सवारी दुर्घटनामा तीनजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । काठमाडौँ र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका-१० सतुङ्गलमा बा५ख ७००४ नंको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका-३ घर भएका २२ वर्षीय रसिक रामजालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आजै काठमाडौँ महानगरपालिका-१४ स्थित सडकमा बाप्र-०२-०१९प ९७१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक मकवानपुर थाहा नगरपालिका-७ घर भएका २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उता ललितपुर गोदावरी नगरपालिका-६ टिकाभैरवस्थित सडकमा सोही महानगरपालिका-५ मानभवन बस्ने ४० वर्षीय मनि गुरुङले चलाएको साइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा साइकलयात्री गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?