काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा)को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ ।
अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भुपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । चौथो वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाउनुभएको छ । प्रवक्ता अवालेका अनुसार प्रतियोगितामा १०४ भन्दा बढी राष्ट्रका करिब ६ सय खेलाडीको सहभागिता रहनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्यसचिव घनश्याम पौडेल र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । बिदाइपछि सदस्यसचिव घिसिङले आइबाअन्तर्गत मेम्बर फेडरेसन कमिटीको सदस्यमा मनोनित भएकोमा प्रवक्ता अवालेलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिँदै बधाई दिनुभएको छ ।