एमाले सांसद लक्ष्मी महतो कोइरीको विषय लिएर संसदमा चर्काचर्की, बैठक ३० मिनेटका लागि स्थगन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ ।

बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाएका हुन् । सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० बैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा स्वास्थ्योपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराउनुभएको थियो ।

सभामुखको कुरालाई बिरोध जनाउदै सांसदहरुले संसद अवरोध गरेका थिए भने बैठक ३० मिनेटको लागि स्थगन समेत भएको थियो । बिरोध जनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हसाइको विषय भएको बताउनु भयो । उहाँले कोइरी बिरामी भएर अनुपस्थित भएको भन्ने शब्द नै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । संसदले झुटो कुरा गर्नु नहुने उहाँको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभइ फरार अभियुक्त भएको बताउनु भयो । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उहाँले बिरामी भन्न नहुने बताउनु भयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताउनु भयो ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले एमाले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताउनु भयो । उहाँले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताउनु भयो । उहाँले ज्यानमारालाई चोख्याउन नमिल्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने बताउनु भयो ।

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्नु नहुने र फरार अभियुक्तकै रुपमा लिनुपर्ने बताउनु भयो ।

सभामुख देवराज घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफुकहाँ नआएको बताउनु भयो । आफूले प्राप्त गरेको पत्र अनुसार बिरामी भएको सूचना सुनाइएको उहाँको भनाई छ ।

सभामुखले आगामी दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानून बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरुलाई पटक–पटक संसदको अवरोध खोल्न आग्रह गर्नुभएको थियो । सांसदहरु सभामुखको कुरा मान्न तयार नभएपछि संसद बैठक ३० मिनेटको लागि स्थगन भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?