पाल्पामा ‘श्रीनगर डवली’ पूरा नहुँदै अलपत्र, सरोकारवाला निकाय रमिते

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । पाल्पाको तानसेनस्थित बतासेडाँडामा श्रीनगर डवलीको काम अगाडि बढेपछि कैलाशनगरका दीपक अधिकारी निकै खुसी हुनुभयो । आफ्नै टोलमा सांस्कृतिक डवली निर्माण हुँदा टोलको मात्र नभई सिंगो तानसेन नै रमणीय र सुन्दर देखिने आशामा अधिकारी निकै उत्साहित हुनुुभयो । अधिकारीसँगै स्थानीय सुमन भट्टराई पनि डवली निर्माणले पर्यटकको आगमन समेत बढ्ने भयो भन्दै खुसी हुनुभयो ।

स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यले करोडौंको लगानीमा हिमश्रृखलाको अवलोकन गर्न सकिने ठाउँमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्यले तिब्रता पाएसँंगै उत्साहित भएका तानसेनवासी यतिबेला भने निरास भएका छन् । डबली निर्माणको कार्य पुरा नहुँदै अलपत्र परेपछि उनीहरुमा निराशा छाएको हो ।

लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउको नुवाकोटमा खुला सांस्कृतिक डवली निर्माणको कार्य अगाडि बढाएको हो । प्रदेश सरकार उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पाल्पामा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने क्रममा जिल्लाका दुई स्थानमा सांस्कृतिक डबली निर्माण गरेको हो । प्रदेश सरकारले तानसेन नगरपालिका –५ कैलाशनगर र तिनाउ गाउँपालिका –२ नुवाकोटमा सांस्कृतिक डवली निर्माणको कार्य थालेको थियो । डिभिजन वन कार्यालय पाल्पामार्फत श्रीनगर सांस्कृतिक डवली ६ करोड ८० लाखमा काठमाडौंको प्रतिष्ठा कन्ट्रक्सन प्रालि नामको निर्माण कम्पनीले ठेक्का लिएको र काम सकिने बेलामा पूरा कामै नगरी, वर वुजारत नै नगरी भागे पछि डवली दुई वर्षदेखि अलपत्र परेको हो ।

तिनाउ गाउँपालिकाको नुवाकोटमा निर्माण भईरहेको सांस्कृतिक डवली तीन करोड ८४ लाखमा धुलिखेल निर्माण सेवाले काम गरेको छ । तर यो पनि अहिले अलपत्र छ । लुम्बिनी प्रदेश सरकारका तत्कालिन मुख्य मन्त्री शंकर पोखरेलद्धारा शिलन्यास गरिएको डबलीको २०७८ सालको असार ७ गते निर्माण कार्य पुरा गर्ने गरी २०७६ सालको असार १५ गते ठेक्का संझौता भएको हो । करोडौंमा निर्मित डबली हालसम्म न त पुरा हुन सक्यो न त निर्मित संरचनाको संरक्षण हुन सक्यो । एक पछि अर्को गरी खण्डहरमा परिणत हुँदै गएको स्थानीयहरुको भनाई छ ।
निर्माण कम्पनीको कामको नियमन तथा अनुगमन गर्ने निकाय नै रमिते हुृँदा निर्माण कार्यको ६० प्रतिशत पुरा हुन नपाउँदै डबलीको भित्री भाग जंगलमा परिणत हुन पुगेको छ । सम्बन्धित निकायले यस विषयमा वास्तै गरेको छैन् । पर्यटकीय रुपमा अत्यन्तै महत्वका साथ हेरिएको यो डवली भित्र झार उम्रिएकाे छ भने फोहर थुप्रिएको अवस्था छ ।

लुम्बिनी सरकारको नेतृत्व शंकर पोखरेलले गर्दासम्म उद्योग वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा डिभिजन वन कार्यलयबाट निर्माण स्थलमा नियमित रुपमा रेखदेख हुन्थ्यो । जब पोखरेलको नेतृत्व परिवर्तनसँगै मन्त्रालय विभाजन भयो । रेखदेखको जिम्मेबारी पनि स्थानान्तरण भएका कारणले यस्तो समस्या आएको वन कार्यलयका सम्वद्ध कर्मचारीहरु बताउँछन् ।

डवलीको स्वामित्व लिनका लागि नगर सरकारले पटक पटक प्रदेश सरकार समक्ष लिखीत रुपमा माग गर्दा पनि कुनै सुनुवाइ नभएको तानसेन नगर सरकारका प्रमुख संन्तोष लाल श्रेष्ठले बताउनुभयो । नगर सरकारले स्वामित्व पाए निर्माण कम्पनीलाई ताकेता गरेरै भए पनि निर्माण कार्य अगाडि बढाउन सकिने उहाँको भनाई छ । राजनैतिक खिचातानीमा बाँझिएको डबली सरकार परिर्वतनसंगै भैरहवाको पर्यटन डिभिजन कार्यलाई रेखदेखको जिम्मेवारी दिएका कारण यस्तो समस्या आएको नगरका जनप्रतिनिधिहरु बताउँछन् । ‘निर्माण व्यवसायीलाई कुन निकायले ताकेता गर्ने ? भैरहवाबाट रेखदेख गर्न कठिन भएको छ । यसको नियमन तथा अनुगमनको लागि डिभिजन वन कार्यालयलाई जिमेबारी दिएको खण्डमा काममा सहज हुने’ डिभिजन वन कार्यलयका प्रमुख नारायण देव भट्टराई भन्नुहुन्छ ।

खुल्ला सांस्कृतिक डवलीमा स्टेज, स्टेज अगाडि हरियो दुवो सहितको दर्शक कक्ष, कलाकारहरुको चेन्जिङ्ग रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङ सहितको सुविधा रहेको छ । यसको ९० प्रतिशत काम सकिए पनि थप दश प्रतिशत काम बाँकी नै छ । तानसेनको डवलीमा ५ सय जना अट्ने क्षमता रहेको छ ।

तिनाउ गाउँपालिकाको नुवाकोटगढीमा निर्माण भएको सांस्कृतिक डबली भित्र स्टेडियम, कफी हाउस, पार्किङस्थल, बाउन्ड्री, बस्ने स्थल, हरियाली बगैंचा निर्माण गरिएको छ । स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरमा समेत निर्माण भएको छ । डबलीभित्र पाँच सय जना बसेर नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सकिन्छ ।

कोभिड १९ को कारण थला परेका होटल रेष्टुराहरु सांस्कृतिक डवलीको निर्माण भए पर्यटकको आगमन बढ्नेमा होटल श्रीनगर प्रा.लि.का म्यानेजर अशोक थापाले विश्वास व्यक्त गर्नुभयो । भारतीय नाका सुनौलीबाट ३० किलोमिटर, बुटवलबाट ५ किलोमिटरको दुरीमा रहेको पाल्पा तिनाउ नुवाकोटमा निर्माण भईरहेको सांकृतिक डवलीले यस क्षेत्रकै कलासंस्कृतिको जर्गेना गर्ने छ ।

तराई क्षेत्रबाट जाडोमा घाम ताप्न र गर्मीमा चिसो मौसममा रमाउन, विभिन्न सांस्कृतिक कार्यक्रमको समग्र दोभान नुवाकोट क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । अंग्रेज युद्धमा नेपालले निर्माण गरेका युद्धाका गढीहरू, भैरव मन्दिरसँगै ऐतिहासिक सम्पदाहरू विकास तथा प्रचार–प्रसार भई पर्यटन विकासमा थप टेवा पुग्ने धेरैले विश्वास लिएका छन् ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?