प्रतिनिधिसभाका तीनवटा क्षेत्रमा आज उपनिर्वाचन हुँदै

निधक्क भई मतदान गर्न आयोगको अपिल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । उपचुनावअन्तर्गत प्रतिनिधिसभातर्फ तीनवटा निर्वाचन क्षेत्रमा आज मतदान हुँदै छ । बारा-२, चितवन-२ र तनहुँ-१ का मतदाताले प्रतिनिधिसभाका लागि आफ्ना प्रतिनिधि चुन्न लागेका हुन् । तीनवटै निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित प्रमुख दलका उम्मेदवारहरू चुनावी मैदानमा छन् । उपनिर्वाचनमा निधक्क भई मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाइएको आयोगको भनाइ छ ।

मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो । आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारीसाधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ । मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको छ ।

मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असमान्य परिस्थिति सृजना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ । आयोगले उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चार माध्यमलगायत सबै सरोकारवालाहरूको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त लिएको छ ।

तीनवटै क्षेत्रमा त्रिपक्षीय भिडन्त
एक लाख पाँच हजार मतदाता रहेको बारा-२ मा ३४ जनाले उम्मेदवारी दिए पनि मूलतः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशहवा चुनावी मैदानमा हुनुहुन्छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गत मंसिरमा काठमाडौं–१ बाट चुनावमा पराजित हुनुभएका रमेश खरेल प्रतिस्पर्धामा रहनुभएको छ । गत मंसिरमा निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा-२ मा उपनिर्वाचन गर्नुपर्ने भएको हो ।

यसैगरी, मंसिरमै निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भई सांसद पद खारेज भएपछि चितवन-२ मा उपचुनाव हुन लागेको हो । एक लाख २४ हजार ६४६ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा गत मंसिरमा ८३ हजार ९५६ जनाले मतदान गरेका थिए । यहाँबाट लामिछाने ४९ हजार २६४ मतसहित निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धीहरू कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ भोट पाउनुभएको थियो । दोस्रो हुनुभएका श्रेष्ठभन्दा लामिछानेको ३२ हजार २८१ मत बढी थियो ।

पाँच महिनापछि लामिछाने फेरि मैदानमा छन् भने कांग्रेस र एमालेले युवा अनुहारलाई अघि सारेको छ । यसपालि एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले जिल्लाका पूर्वसभापति जितनारायण श्रेष्ठलाई प्रतिस्पर्धामा उतारेको छ । मुख्य प्रतिस्पर्धा यिनै तीन उम्मेदवारबीच हुने अनुमान गरिएको छ । चितवन–२ भित्र कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्छन् ।

तनहुँ- १ को उपनिर्वाचनलाई पनि निकै चासोको रूपमा हेरिएको छ । गत मंसिर ४ मा यस क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा नौ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई एमालेका सर्वेन्द्र खनाल उम्मेदवारको रूपमा हुनुहुन्छ । तनहुँ-१ लाई खासगरी कांग्रेस नेताहरूले प्रतिष्ठाकै लडाइँ बनाएका छन् । कांग्रेसबाट रास्वपामा गएर उम्मेदवार बन्नुभएका वाग्लेलाई कांग्रेस नेताहरूले प्रमुख प्रतिस्पर्धी मानेका छन् । यसैबीच, सरकारले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिएको छ । उपनिर्वाचन हुने बारा-२, चितवन-२ र तनहुँ-१ मा गृह मन्त्रालयले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?