‘ए’ डिभिजन लिग : पुलिसले हरायो मनाङलाई, आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सर्वाधिक आठ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार दोस्रो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक-शून्य गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको हो । १२ औँ चरणमा दोस्रो जित निकालेको पुलिसले यसअघि सातौँ चरणको खेलमा फ्रेण्ड्सलाई तीन-एक गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।

निकै रोमाञ्चक भएको खेलमा पुलिसले सातौँ मिनेटमा पेनाल्टीबाट लिएको अग्रता नै स्पष्ट तीन अंक जोड्नका लागि पर्याप्त भएको हो । मनाङका डिफेण्डर रन्दिप पौडेलले पुलिसका विदेशी खेलाडी मोसेस टोएमलाई खराब फाउल गरेपछि पुलिसले पेनाल्टी प्रहारको मौका पाएको थियो । पेनाल्टी प्रहारमा आउनुभएका मोहम्मद आसिकले अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । पछि परेसँगै खेलमा फर्किन निकै मिहिनेत गरेको मनाङले केही अवसर पाए पनि सदुपयोग गर्न असफल रहृयो । यससँगै मनाङले लगातार पाँच खेलमा नतिजा सुम्पिएको छ । खराबलाई समाप्त गर्ने लक्ष्यसहित रेलिगेसनको अन्तिम स्थानमा रहेको पुलिसविरुद्ध मनाङले मंगलबार पनि खुलेर खेल्न सकेन र अंक सुम्पिन बाध्य बन्यो । यस जितसँगै पुलिसले १२ खेलबाट नौ अंक बनाएको छ भने पराजित मनाङको समान १२ खेलबाट १५ अंक छ ।

लिगअन्तर्गत मंगलबार नै दशरथ रंगशालामा भएको खेलमा ललितपुरे टोली फ्रेण्ड्सले काठमाडौं न्युरोड टिम (एनआरटी)लाई तीन–एक गोल अन्तरले स्तब्ध बनायो । फ्रेण्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले समान एक-एक गोल गर्नुभयो भने एनआरटीका सञ्जीव बिष्टले एक गोल फर्काउनुभयो । सुरुवातबाट नै आक्रामक हुँदै खेलेको फ्रेण्ड्सले १४औँ मिनेटमा अमिनुको गोलबाट अग्रता लिएको थियो । ४१औँ मिनेटमा सञ्जीवले गोल गर्दै एनआरटीलाई एक-एक गोलको बराबरीमा ल्याउँदै टोलीलाई खेलमा फर्काउनुभएको थियो । इन्जुरी समयमा फ्रेण्ड्सका जेब्रिनले गोल गर्दै टोलीलाई पहिलो हाफमा दुई-एकको अग्रता निकाल्नुभयो । त्यसपछि खेलको ७६औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई तीन-एकको जित निश्चित गर्नुभयो । यससँगै फ्रेण्ड्सले जारी लिगमा चौथो जित निकालेको छ । १२ खेल खेलेको फ्रेण्ड्सले तालिकामा १४ अंक पुर्‍याएको छ । यस्तै, पराजित एनआरटीले १२ खेलमा १३ अंक जोडेको छ । एनआरटी फ्रेण्ड्सभन्दा एक स्थानमुनि ११औँ स्थानमा छ ।

लिगअन्तर्गत आज (बुधवार) पनि तीन खेल हुनेछन् । च्यासल मैदानमा सातदोबाटो युथ क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामा थ्रीस्टार र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । यस्तै, दिनको अन्तिम खेल दशरथ रंगशालामा नै हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?