्तीमा १०/१५ वर्ष पर्खनुपर्ने बताउनुभयाे । “अहिले नै यसको पुनरावलोकनको बेला भएको छैन, परीक्षणका लागि पनि कम्तीमा १०-१५ वर्ष पर्खनुपर्छ”-उहाँले भन्नुभयो ।

नेता विश्वकर्माले एमालेले देशव्यापाीरुपमा सञ्चालन गरेको मिसन ग्रासरुटले सबै तहका कार्यकर्ता पंक्तिलाई जिम्मेवार र जवाफदेही बनाएको र सबैमा जागरण पैदा गरेको बताउनु भयो । पुष्पलालका योगदानको चर्चा गर्दै उहाँले एमालेले मात्रै सच्चा कम्युनिष्ट पार्टीको नेतृत्वगर्न सक्ने र देशलाई सही बाटोमा हिंडाउन सक्ने दावी गर्नु भयो ।

कार्यक्रममा बोल्दै पुराना कम्युनिष्ट नेता देवेन्द्र घिमिरेले पुष्पलालका सही विचारको अनुसरण गर्न सके मात्रै देशमा कम्युनिष्ट शासन स्थापना गर्न सकिने बताउनु भयो । कम्युनिष्ट इतिहासको चर्चा गर्दै उहाँले पुष्पलाललाई गद्दार भन्नेहरु पाखा लागेको स्मरण गर्दै सबै अटाउन सक्ने कम्युनिष्ट पार्टीको निर्माण नै आजको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरेलगायतले पनि पार्टीका आगामी कार्यक्रम, योजना र नीतिका बारेमा धारणा राख्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?