तीन निर्वाचन क्षेत्रमा खस्यो ६० प्रतिशत मत, मंगलबारसम्म अन्तिम परिणाम आइसक्ने

चितवनमा ६३, बारामा ६४ र तनहुँमा ५३ प्रतिशत मतदान

अनिल क्षेत्री
Read Time = 18 mins

काठमाडौं । रिक्त प्रतिनिधिसभा सदस्यका लागि आइतबार बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले तीनवटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीनवटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जानकारी दिनुभएको होे । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औसतमा ६० प्रतिशत मतदान भएको छ । आयुक्त थपलियाले समग्रमा साढे ५९ देखि ६० प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

आयोगका अनुसार बारा-२ मा ६४ प्रतिशत, चितवन-२ मा ६३ प्रतिशत र तनहुँ-१ मा ५३ प्रतिशत मतदान भएको छ । उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा गत मंसिर ४ को मा सम्पन्न आमनिर्वाचनभन्दा कम मत खसेको छ । तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाताको करिब ५३ प्रतिशत हो । यहाँ एक लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको निर्वाचनमा तनहुँ-१ मा ५४.३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो ।

चितवन क्षेत्र नम्बर २ को उपचुनावमा पनि गत मंसिरको निर्वाचनभन्दा कम मत खसेको छ । मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा ६३ प्रतिशत मत खसेको छ । चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार ६९८ छन् । मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्योभन्दा कम खसेको हो । त्यतिबेला एक लाख २४ हजार २१७ मतदाता थिए । बारा-२ मा ६४ प्रतिशत मत खसेको छ ।

आयोगका अनुसार बारा–२ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन-२ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ-१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतगणनाको व्यवस्था मिलाइएको छ । यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने दाबी गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘हामीले सोमबार साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने सोचेका छौँ, मंगलबार साँझसम्म त सकिन्छ नै ।’

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापतिसमेत रहनुभएका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो । त्यस्तै, तनहुँ र बाराबाट निर्वाचित सांसदहरू क्रमशः राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो ।

आचारसंहिता उल्लंघन गरेको स्वीकारोक्तिसहित रास्वपाले माग्यो माफी
राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार बिहान मतदानको समयमा भरतपुर महानगरपालिका–११ भोजाडको नयाँ किरण कमलकुसुम माविमा आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेको छ । आइतबार बिहान मतदान भइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा त्यस क्षेत्रका उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले पक्षमा नाराबाजी गर्नुका साथै चुनाव चिह्न घण्टीको प्रयोग गरेका थिए । त्यही विषयलाई लिएर अन्य दलले आचारसंहिता उल्लंघन भएको आरोप लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । आइतबार दिउँसो भएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूबाट आचारसंहिता उल्लंघन भएको स्वीकार गरेको हो । सर्वदलीय बैठकको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा मतदान चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’ सर्वदलीय भेलाको निर्णयअनुसार रास्वपाले माफी मागेपछि रोकिएको मतदान पुनः सञ्चालन भएको थियो । रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भिडभाड गरेपछि मतदान अवरुद्ध भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि त्यहाँ तनावको स्थिति भएर मतदान स्थगित भएको थियो । यस्तै, चितवन-२ कै कृष्णपुर माविमा पनि केही बेरसम्म मतदान अवरुद्ध भएको थियो ।

निर्वाचन बिथोल्न खोज्ने सातजना पक्राउ
बाराको देवताल गाउँपालिका वडा नं ७ पिपरपातीमा निर्वाचन बिथोल्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाहिरी जिल्लाबाट आएर बारा–२ मा निर्वाचन बिथोल्न खोजेको र एक जनाले नमुना मतपत्र बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले छानविन गरेको थियो ।

उम्मेदवार र कार्यकर्तालाई सम्झाइदिन रविको गुहार
चितवनमा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका रवि लामिछानेले उपनिर्वाचनका क्रममा उम्मेदवार र कार्यकर्तालाई सम्झाइदिन प्रमुख दलका शीर्ष नेतालाई अपिल गर्नुभएको छ । मतदान जारी रहेकै बेला सामाजिक सञ्जाल फेसबुकबाट लाइभ सन्देश जारी गर्दै रविले भन्नुभयो, ‘मलाई लोकतान्त्रिक पद्धतिमा विश्वास छ । उम्मेदवारले यस्ता गतिविधि नगर्नुहोला । आममतदातालाई भोट हाल्न दिऊँ । भयरहित भोट हाल्न दिऊँ । म आउँदा, तपाईं आउँदा ताली बजाए होलान्, हुटिङ गरे होलान्, यस्ता गतिविधिबाट आवेगमा नआइदिनुहोला । शीर्ष नेताहरूलाई आग्रह गर्छु, मसँग चुनाव लडेका उम्मेदवारलाई सम्झाउनुहोला । नेता कार्यकर्तालाई सम्झाउनु होला ।’

लामिछानेले आफ्ना शुभेच्छुकलाई पनि भड्किलो टिप्पणी नगर्न अनुरोध गर्दै भन्नुभयो, ‘सामाजिक सञ्जालमा शुभेच्छुकहरूले भड्किलो कमेन्ट नगर्दिनुहोला । मभित्र पनि आवेग छ, तपाईंहरूसँग पनि होला । तर, हामी संयम हुनुपर्छ । कमेन्टमा गाली नगर्नुहोला । तपाईंको गालीको भारी हामीले बोक्नुपर्छ ।’

कांग्रेस उम्मेदवार भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगको तनहुँस्थित निर्वाचन अनुगमन समितिले उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोवाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना पाएको भन्दै निर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण पेस गर्न भनेको हो । आयोगका अनुसार उम्मेदवार भट्टराईले ७ गते राति १२ बजेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी भ्वाइस म्यासेजमार्फत मत माग्नुभएको थियो । आचारसंहिता अनुगमन समितिले उम्मेदवार भट्टराईलाई आफैँ वा आफ्ना प्रतिनिधिमार्फत २४ घण्टाभित्र प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण पेस गर्न निदर्शन दिएको छ ।

जसपाले बुथ कब्जा गरेको सिके राउतको आरोप
जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ का दुई मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाउनुभएको छ । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उहाँको आरोप छ । आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा प्रवेश गर्न नदिएको राउतले आरोप लगाउनुभयो । आफूहरूले मतदानको अघिल्लो दिनदेखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको राउतको जिकिर छ । स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भएको जानकारी दिएको छ ।

आयोगले मधेशका मुख्यमन्त्री यादवलाई सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार बारा जिल्ला क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना कार्य गरेको र त्यो कार्य निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो ? भनेर स्पष्टीकरण सोधेको हो । आयोगले त्यहाँ जानुको कारण खुलाउन भनेको छ । ‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?’

उम्मेदवार जसले आफैँलाई भोट हाल्न पाएनन्
आइतबार सम्पन्न उपनिर्वाचनमा केही दलका उम्मेदवारहरूले आफैँलाई मतदान गर्न पाएनन् । मतदाता नामावली अन्य स्थानमा रहेका उनीहरूले मतदान प्रकियामा सहभागी हुन नपाएका हुन् । चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले शक्तिखोरस्थित चतुर्मुखी उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो । यहाँ रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने आफैँले मतदान गर्न पाउनुभएन । रविको मतदाता नामावली काठमाडौंमा र एमालेका न्यौपानेको चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा रहेकाले उपनिर्वाचनमा मतदान गर्न नपाएका हुन् । यस्तै, तनहुँ १ मा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको मतदाता नामावली काठमाडौंमा रहेकाले उहाँहरूले यहाँको उपनिर्वाचनमा मतदान गर्न पाउनुभएन । यहाँ नेपाली कांग्रेसबाट उम्मेदवार गोविन्द भट्टराईले भने मतदान गर्नुभयो । बारा–२ मा रास्वपाका उम्मेदवार रमेश खरेल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र नेकपा एमालेका पुरुषोत्तम पौडेलले मतदान गर्न पाउनुभएन । यादवको मतदाता नामावली सुनसरीमा रहेको छ । पौडेलको बारा क्षेत्र नम्बर १ मा रहेको छ भने खरेलको मतदाता नामावली काठमाडौंमा रहेको छ । यो क्षेत्रमा जनमतबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहले भने मतदान गर्नुभएको छ ।

रवि लामिछानेविरुद्ध कांग्रेसको उजुरी
चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । लामिछानेले आचारसंहिताविपरीत कार्यहरू गरेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिनुभएको हो । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले लामिछानेले खुलेआम आचारसंहिता उल्लंघन गरेपछि बाध्य भएर आयोगमा उजुरी गर्नुपरेको जिकिर गर्दै भन्नुभयो, ‘उहाँबाट आचारसंहिताको धज्जी उडाउने काम भएको छ । यहाँ सबैले देखेका छन् । उहाँले १२/१४ वटासम्म गाडी प्रयोग गर्नुभयो । सडकमा पेन्टिङदेखि मतदानका बेला घण्टी बजाउँदै, नारा लगाउँदै मतदान केन्द्रमा घुम्ने र मतदातालाई प्रभावित पार्ने काम भयो । यस्तो खुलेआम आचारसंहिताविपरीत गरेपछि बाध्य भएर हामीले उजुरी दिएका हौँ ।’

दुईवटा मतपत्र खसाउन खोजेपछि जसपा नेता पक्राउ
मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्बर २ को देवताल गाउँपालिका-७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव छन् । यादव देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समितिको सदस्य रहेको बताइएको छ । स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोज्दा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको थियो । यादवलाई पक्राउ गरेपछि जसपाका स्थानीय नेता कार्यकर्ताले पनि लफडा गरेका थिए ।

प्रहरी प्रशासन गठबन्धनको पक्षमा लागेको एमालेको आरोप
नेकपा एमालेले उपनिर्वाचनमा धाँधलीको आरोप लगाएको छ । बारा-२ बाट नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले विभिन्न मतदान केन्द्रहरूमा धाँधली भएको उल्लेख गर्दै सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको हो । पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रहरी नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रूपहरू नांगो रूपमा देखिइरहेका छन् । यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको चरित्र प्रष्ट पारेको छ । हामी यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन जोडदार माग गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?