नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौं: नैनसिंह महर

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गर्नुभएकाे छ । राजधानीको नयाँबानेश्वरमा सम्पर्क समितिसँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताउनुभयाे ।

'बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुंगो लगाउनुपर्छ,' उहाँले भन्नुभयाे ।

प्रत्येक दुईरदुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ ।

मंसिर ४ मा आम निर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दा समेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुःखद उहाँले बताउनुभयाे ।

'पार्टीलाई व्यवस्थित, समय सान्दर्भिक र परिष्कृत बनाउनका लागि पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ । अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ,' महरले भन्नुभयाे ।

पार्टीमा देखिएका कमीकमजोरीबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ छ । 'हाम्रासामु जनताको भावना र परिवर्तनलाई आत्मसाथ गर्नसक्ने कांग्रेस निर्माण गर्नुपर्ने चुनौती छ । यसको सामना गर्न समयानुकूल रणनीति अख्तियार गर्न हामीलाई चुक्ने छुट छैन,' महर भन्नुहुन्छ।

उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिष्कृत हुनुपर्ने सन्देश दिएको उहाँले बताउनुभयाे । नागरिकको भावनाअनुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने महरले बताउनुभयाे । उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उहाँको भनाइ थियो।

'मूल धारका राजनीतिक दलहरूले उपनिर्वाचनमा अपेक्षित नतिजा नल्याउनुमा आम निर्वाचनपछि बनेको बाम गठबन्धन र उनीहरूको भूमिका पनि बाधक बन्यो,' उहाँले भन्नुभयाे , 'कांग्रेस नेतृत्वको चुनावअघिकै गठबन्धन कायम रहेको भए पनि यो अवस्था आउने थिएन । केही परिस्थितिले राजनीति फेरिन पुग्यो । त्यसले मूलधारका सबै राजनीतिक दललाई असर गर्‍यो।'

राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा पैदा हुँदा नवोदित  शक्तिहरूलाई फाइदा पुगेको महरको बुझाइ छ। मुलुकको स्थायी राजनीतिक शक्ति मूलधारका पार्टी रहेको भन्दै कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?