फेरि फेरिए दुई मुख्यमन्त्री

लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ सरकार गठन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 8 mins

बुटवल । थप दुई प्रदेश सरकार फेरिएका छन् । लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएका हुन् । गण्डकीमा प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको हो । यसअघि यी दुवै प्रदेशमा नेकपा (एमाले) नेतृत्वका सरकार थिए ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति भएको छ । ६० सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ३१ सांसद आवश्यक पर्छ । गण्डकीमा सबैैभन्दा ठूलो दल कांग्रेसको २७ सिट छ । माओवादीको सभामुखसहित आठ सिट छ । प्रदेश प्रमुखलाई मुख्यमन्त्री दाबी गर्दै ३५ जनाको हस्ताक्षर बुझाइएको थियो ।

यसअघि पुस २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएका एमालेका खगराज अधिकारीले वैशाख ९ मा विश्वासको मत प्राप्त नगरेपछि गण्डकीमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको थियो । राष्ट्रपति निर्वाचनलाई लिएर बनेको नयाँ सत्ता समीकरणअनुसार सरकारबाट माओवादी बाहिरिएपछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । नवनियुक्त मुख्यमन्त्रीलाई शुक्रबार (आज) शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । बिहीबार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमाले नेता लीला गिरी नेतृत्वको सरकार वैशाख ११ गते अल्पमतमा परेर ढलेसँगै लुम्बिनीले तीन महिनामै दोस्रो सरकार पाएको हो । नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा एकीकृत समावादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद गरी ५३ सांसदको समर्थनमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । उहाँले पनि आजै (शुक्रबार) शपथग्रहण गर्ने कार्यक्रम छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । चौधरीलाई कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका चार, जसपाका तीन, लोसपाका तीन, जनमत पार्टीका दुई, एकीकृत समाजवादीका एक, राष्ट्रिय जनमोर्चाका एक र स्वतन्त्र एक गरी ५३ सांसदको समर्थन छ ।

लुम्बिनीमा कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादी नेताहरूले बताएका छन् । गत मंसिरमा भएको निर्वाचनपछि बनेका पाँच सरकार फेरबदल भइसकेका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपश्चात् संघीय सरकारमा रहेको तत्कालीन गठबन्धन फेरबदल भएपछि प्रदेश सरकारहरू पनि फेरबदल भएका हुन् । अहिले सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा कांग्रेस नेतृत्वका सरकार छन् । जहाँ यसअघि एमाले नेतृत्वका सरकार थिए । कर्णाली र बागमतीमा भने माओवादी नेतृत्वको सरकार रहेका छन् । अब एमाले नेतृत्वको सरकार कोशी प्रदेशमा मात्रै छ । मधेश प्रदेशमा भने जसपा नेतृत्वको सरकार छ ।

प्रदेश संरचनाको औचित्य सावित गर्नेगरी काम गर्नेछु : नवनियुक्त मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार मुख्यमन्त्री नियुक्त भएलगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री चौधरीले काम गरेर देखाउने बताउनुभयो । प्रदेश सरकार र संरचनामाथि प्रश्न उठेको भन्दै यसको औचित्य सावित गर्नेगरी काम गर्ने बताउनुभयो । ‘प्रदेशलाई समृद्ध बनाउनुछ । प्रदेश सरकार र संरचनामाथि प्रश्न उठेका छन् । सबैको सहयोगले काम गरेर उत्तर दिनेछु,’ उहाँले भन्नुभयो, ‘प्रदेश संरचनाको औचित्य सावित मैले गर्नेछु ।’ मन्त्रिपरिषद् विस्तारबारे भने शपथपछि मात्रै कुरा गर्ने उहाँले बताउनुभयो ।

प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिनेछु : नवनियुक्त मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सात मन्त्रालयबाट नबढ्ने गरी मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभयो । मुख्यमन्त्री नियुक्तिपछि प्रतिक्रिया दिँदै पाण्डेले शपथपछि छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताउनुभयो । प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा आफूले ध्यान दिने उहाँको भनाइ छ । ‘प्रदेशलाई आफैँ कसरी सस्टेन गर्न सक्छौँ, त्यतातिर ध्यान दिन्छौँ,’ उहाँले भन्नुभयो, ‘पर्यटन, जलविद्युत् र कृषि क्षेत्र प्राथमिकता दिन्छौँ । प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिनेछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?