बजारै पिच्छे दुग्धजन्य वस्तुको मूल्य फरक, बेखवर स्थानीय सरकार

फाइल तस्बिर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । दाङका बजारहरुमा दुग्धजन्य वस्तुको मूल्य फरक फरक भएको भेटिएको छ । दाङका मुख्य तीत शहर देउखुरी, घोराही र तुलसीपुर क्षेत्रमा दुग्धजन्य वस्तुको मूल्य फरक–फरक भएको भेटिएको हो । लमहीमा दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ छ । त्यही दूध घोराहीमा प्रतिलिटर ९० छ भने तुलसीपुरमा एक सय रुपैयाँ छ । दूध मात्रै होइन दही, पनिर, घ्यूको मूल्य पनि एउटै जिल्लामा तीनथरी मुल्य कायम छ । डेरी व्यवसायीमा एकरुपता नहुनु र मूल्य कायम गर्ने विषयमा स्थानीय सरकार नै बेखबर हुँदा एउटै जिल्लामा दूध र दुग्धजन्य वस्तुको मूल्य तीनथरी भेटिएको हो ।

दाङमा १० स्थानीय तह छन् । राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका र दंगीशरण गाउँपालिका बाहेकका सबै स्थानीय तहमा डेरी व्यवसाय सञ्चालनमा रहेको सरकारी रेकर्ड छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत मीनराज पाण्डेयका अनुसार दाङमा ७१ डेरी व्यवसायी दर्ता छन् ।

घोराही उपमहानगरपालिका भित्र सबै भन्दा धेरै ३३ वटा डेरी घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन । तुलसीपुर उपमहानगरपालिकामा १६, लमही नगरपालिकामा आठ, राप्ती गाउँपालिकामा छ, गढवा गाउँपालिकामा चारवटा डेरी व्यवसाय दर्ता भएर सञ्चालनमा रहेको रेकर्ड घरेलु तथा साना उद्योग कार्यालयमा छ । कार्यालयका अनुसार शान्तिनगर गाउँपालिका, बबई गाउँपालिकामा दुई/दुईवटा डेरी व्यवसाय दर्ता छन् । डेरी व्यवसायमा राज्यको निगरानी हुन नसक्दा दूध र दुग्धजन्य वस्तुको बजारमा थरीथरी मूल्य तोकिएको छ । न व्यवसायी नै संगठित छन् न त सरकारले नै निगरानी गरेको छ । अस्तव्यस्त दुग्ध बजारकै कारण मूल्य पनि फरक–फरक भएको स्वयं डेरी व्यवसायी नै स्वीकार्छन् ।

स्थानीय तहलाई आफ्नो क्षेत्रको दूध तथा दुग्धजन्य पदार्थको मूल्य कायम गर्ने अधिकार छ । त्यही अधिकार प्रयोग गरेर घोराहीको कार्यपालिकाले दूधको मूल्य समायोजन गरेको छ । घोराहीले समायोजन गरेपछिको मूल्य हेर्ने हो भने दूधको मूल्य तुलसीपुर र घोराही भन्दा लमहीमा १५ रुपैयाँ कम छ । दहीमा लमही र तुलसीपुर भन्दा घोराहीमा लिटरमा १५ रुपैयाँ बढी छ । पनिर र घ्यूमा पनि लमही र तुलसीपुरभन्दा घोराहीमा किलोमा ५० रुपैयाँ बढी छ । समायोजन गर्दा किसानले पाउने मूल्य प्रति फ्याट आठ र प्रति एसएनएफ रु. चारका दरले हालको प्रतिलिटर ६६ बाट बढाएर ७३ कायम भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले भने मूल्य समायोजन नगरेको उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । ‘अहिलेसम्म कार्यपालिकाले दूधको मूल्य समायोजन गरेको मेरो जानकारीमा छैन’– उहाँले भन्नुभयो । तुलसीपुरमा डेरी व्यवसायीले २०७९ चैत १ गते समायोजन गरेका थिए । लमही दुग्ध ब्यवसायी संघका पूर्वअध्यक्ष खेमराज घिमिरेले जिल्लामा दैनिक झन्डै १५ हजार लिटरसम्म दूध खपत हुने गरेको र उत्पादन झन्डै २० हजार लिटरसम्म हुने अनुमान रहेको बताउनुभयो ।

घोराही बाहेकका बजारमा आफूखुशी मूल्य 

घोराही उपमहानगरपालिकाले दूध तथा दुग्धजन्य पदार्थको मूल्य बढाएको छ । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका अधिकृत मोहनसिंह सुनारले दिएको जानकारीअनुसार कार्यपालिका बैठकले डेरी व्यवसायी र किसानसँगको छलफलपछि मूल्य बढाएको हो । जसअनुसार ९० रुपैयाँ प्रतिलिटर दूधको मूल्यमा १० रुपैयाँ बृद्धि गरी एक सय रुपैयाँ पुगेको छ । दही प्रतिलिटर एक सय २५ रुपैयाँ र आधा किलोको ६५ रुपैयाँ कायम भएको छ । दही प्रतिलिटर एक सय १० बाट बढाइएको हो । पनिर र घ्यूमा प्रतिकिलो ५०/५० रुपैयाँ बढाइएको छ । नयाँ मूल्य अनुसार पनिर प्रतिकेजी आठ सय ५० र घ्यूको मूल्य प्रतिकिलो एक हजार तीन सय ५० कायम गरिएको छ । उपमहानगरपालिकाले किसानले बेच्ने मूल्य प्रतिलिटर ६६ बाट बढाएर ७३ कायम गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?