जुम्लालाई भाम स्मृति फुटबलको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

जुम्ला । जुम्ला फुटबल क्लबले मुगुमा सम्पन्न हेमराज भाम स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा घरेलु टोली रेडपान्डा एफसीलाई तीन-एकले हराउँदै जुम्लाले उपाधिमाथि कब्जा जमाएको हो ।

जुम्लालाई जित दिलाउन अभिषेक बुढथापाले दुई र शेखर शाहीले एक गोल गर्नुभयो । खेलको १०औँ मिनेटमा अभिषेकको गोलबाट जुम्लाले अग्रता लियो । खेलको २०औँ मिनेटमा शेखरले दोस्रो गोल गर्नुभयो । ४५औँ मिनेटमा जुम्लाका खेलाडीको आत्मघाती गोलमा खेल दुई–एकको अवस्था पुग्यो । खेल सकिन चार मिनेट बाँकी रहँदा अभिषेकले अर्को गोल गर्दै टोलीको जित निश्चित गर्नुभयो ।

जुम्लाले उपाधिसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । भामवाडा फुटबल क्लबको आयोजनामा चैत २९ गते देखि सञ्चालन भएको प्रतियोगितामा २८ टोलीको सहभागिता थियो । स्वर्गीय हेमराज भामको सम्झनामा प्रतियोगिता आयोजना गरिएको थियो ।

भामवाडा फुटबल क्लबका तत्कालीन कप्तान हेमराजको गत वर्ष पुस २८ गते निधन भएको थियो । मुगु जिल्लाको एक सफल खेलाडी गुमाउनुपरेकाले उहाँको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गणेश सेजुवालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?