कर्णालीमा अब्बल बन्दै चन्दननाथ अर्गानिक मिनि मार्केट

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्ला सदमुकाम खलंगा बजारमा प्रधान कार्यालय रहेको चन्दननाथ अर्गानिक मिनि मार्केट पछिल्लो कर्णाली प्रदेशर्कै सबैभन्दा अब्बल बन्दै गएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा निर्मित अर्गानिक मिनि मार्केट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लालाई हस्तान्तरण गरिएको छ ।

सहकारी मन्त्रालयको रु ३२ लाख लागतमा सुर्खेत विमानस्थलको प्राङ्गणमा निर्माण गरिएको मिनि मार्केट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले चन्दनाथ सहकारीलाई हस्तान्तरण गर्नुभएकाे छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले लिएको अर्गानिक प्रदेश निर्माण अभियानमा सघाउने सहकारीलाई आवश्यक सहयोग गर्ने नीति लिइएको बताउनुभयो । उहाँले चन्दनाथ सहकारीले यस क्षेत्रमा राम्रो काम गरेको प्रतिक्रिया दिँदै उच्च प्रशंसा गर्नुभयो । “हामीमा बजेट र योजनामा भन्दा पनि कार्यान्वयनमा समस्या छ,”उहाँले भन्नुभयो,“गुणस्तर नियन्त्रण हुन नसक्दा बजार खस्किँदो अवस्था छ । क्षेत्रगत एवं धेरै उत्पादन गर्न सक्छौं या सक्दैनौं भन्ने कुरामा ध्यान दिनुपर्नेछ ।”

हाम्रो उत्पादनको परिणाम कति हो भन्ने एकिन तथ्याङ्क आवश्यक रहेको भन्दै मन्त्री शर्माले अर्गानिक कृषि उत्पादन र उद्यमीहरुको प्रवर्द्धनमा विशेष जोड दिने जनाउनुभयो । सहकारी मन्त्रालयका सचिव डा.नरहरि घिमिरेले अर्गानिक कृषि वस्तुले मानव स्वास्थ्यमा पारेको सकारात्मक प्रभावले राम्रो सन्देश फिँजिएको बताउनुभयो । बाहिरबाट आउने कृषि वस्तुलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिँदै सचिव घिमिरेले अर्गानिक कृषि प्रवर्द्धनमा आवश्यक कार्यक्रम अगाडि बढाईने जनाउनुभयो ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले आ.व.०७७/०७८ मा कर्णालीमा प्राङ्गारिक कृषिका आधार तयारगरी सरकारले अर्गानिक प्रदेश निर्माण गर्न लिएको अभियान अन्तरर्गत नागरिक उड्डयन कार्यालय सुर्खेतको प्राङ्गणमा वार्षिक रु ६० हजार जग्गाको भाडा तिर्ने गरी अर्गानिक मिनि मार्केट निर्माण गरिएको जनाउनुभयो ।

यहाँ उत्पादन हुने प्राङगारिक कृषि उपजको संकलन, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । हस्तान्तरित मार्केट सञ्चालन गरेवापत उक्त सहकारीले मन्त्रालयलाई मासिक रु . १३ हजार पाँच सय बुझाउने छ । जुम्लामा दैनिक रु एक लाख र सुर्खेतमा प्रतिदिन रु ३५ हजारको कृषि उपजहरु बिक्री हुँदै आएको चन्दननाथ सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले कर्णालीमा खेत बाँझो राख्न नपाउने नीति ल्याउन प्रदेश सरकारलाई अनुरोध गर्नुभयो । कर्णालीमा स्याउ, सिमी तथा ओखर विकास बोर्ड गठनले मात्र त्यसको समुचित विकास तथा प्रवर्द्धन हुने व्यवस्थापक पाण्डेको जिकिर थियो ।

उहाँकाअनुसार चन्दननाथ बहुउद्देश्यीय सहकारी लिमिटेड जुम्लाले काठमाडौं ३६ अर्गानिक पसलहरुलाई कर्णालीका अर्गानिक खाद्य वस्तु तथा फलफुल निर्यात गरेको छ । यहाँको उत्पादनलाई बजारीकरण गर्न र बाँझो जमीनमुक्त प्रदेश बनाउन सकिए वैदेशिक रोजगारका लागि बाहिरिने युवाहरुले कालापहाड र खाली मुलुक जानुनपर्ने उहाँको भनाई थियो ।

जुम्लालगायत कर्णालीमा उत्पादित खाद्यबाली क्यानडामा पठाइएको तर अमेरिकामा माग हुँदा पनि पठाउन नसकिएको उहाँले जनाउनुभयो । यहाँका नागरिकहरुले भने रातो चामल दिएर सेतो चामल खाने प्रचलन सच्याउनुपर्ने उहाँले सुझाउनु भएको छ । उक्त सहकारीका सुर्खेत प्रतिनिधि विश्वराज खत्रीले कर्णालीका राडीपाखी,कालो काम्लोलगायतका स्थानीय उत्पादन राष्ट्रपति कार्यालयसम्म पुर्याइएको बताउनुभयो । उहाँकाअनुसार गतवर्ष मोदी सरकारसम्म पनि कर्णालीको उत्पादन पठाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?